आठबिसकोट । रुकुम पश्चिममा विविध कार्यक्रम गरी आज राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । ‘समावेशी र सीपमूलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइएको हो ।
आठबिसकोट नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा आठबिसकोट नगरपालिका– ९ स्थित शहिद स्मृति दिपज्योती नमुना विद्यालयमा शिक्षा दिवस मनाइएको हो । शिक्षा शाखाका नरेन्द्र कार्कीको अध्यक्षतामा हाजिरी जवाफ प्रतियोगिता भएको थियो ।
दिवसको अवसरमा नगरपालिकाको आयोजनामा नगरस्तरीय हस्तलेखन, हाजिरी जवाफ, नृत्य र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । जसमध्ये हस्तलेखन प्रतियोगितामा ३० विद्यालय, हाजिरी जवाफ प्रतियोगितामा २२ विद्यालय, लोक नृत्यमा ११ विद्यालय सहभागी भएको शिक्षा शाखाका नाप्रास नरेन्द्र कार्कीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने ले क्रमशः ७ हजार, १० हजार र १२ हजार पुरस्कार पाउने कार्कीले बताए ।
हस्तलेखन प्रावी तह, हाजिरी जवाफ निमावी र लोक नृत्य मावी तहको लागि आयोजना गरिएको जनाइएको छ । हाजिरी जवाफ प्रतियोगिता जारी रहेको र भोलि वक्तित्वकला, लोक नृत्य लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले नगरपालिकाले शिक्षामा गुणस्तरीयता ल्याउनका लागि आठबिसकोट नगरपालिकाले नयाँ योजनाका साथ आफ्नो कार्य प्रारम्भ गरिसकेको बताए । कार्यक्रममा बोल्दै केसीले शिक्षाको गुणस्तरमा सुधार ल्याउन पाठ्यक्रम, फलेवासको नयाँ शिक्षा नीति, शिक्षण पद्धति, परीक्षा प्रणालीमा सुधार ल्याउने काम भएको, शिक्षाको उपलब्धिको मापन गर्ने कार्य अघि बढेको, विद्यालय क्षेत्रलाई व्यवस्थित बनाउन शिक्षा ऐनमा संशोधन र उच्च शिक्षा सुधारका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्ने प्रयास भएको जानकारी दिए ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मनिराज शाहले शिक्षा नगर विकासको पहिलो आधार भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताए । उनले आठबिसकोट मोडलको शिक्षाका लागि सबैको योगदानको जरुरी रहेको बताउँदै सबैसँगै नगरपालिका हातेमालो गर्न तयार रहेको जानकारी दिए ।
प्रतिक्रिया