अमेरिकाले राम्ररी बुझ्छ भारतलाई कठघरामा खडा गर्नुको अर्थ

भारतले अमेरिकाको बास्तविक अनुहार र चरित्रको भण्डाफोर हुनसक्ने बताइरहेको छ । हुन पनि अहिले पश्चिमा देशहरूमा यस कुरालाई लिएर के बहस भइरहेको छ भने भारत र क्यानडामध्ये कुनै एउटालाई चुन्नुपर्ने भएमा अमेरिकाले कसको पक्ष लेला ? विश्वमा पाँच देश(फाइभ आइज)को एउटा सबल तर अघोषित गठबन्धन पनि रहिरहेको मानिन्छ । ती देशहरू हुन्– अमेरिका, अस्ट्रेलिया, क्यानडा, बृटेन र न्युजिल्यान्ड । ती पाँच देशलाई ‘ह्वाइट एंग्लो–सेक्सन प्रोटेस्टेंट’ (वास्प देश) मानिन्छ । यो रक्तसम्बन्धी भाइचारा हो ।

लोकनारायण सुबेदी

यतिबेला भारतले क्यानडालाई पनि पाकिस्तानकै सूचीमा राखेको छ । क्यानडेली नागरिकका लागि भिषा बन्द गरेको छ । तर भारतको यो कदमले क्यानडालाई केही पनि छुने छैन । तर, भारतलाई भने ठूलै घाटा छ । पहिलो कुरा त क्यानडेली पर्यटकबाट हुने आम्दानी भारतले गुमाउनेछ । दोस्रो कुरा क्यानडा भनेको भारतीय समान किन्ने बजार हो । यो बजार पनि भारतले गुमाएको छ । तेस्रो कुरा ठूलो संख्यामा भारतीयहरू क्यानडामा रोजगारीका लागि जाने गर्छन् । त्यो संभावना पनि भारतले गुमाएको छ । यसको अर्थ हो, एक वर्षपछि हुने चुनावमार्फत तेस्रो कालका लागि प्रधानमन्त्री बन्ने नरेन्द्र मोदीको सपनामाथि तुषारापात हुने संकेत । किनकी क्यानडासँग सम्बन्ध तोड्नु भारतका लागि ज्यादै नै महँगो हुने निश्चित छ ।

भारतीय एकथरी समीक्षकहरू भन्दैछन् – अमेरिकाका बिदेशमन्त्री एण्टोनी ब्लिंकनले क्यानडाका प्रधानमन्त्री जस्टिन टू«डेको बोलीमा लोली मिलाउँदै यतिबेला सायद एउटा नयाँ भाष्य गढेका छन् । त्यो हो, ‘सीमा पार दमन’ । अहिलेसम्म भारतले पाकिस्तानका बिरूद्ध सीमा पार आतंकवाद शब्दावलीको प्रयोग गर्ने गर्दथ्यो । तर अब अमेरिकी विदेशमन्त्री ब्लिंकनले नै भारतलाई पनि कठघरामा उभ्याउँदै सीमा पार दमन शब्दावलीको विकास गरेका छन् ।

स्पष्ट छ कि अमेरिकी विदेश मन्त्रीले क्यानडामा खालिस्तानी आतंकवादी मानिएका हरदीप सिंह निज्जरको हत्यालाई ‘सीमा पार दमन’को श्रेणीमा राखेका छन् । क्यानडेली प्रधानमन्त्री टु«डेले जस्तै अमेरिकी विदेशमन्त्री ब्लिंकनले पनि निज्जरको हत्याका लागि भारतमाथि सिधै दोषारोपण त गरेका छैनन् तर उनको पनि इशारा एकदमै प्रष्ट छ । त्यस हत्या प्रकरणका लागि भारतीय एजेन्सीहरूमाथि सन्देह जाहेर छ । अमेरिकाको यात्रामा गएका भारतीय विदेशमन्त्री सुब्रमण्यम जय शंकर भारतका विरूद्ध ब्लिंकनको त्यो अभिव्यक्तिप्रति चुप छन् । भारतले भन्ने गरेको प्रलापलाई अब अमेरिकाले थप कुन भाषामा जवाफ दिन्छ, यो हेर्नु चाखलाग्दो नै हुन्छ ।

यसैबीच अमेरिकी र पश्चिमा देशका सञ्चार माध्यमहरूमा भारत विरोधी दुष्प्रचार नयाँ शृंखला भइरहेको पनि भारतको गुनासो छ । न्यूयोर्क टाइम्स, द इकोनमिस्ट र टाइम म्यागाजिनजस्ता प्रसिद्ध पत्रपत्रिकाहरूले निज्जरको हत्याका लागि भारतीय एजेन्सीहरूलाई नै दोषी ठह¥याइरहेका छन् । क्यानडाले लगाएको यो आरोप पुष्टि भयो भने भारतका लागि निकै महँगो पर्ने लगभग निश्चित भएको छ । किनकी अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘भारतलाई यस्तो छुट नहुने’ अभिव्यक्ति दिइसकेका छन् । अझ उदेकलाग्दो त भारतीय समीक्षकहरू के मानिरहेका छन् भने त्यस्ता दोष लगाइएका धैरैजसो लेखहरू भारतीय मूलकै मानिसहरूले लेखेका छन् । भारतका सञ्चारमाध्यमहरूमा आतंकवादी निज्जरको हत्यालाई लिएर प्रायः एकै किसिमको राय के देखिन्छ भने ट्रुडोको आरोप निराधार र दुराषयपूर्ण रहेको उनीहरू उल्लेख गर्दछन् । मोदी सरकारको बिरोधमा रहेका समीक्षकहरू पनि ट्रुडोको आरोपलाई खारेज नै गर्दछन् ।

यतिबेला भारतीय सञ्चार माध्यमहरूमा पश्चिमा देशहरूको पाखण्डपूर्ण र दोहोरो नीतिको तीखो आलोचना गरिँदै रहेको देखिन्छ । त्यति मात्र होइन, थप अमरिकी गुप्तचर संस्था सिआइएका साथै बृटेन र क्यानडाका पनि त्यस्ता गुप्तचर एजेन्सीहरूका काला गतिविधिहरू उगेल्ने गरिरहेको कुरा भारतीय पक्षले उठाइरहेको पाइन्छ । त्यस्ता एजेन्सीहरूलाई खालिस्तानी आन्दोलन, तमिल टाइगरको रक्तपातपूर्ण संघर्ष र पूर्वोत्तर भारतमा चलिरहेका भनिएका पृथकतावादी आन्दोलनसँग जोडिँदै गरेको पनि उनीहरू उल्लेख गर्दछन् । भारतको एउटा प्रमुख समाचार पत्रको रिपोर्टका अनुसार भारतका एक जना शीर्ष गुप्तचर अधिकारी(अजित डोभाल ?) ले सिआइए प्रमुखलाई आतंकवादीका पक्षधर गुरपतबन्त सिंह पन्नुलाई बढावा दिने गरेको आरोप पनि लगाएको छ । के सन्देह पनि व्यक्त गरिँदै गरेको देखिन्छ भने ती पन्नु भनिने सिआइएको एजेन्ट पनि हुन सक्छन् ।

यो सम्पूर्ण विवादका बीचमा अमेरिकाका सामु यतिबेला धर्म संकटको स्थिति बनेको देखिन्छ । भारतले अमेरिकाको वास्तविक अनुहार र चरित्रको भण्डाफोर हुनसक्ने बताइरहेको छ । हुन पनि अहिले पश्चिमा देशहरूमा यस कुरालाई लिएर के बहस भइरहेको छ भने भारत र क्यानडामध्ये कुनै एउटालाई चुन्नुपर्ने भएमा अमेरिकाले कसको पक्ष लेला ? विश्वमा पाँच देश(फाइभ आइज)को एउटा सबल तर अघोषित गठबन्धन पनि रहिरहेको मानिन्छ । ती देशहरू हुन्– अमेरिका, अस्ट्रेलिया, क्यानडा, बृटेन र न्युजिल्यान्ड । ती पाँच देशलाई ‘ह्वाइट एंग्लो–सेक्सन प्रोटेस्टेंट’ (वास्प देश) मानिन्छ । यो रक्तसम्बन्धी भाइचारा हो ।

यसलाई आलोचकहरूले नश्लबादी गठबन्धन भन्ने कल्की पनि भिराइदिएका छन् । ती देशहरूको रणनीतिक र सुरक्षा हित एउटै जस्तो छ । शायद त्यही कारणले हुनसक्छ क्यानडाली प्रधानमन्त्री ट्रुडोको आरोप जतिसुकै हास्यास्पद भारतले माने पनि अमेरिकाले अन्ततः क्यानडाकै साथ दिन्छ भन्ने भारतीय पक्ष नै मान्दछ । अर्को एउटा सानो भारतीय पक्षको भनाइ के पनि छ भने चीनको सामना गर्नका लागि अमेरिकालाई भारतको आवश्यकता छ । अमेरिकाले भारतको अप्रसन्नताको मूल्य चुकाउन चाहँदैन । यस्तो स्थितिमा सम्भावना के हुने बताइँदै छ भने अमेरिकाले दुबै देश भारत र क्यानडाका बीच मेलमिलाप गराउने कोशिस गर्नु सायद उपयुक्त हुने ठान्दछ र गर्न चाहन्छ पनि ।

त्यसैले धेरै कुरा क्यानडाले अबका दिनमा खालिस्तानीहरूका बारेमा कस्तो नीति र व्यवहार लिन्छ त्यसमा भर पर्दछ भनिँदै छ । खालिस्तानीहरूले आउँदा केही दिनहरूमा भारतीय उच्चायोग तथा वाणिज्य दूतावासहरूसमक्ष विरोध प्रदर्शन गर्ने घोषणा पनि गरिसकेका छन् । क्यानडा सरकारले भने यस्ता प्रदर्शनका गतिविधिहरूलाई अभिव्यक्तिको स्वतन्त्रता मान्ने गर्दछ । यता भारतको मोदी सरकारको तेस्रो कार्यकालको पनि सत्तारोहण देख्नेहरू भन्दैछन् कि भारतले अब यस्ता शरारतपूर्ण (?) गतिविधिहरूलाई सहन गर्ने छैन ।

भारतको विदेश मन्त्रालयले क्यानडालाई आतंकवादीहरूलाई सुरक्षित आश्रय दिने देशको संज्ञा दिएको छ । भारतको यस्तो तक्मा अहिलेसम्म पाकिस्तानले मात्र पाउने गरेको थियो । भारतीयहरूले अहिले अलि खस्रो भाषामा भन्न थालेका पनि छन् कि क्यानडाले मात्रै होइन अमेरिकाले पनि अब यो निश्चित गर्नुपर्ने भएको छ कि के उसले आफ्नो भौगोलिक क्षेत्रमा एउटा अर्को पाकिस्तान बनाउने जोखिम उठाउन सक्छ ? भारतले छिमेकी देश खासगरी नेपालको सन्दर्भमा त अन्यत्रको कुरै नगरे हुन्छ, राजधानी काठमाडौंमै आएर कुनै आतंककवादीको कल्की भिराइएको भारतीय नागरिकलाई गोली ठोक्न सक्छ । त्यो उसको लागि भारतको हित हुनसक्छ । त्यही कुरा क्यानडाले उठाउँदा अहिले अमेरिका क्यानडातिर लाग्ने कि भारततिर भन्ने प्रश्न उठाइरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध संकीर्ण राष्ट्रिय स्वार्थका लागि ठूला राष्ट्रहरूले दुरूपयोग गर्ने माध्यम बन्नु हुँदैन भन्ने सोच शक्ति राष्ट्रहरूका बीचमा नपलाएसम्म स्थितिले सही निकास पाउने र सही विकास हुने कुरा अझै टाढाकै कुरा देखिन्छ ।

प्रतिक्रिया