काठमाडौं । यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात् अभिनेता दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले रुचाएको प्रमाणि भयो । यसअगाडि नै उहाँ दुई अभिनित ‘कबड्डी ४ : दी फाइनल म्याच’ ले बक्सअफिसमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो ।
यही जोडी अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ लाई पनि दर्शकले रुचाएका छन् । गत शुक्रबार २९ भदौदेखि प्रदर्शनरत चलचित्रको सुरुआती व्यापार उत्साहजनक रहेको सुन्दा खुसी लागेको अभिनेता दयाहाङ राईले बताए ।
‘मैले चलचित्रमा व्यापार गर्ने अनुमानभन्दा पनि विषयवस्तुलाई हेरेर काम गर्ने गरेको छु । किनकि पछिल्लो चलचित्रको सफलतासँग शृङ्खलाबाहेक अन्यको धेरै सम्बन्ध रहँदैन । यसले व्यावसायिकरूपमा समेत सफलता पाइरहेको सुन्दा खुसी लागेको छ,’ उनले भने ।
उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेका छन्। त्यसैले आउँदो समयमा छान्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो । ‘अभिनेताले बक्सअफिसभन्दा पनि आफ्नो चरित्र निर्माणमा दबाब लिनुपर्छ । यसले नै पात्रप्रतिको इमान्दारी प्रस्ट्याउँछ’, अभिनेता राईले भने ।
दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झालगायतका कलाकारले अभिनय गरेका छन् । सोही मितिमा प्रदर्शनमा आएको चलचित्र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ ले पनि सुखद सुरुआत गरेको छ। निर्देशक झरना थापाले चलचित्रको विषयवस्तुलाई रुचाइएको जानकारी दिइन् ।
‘हाम्रो विषयवस्तुलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। हामीले नियमितभन्दा फरक प्रस्तुति लिएर आएका छौँ,’ उनले भनिन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपिन कार्कीले चलचित्रमा ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।
चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।
प्रतिक्रिया