१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक प्रदर्शन

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौँ स्थान हासिल गरे । १४ जना खेलाडी सहभागी रहेको उक्त प्रतिस्पर्धामा सिंजालीले ९ दशमलव ७ सय तीन स्कोर गरे । सो प्रतिस्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले कास्य पदक प्राप्त गरेको छ ।

यसैगरी उसुको सान्सौं (फाइट) तर्फ नेपालकी एलिना चौधरी र रोहित चुनारी पनि पराजित भए । महिला ५२ किलोतर्फ चौधरी इरानकी खेलाडीसँग पराजित भइन् । पुरुष ५६ किलोतर्फ चुनरा किर्गिस्तानका खेलाडीसँग पराजित भए । यस्तै ६० किलोमा नेपालका मंगलप्रसाद थारु पनि किर्गिस्तानका खेलाडीसँग पराजित भए ।

यस्तै महिला ताइजियानमा नेपालकी सविता राई आठ दशमलव सात सय ९६ स्कोरका साथ अन्तिम स्थानमा रहिन् । उक्त प्रतिस्पर्धामा चीन पहिलो, ब्रुना दोस्रो तथा थाइल्यान्ड तेस्रो भयो । यस्तै ७० किलोतर्फ नेपालका पदम रा क्वाटरमा लाओसका खेलाडीसँग पराजित भए ।

सुटिङमा पनि नेपालले आइतबार निराशाजनक खेल प्रदर्शन गर्यो । सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिषा भण्डारी ४७औँ र सुस्मिता नेपाल ५८औँ स्थानमा रहिन् । उक्त प्रतिस्पर्धामा ५९ खेलाडी सहभागी भएका थिए ।

इ फुटबलतर्फ नेपालका समीर गुरूङ मकाउका खेलाडीसँग २–१ अंकले पराजित भए । यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसँग पराजित भइन् । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसँग क्वाटरफाइनलमा पराजित भए । उनले प्रिक्वाटर फाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए।

यस्तै जुडोमा नेपालका विकास विक तुर्कमिनिस्तानका खेलाडीसँग १०–० अंकले पराजित भए । यसअघि उनले कम्बोडियाका खेलाडीलाई १०–० अंकले पराजित गरेका थिए । देवकी श्रेष्ठ मंगोलिया तथा इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित भए ।

यसैगरी पौडीको एक सय मिटर फ्रिस्टाइलको हिट राउन्डमा एलेक्स शाह आठौँ स्थानमा रहे । रग्बी सेभेनमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) का खेलाडीसँग पराजित भए ।

यस्तै बक्सिङमा पनि नेपालकी संगीता सुनार ६० किलो तौल समुहमा तथा दिपक श्रेष्ठ पुरुष ८० किलो तौल समुहमा पराजित भए । सुनार भियतनामकी खेलाडीसँग ५–० अंकले पराजित भइन् । श्रेष्ठ उज्वेकिस्तानका खेलाडीसँग ५–० अंकले नै पराजित भए । महिला ५४ किलो तौल समुहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडीसँग ५–० अंकले पराजित भइन् ।

यस्तै टेनिसमा नेपालका प्रदीप खड्काले पुरूष सिंगल्समा इस्ट टिमोरका खेलाडीलाई ६–० र ६–० अंकको सोझो सेटमा पराजित गरे । उनी अन्तिम ३२ मा प्रवेश गरेका छन् । तर नेपाली खेलाडी महिला सिंगल्स र पुरुष डबल्सतर्फ भने पराजित भए ।

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमै बाइ पाएका थिए । दोस्रो चरणमा विष्ट थाइल्यान्डकी खेलाडीसँग तथा राणा दक्षिण कोरियाली खेलाडीसित पराजित भइन् । पुरुष डबल्समा प्रदीप खड्का र अभिषेक बास्तोलाको जोड भारतीय खेलाडीसँग ६–२ र ६–३ अकले पराजित भए ।

यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्ब पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित भए । लिम्ब सेमिफाइनल सेमिफाइनल पुग्न असफल रहे ।

प्रतिक्रिया