नेपाली समाजको सिधापन र सहनशीलतालाई कमजोरी ठानेर धर्म–संस्कृतिमाथि हमला गर्ने क्रम घट्दो होइन बढ्दो छ । नेपालीहरूको महान चाड बडादसैँ जब नजिकिन थाल्छ, तब सडक तथा मिडियामा विवाद सुरु हुन्छ । यस्तो विवाद सुरु भएको २०४६ सालको परिवर्तन पछि हो । यसपटक पनि विवादको थालनी गरिसकिएको छ । मंगलबार पशुवलिको विरोध गर्दै सडकमा ¥याली निकालिएको छ । र्यालीमा नेपाल शाकाहारी संघ र नेपाल विशुद्ध शाकाहारी (भिगन) संघको सहभागिता थियो । बौद्धमार्गी, ओशोपन्थी, कबिरपन्थी, वैश्णव, प्रणामी, ब्रम्हकुमारी संस्था, साइपन्थी, ‘सुप्रिम मास्टर्समार्गी’ विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक संघ संस्थाको ब्यानर पनि र्यालीमा देखिएको थियो । पशुको हत्या नगरी पनि जीवनयापन संभव भएकोले सकेसम्म शाकाहरी भोजन गर्नुपर्ने सन्देश प्रवाह गर्नु राम्रो हो । तर वर्षभरी अरू बेला चुप लागेर बस्ने, बडादसैँको पूर्वसन्ध्यामा पशु अधिकार भन्दै जुरमुराएर उठ्ने प्रवृत्तिले भने विवाद निम्त्याउने गरेको छ । विवाद यतिमा मात्रै सीमित छैन । बडादसैँ एउटा जातिका विरुद्ध अर्काजातिले मनाउने गरेको भन्दै मिडियावाजी गर्ने प्रचलन पनि बढेको छ । बडादसैँको पूर्वसन्ध्यामा यस्ता खालका आर्टिकल पनि आउने गरेका छन् । बडादसैँको पूर्व सन्ध्यामा पशु अधिकारकर्मी जुरमुराउनु, अक्षता र जमराको विरोध हुनु संयोग मात्रै हो या कसैले प्रायोजन गरेको हो ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्ने गरेको छ । गैरहिन्दूको कित्ताबाट पशुवलि तथा अक्षता तथा जमराको विरोध हुँदा धार्मिक सद्भाव खलबलिने संभावना बढ्छ ।
पहिलो कुरा त मासु खान कुनै धर्मले सिकाएको होइन । मानिसहरू विभिन्न धार्मिक आस्थामा संलग्न हुनुअघिदेखि नै पशुको वध गरेर मासु खाने चलन थियो । आफूले भोजन गर्नुअघि देवता–पितृलाई अपर्ण गर्नुपर्ने मान्यता अनुसार पशुवलीको चलन आएको हो । पशुवलीको चलन हिन्दूधर्मावलम्बीहरूमा भन्दा इशाई तथा इस्लाम धर्मावलम्बीहरूमा बढी छ । तथ्यांक हेर्ने हो भने बडादसै“का अवशरमा जति पशुहरूको बध गरिन्छ त्यो भन्दा हजारौं गुणा बढी पशुको बध क्रिसमस र बकर इदको अवसरमा गरिन्छ । अमेरिकामा प्रत्येक दिन लगभग तीन देखि पाँच मिलियन भेडा र दुई मिलियन खसी, बोका, बाख्रा बध हुन्छन्, कुखुरा २४ मिलियन र गाई चार हजार प्रत्येक घण्टा बध हुन्छन् भने टर्की एकै दिन टर्की डेमा ४५ मिलियन र क्रिसमसमा २२ मिलियन बध हुन्छ भने वर्षमा चार सय मिलियन टर्कीको मात्र बध हुन्छ । तर क्रिसमस र बकर इदका बेला कुनै पशुअधिकारकर्मीहरूले र्याली निकाल्ने हिम्मत गरेको देखिँदैन । यता नेपालमा बडादसैँको पूर्वसन्ध्यामा विरोध र्याली गर्ने परम्पराजस्तै बन्न लागेको छ ।
नेपालका सन्दर्भमा सर्वसाधारण जनताले मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था छ । त्यसमा पनि सर्वसाधारणले धित मरुन्जेल मासु खाने भनेको बडादसैँको बेलामा मात्रै हो । धनीमानीहरूले त दिनदिनै मासु खाइरहेका छन् । राजधानी काठमाडौंमै पनि हरेक दिन मासुका लागि हजारौं पशुको बध गरेको देखिन्छ ।
अधिकारकर्मी हुँ भन्दै बडादसैँमा दिइने बलीको विरोध गर्नेमध्ये कतिपयको मासु विनाछाक नै नचल्ने गरेको देखिएकै छ । आर्थिक उपार्जन तथा जीविकोपार्जनका लागि पेसा तमाम छन् । अर्काको चाडपर्वमाथि घृणा फैलाउने व्यवसाय भनेको स्वयंमा हिंसा हो । यस्ता व्यवसाय नगरेकै राम्रो । इसाई तथा इस्लामीहरूले दैनिक मिलियन बध गर्दा जायज हुने नेपालीहरूले चाडपर्वको अवसरमा मासु खाने चलनको भने विरोध गर्ने भनेको जो होचो उसैको मुखमा घोचो भनेको जस्तै हो । आफूले अंगालेको धर्म बिस्तार गर्ने अभियानमा रहेका इसाई संघ संस्थाहरूले नेपाली आस्थामाथि आक्रमण गर्नु अस्वभाविक नहोला तर स्वयं नेपालीहरू पनि आफ्नै आस्थाको विरुद्ध उनीहरूको बहकावमा आएर विरोध गर्नु विडम्बना हो । स्वेच्छाले मासु नखान पाइयो । तर स्वेच्छाले मासु खानेहरूको विरोध गर्न पाइँदैन ।
प्रतिक्रिया