काठमाडौं । कैलाली हार्डवेयर व्यवसायी संघले हार्डवेयरको व्यायार बढाउन एक्सपो आयोजना गर्ने भएको छ ।
संघले व्यापारी–व्यापारीबीच र व्यापारी–प्रयोगकर्ताबीचको व्यापार बढाउने उद्देश्यले हार्डवेयर एक्सपो आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष कुवेर शाहीले असोज १० देखि १४ गतेसम्म धनगढीको सौराई स्क्वायरमा एक्सपो आयोजना गरिने बताए । उनले विगतमा दुई पटक आयोजना गरिएको एक्सपोले व्यापार बढाउन ठूलो भूमिका निर्वाह गरेको हुनाले यसवर्ष पनि एक्सपो आयोजना गर्ने तयारी गरिरहेको बताए ।
हार्डवेयरका स्थानीय उत्पादनको बजारीकरण गर्न, हार्डवेयरका सामानहरुको गुणस्तर सम्बन्धी जानकारी दिन, प्रयोगकर्तालाई घर निर्माण गर्दा गुणस्तर बुझेर सामान प्रयोग गर्ने निर्णय लिन सक्ने जानकारी दिन एक्सपोले महत्वपूर्ण सेमिनार चलाउने अध्यक्ष शाहीले बताए । उनले एक्सपोबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुले सुदूरपश्चिमलाई भविष्यको मार्केटको योजना बनाउनसमेत एक्सपोले सहायता गर्ने बताए ।
हार्डवेयर व्यवसायी सुरेन्द्र राठीले एक्सपोले पाँच दिनसम्म हार्डवेयर सम्बन्धी प्राक्टिकल नोलेज दिने बताए । उनले एक्सपोले गर्न थालिएदेखि सामानको विषयमा बुझेर सामान खरिद गर्ने ग्राहकको संख्या बढेको बताए ।
विगतको तुलनामा निर्माण सामग्रीको व्यापार बढेको व्यवसायी राठीले बताए । उनले सार्वजनिक विकास निर्माणमा समेत निर्माण सामग्रीको गुणस्तरबारे सर्वसाधारणले निगरानी गर्न थालेको बताए ।
एक्सपोमा सरिया, सिमेन्ट, सेक्सन, जिआई तार, सेनेट्री, टायल, होम डेकोरेशनका सामानका साथै निर्माणका नयाँ प्रविधि र उपकरण प्रदर्शनीमा राखिने छ । प्रदर्शनीमा विभिन्न कम्पनीका ५० भन्दा बढि स्थलहरु रहने अध्यक्ष शाहीले बताए । निर्माणको विषयमा परामर्शसमेत दिइने बताउँदै उनले इञ्जिनियरबाट भूकम्प प्रतिरोधी निर्माण र वास्तु विज्ञबाट वास्तु सम्बन्धी परामर्श तथा जानकारीसमेत दिइने जनाए ।
प्रतिक्रिया