एनआरएनको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आसन्न एघारौँ महाधिवेशनमा रविना थापाले अध्यक्षमा उम्मेदवारी दिने भएकी छिन् ।

बिहीबार काठमाडौंको र्‍याडिसन होटेलमा बिहीबार पत्रकार सम्मेलन गरी कार्यकारी अध्यक्ष रहेकी थापाले फेरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै उनले प्रत्येक गैरआवासीय पञ्जीकृत सदस्यले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नेसहितका २५ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरिन् ।

आफू नेतृत्वमा पुगे एनआरएन ग्लोबल फन्ड स्थापना गरिने उनले बताइन् । ‘जुन गैरआवासीय नेपाली संघको सबैभन्दा ठूलो कोष हुनेछ । यो कोष नेपाल र नेपालीको समृद्धिका लागि सारथी मात्र होइन, संकट पर्दाको सञ्जिवनी पनि हुनेछ,’ उनले भनिन् ।

यसैगरी, नेपालको पर्यटन प्रवर्द्धनका लागि योजना तथा आवश्यक समन्वय गर्दै पर्यटनका लागि सद्‌भावना दूतको मान्यतालाई स्थापित गरिने उनले बताइन् । कार्यक्रममा विभिन्न देशबाट प्रतिनिधिहरू जुममार्फत सहभागी थिए ।

थापाको पक्षमा भोट माग्दै अभिनेत्री करिश्मा मानन्धरले गैरआवासीय नेपाली संघको नेतृत्व महिलालाई दिँदा संस्था थप चुस्त हुने तर्क गरिन् । उनले भनिन्, ‘महिला नेतृत्व हुँदा जुनसुकै काम संवेदनशील तरिकाले गर्ने भएकाले यसपालिको एनआरएनएको गाडी रविनाजीलाई जिम्मा लगाउनुपर्छ ।’

प्रतिक्रिया