मुगु । मुगु आगलागीबाट पीडित परिवारलाई सान्त्वना र राहत दिन कर्णाली प्रदेशका मुख्यमन्त्री सोमबार मुगु पुगेका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासहित भौतिक पुर्वाधार, यातायात तथा शहरी विकास मन्त्री मंगलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरिक्षण र पीडित परिवारलाई प्रदेश सरकारबाट राहत उपलब्ध गराउन मुगु पुगेका हुन् । मुख्यमन्त्री शर्मा आगलागी क्षेत्रमा पुगेर पीडित परिवारसँग कुराकानी र समस्या बारे बुझेका थिए।
मुख्यमन्त्रीसँग पीडित परिवारले जलेका घरहरुको पुननिमार्ण, विस्थापित व्यापारीहरुलाई उचित राहतको व्यवस्था गरेर पुनर्स्थापना र तत्काल बस्न र खानको व्यवस्था मिलाईदिन माग गरेका थिए । आगलागी पीडित पदमराज मल्लले मुख्यमन्त्रीलाई स्थलगत क्षेत्रमा घटना र क्षेतीको बारे विस्तृत जानकारी गराउदै घटना स्थलमै मुख्यमन्त्री पुग्दा आफुहरुले अविभावक पुगेको महशुस गरेको बताए । अर्का आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पुरै खरानी भएको र लगाउने लुगासम्म पनि केहि बचाउन नपाएको र आफु शुन्यमा झरेकोले उचित बास गास र व्यवसाय शुरु गर्न केहि राहतको अपेक्षा कर्णाली सरकारबाट आफुहरुले गरेको मुख्यमन्त्री शर्माको सामुन्ने आँशु झार्दै सुनाए ।
आगलागी क्षेत्रको स्थलगत निरिक्षण पछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पिडित परिवारहरुलाई खाद्यान्न लगायतका राहत सामग्रीहरु वितरण गरेका थिए । राहत वितरण गर्दै उनले थप आवश्यकिय राहत सामान देखि जलेका घर र व्यवसाय पुननिमार्ण, पुनस्थापनाका लागि कर्णाली प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिएका थिए ।
आगलागी पीडित २३ घर परिवारलाइ मुख्यमन्त्री शर्माले चामल, दाल, म्याड, पाल, सिलिन्डर, चुलो, कुकर, थालीलागायतका दैनिक उपभोग्य र भान्साका सामानहरु वितरण गरेका थिए ।प्रदेश सरकारले प्रति घर ३ लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालय मार्फत् उक्त रकम पुनःनिमार्णका लागी पीडित परिवारलाई प्रदेश सरकारले पठाउने पनि मुख्यमन्त्री शर्माले जानकारी गराए । मुख्यमन्त्रीसहितको टोली हेलिकप्टर मार्फत मुगु पुगेकाे थियाे ।
गत शुक्रबार राती १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशा तिर रहेका ८ घर पुर्णरुपमा, ३ घर आंशिक र ९ व्यवसायीक पसल जलेर खरानी भएका थिए भने २८ परिवारका ९५ जना सदस्य प्रभावित भएका थिए ।
मुगु
प्रतिक्रिया