इलामका युवा काठमाडौंमा कृषि कर्ममा रमाउँदै

इलाम । नेपालका धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि विदेश जान्छन् । अधिकांश युवाहरू पुरानै देश खाडी मुलुक जान्छन् । पछिल्लो समय दक्षिण कोरिया जाने युवाहरूको आकर्षण पनि बढेकै छ । उनीहरू जवान, उमेर र जाँगर विदेशमा पैसासँग साटेर फर्कन्छन् । स्वेदश फर्केपछि धरैजसो युवाहरू सुविधा सम्पन्न शहरमा बसाईं सर्छन् । गाउँघरमा रहेका जग्गाजमिन समैत बाँझै छोडेर शहर केन्द्रित हुन्छन् । शहरमा घरघडेरी किन्छन् र घर आफ्नो गच्छेअनुसारको घर बनाउँछन् र बस्छन् । विदेशमा कमाएका पैसा अनुत्पादक क्षेत्रमा नै खर्चिने गर्दछन् ।

तर इलामका एक युवाले भने विदेशबाट कमाएका पैसा उत्पादनमूलक क्षेत्रमा खर्चिएका छन् । माङसेबङ गाउँपालिका–२, इलामका ३७ वर्षीय घनेन्द्र बस्नेतले काठमाडौंमा कृषि फार्म सञ्चालन गरी मासिक लाखौँ आम्दानी गरिरहेका छन् । बस्नेतले चार वर्ष विदेशमा कमाएको रकम स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा खर्च मात्र गरेनन्, मनग्य आम्दानीसमेत गरिरहेका छन् ।

बस्नेतले काठमाडौंको कागेश्वरी मनोहरा गाउँपालिका–२ आलापोटमा ‘बस्नेत कृषि फार्म’ सञ्चालन गरेका छन् । चार वर्ष साउदी बसेर फर्केका बस्नेतले २०७४ सालदेखि फार्म सुरु गरेका हुन् । उनको कृषि फार्ममा हेरिरहुँ लाग्ने टमाटर र काँक्राको बगान छ । ११ रोपनी क्षेत्रफल जग्गा लिजमा लिएर बस्नेतले कृषि फार्म सञ्चालन गरिरहेका छन् । जसमध्ये आठ रोपनी क्षेत्रफलमा टमाटर र तीन रोपनीमा काँक्रा, सिमीलगायत तरकारी लगाएका छन् । प्रतिरोपनी वार्षिक ३० हजार तिर्ने गरी लिजमा लिएर तरकारी खेती गरिरहेका बस्नेतले राम्रो आम्दानी गरिरहेका छन् । बस्नते आफू स्वरोजगार त बने नै, कमाई पनि राम्रै गरिरहेका छन् ।

त्यहाँ उत्पादिन टमाटर र काँक्राहरू काठमाडौं उपत्यकामा नै खपत हुने गरेको छ । सुरुमा बजार राम्रो नभए पनि पछिल्लो समय राम्रै आम्दानी दिइरहेको बस्नेत बताउँछन् । बस्नेतले गएको महिना मात्र टमाटर बिक्रीबाट नौ लाख बढीको टमाटर बेचेका छन् । ‘सामान्यतया सबै लागत खर्च कटौती गरेर मासिक एक लाखभन्दा बढी नाफा हुन्छ’ बस्नेतले भने, ‘तर यसपटक टमाटरले राम्रो मूल्य पाएकाले आम्दानी बढेको छ । अघिल्लो महिना मात्र ९ लाख ३५ हजार बढीको त टमाटर नै बेचिएछ । उत्पादनले बजार राम्रो पाए पैसा कमाउन कोरिया गइरहनु पर्दैन ।’

तरकारीको बजारीकरणमा कुनै समस्या छैन । तरकारी किन्न ठेकदारहरू भरिया लिएर बारीमै पुग्ने गर्दछन् । तर मूल्यको तरलताले भने बेलाबेला समस्या पार्ने गरेको बस्नेत बताउँछन् । ‘नबिक्ने भन्ने कुनै समस्या छैन, ठेकदारहरू बारीमै आउँछन् । तर मूल्यचाहिँ पाउने कि नपाउने भन्ने मुख्य चिन्ता हुन्छ’ बस्नेत भन्छन्, ‘टमाटर न्यूनतम १५ रुपैयाँ प्रतिकेजीदेखि अधिकतम १ सय २० रुपैयाँ प्रतिकेजीसम्म बेचेको छु । न्यूनतम मूल्यमा बेच्नुपरे साँवा उठाउनै मुस्किल हुन्छ, तर सरदर ४० रुपैयाँ प्रतिकेजीमा बेच्न पाइयो भने कहिले घाटामा जाँदैन, नाफा नै हुन्छ ।’

बस्नेतको फार्ममा सिँचाइका लागि ‘डिप इरिगेसन’ सिस्टम जडान गरिएको छ । ट्यांकीमा पानी जोडेर थोपा सिँचाइमार्फत एकैपटक सात हजार बिरुवामा पानी हाल्न सकिने प्रविधि जडान गरिएको छ । सो प्रविधिबाट ७ मिनेटमा ७ हजार विरुवामा एकैपटक सिँचाइ पु¥याउन सकिने भएकाले समय र खर्चको समेत बचत हुने गर्दछ । विरुवा मल प्रयोग गर्न समेत सोही प्रविधिको प्रयोग गर्ने गरेका छन् । मल पानीमा घोलेर मेसिनबाट एकैपटक सबै विरुवामा पुग्ने व्यवस्था गरिएको छ । अर्गानिक मल विभिन्न गाई फर्मबाट ल्याउने गरेको उनी बताउँछन् ।

काम गर्न ‘परेली’

बस्नेतले आफ्नो फर्मका काम गर्न कोही कामदार राखेका छैनन् । सुरुमा कामदार राखेर फार्म चलाए पनि पछिल्लो समय आफैं काम गर्ने गरेका छन् । बस्नेत दम्पती विहानदेखि बेलुकासम्म फार्मको काममा नै व्यस्त हुन्छन् । तर उत्पादनको मुख्य समयमा भने दम्पतीको जनशक्तिले मात्र पुग्दैन । त्यतिबेला काम गर्न ‘परेली’ खेल्ने गर्दछन् ।

‘परेली’ पूर्वी नेपालको पहाडी क्षेत्रका कृषकहरूमा प्रख्यात चलन हो । ‘परेली’ भन्नाले कृषकहरूको परस्परमा खेतालाहरूको साटासाट गर्ने वा एकअर्काको काम सघाउने प्रक्रिया, खेतालाको पैंचो, पर्म हो । नजिकै रहेको अन्य कृषि फार्महरूसँग ‘परेली’ गरेर अभर टार्ने गरेको बस्नेत बताउँछन् ।
‘सुरुमा फार्ममा कामदार राखेको थिए । तर ज्याला बढी तिर्नुपर्ने भएकाले पछि हटाएँ’ बस्नेत भन्छन्, ‘कामको चाप बढेको बेला यहाँको ८÷१० वटा फार्मले पालैपालो गरेर काम गर्छौं । एउटा फार्मको काम सकेर अर्को फार्मको काम गर्छौं । यसो गर्दा सबैको एकैपटक काम सकिन्छ ।’

पैसा कमाउन विदेश जाने सोचमा रहेका युवाहरूलाई बस्नेतले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् । स्वदेशमा बसेर व्यवसाय गर्दा परिवारसँग बस्न पनि पाइने मात्र होइन, मालिक पनि आफैँ हुन पाइने अनुभव सुनाउँछन् बस्नेत । ‘पैसा जहाँ पनि कमाइन्छ । यही व्यवसाय गरे परिवारसँग मिलेर बस्न पाइन्छ । विदेश गएर पैसा त कमाइएला तर भोलि स्वदेश फर्केपछि बेरोजगार नै भइन्छ । उमेर पनि बितिसकेको हुन्छ, केही गर्न सकिँदैन’ बस्नेत भन्छन्, ‘तसर्थ स्वदेशमै कुनै न कुनै व्यवसाय गर्ने हो भने यहीँ स्थायित्व हुन्छ । भोलिको दिनमा के गर्ने चिन्ता लिन समेत पर्दैन ।’

प्रतिक्रिया