२० महिने टुहुरो बालकलाई ३ लाख आर्थिक सहयोग

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित कन्ट्रक्सनमा काम गर्दै आएका कमल लिम्बूको मृत्यु भएकाले उनका २० महिने छोरा नाम्विनहाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

कमल लिम्बू अमरपुर खानेपानी आयोजनामा काम गर्दागर्दै सुतेकै अवस्थामा मृत्यु भएको थियो । बुवाको मृत्यु भएपछि २० महिने छोरा नाम्बिनहाङलाई आर्थिक सहयोग गरिएको हो ।

बिहीबार नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी जागरण फाउण्डेसन पाँचथर र पाथीभरा ग्रुप प्रालि काठमाडौंले संयुक्त ३ लाख रुपैयाँको आर्थिक सहयोगका लागि चेक हस्तान्तरण गरेका हुन् ।

लिम्बू तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिका– ५ घर भइ पाँचथर हिलिहाङमा कार्यरत थिए । उनको गत बैशाख ६ गते सुतेकै अवस्थामा मृत्यु गएको थियो । टुहुरो बनेका २० महिने बालक नाम्बिनहाङको पठनपाठन तथा लालन पालनका लागि सहयोग गरेको पाथीभरा प्रालिका अध्यक्ष देवेन्द्र चम्लागाइले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले बच्चाको उज्वल भविष्यको कामना गर्दै सहयोगी संस्थालाई धन्यवाद दिए ।

आगामी दिनमा पनि यस्तै समस्यामा परेकाहरुको सहयोगका लागि निरन्तर लागिपर्ने जागरण फाउण्डेसन पाँचथरका अध्यक्ष तथा युवा नेता प्रदीप बास्कोटाले बताए ।

प्रतिक्रिया