देशभर अस्पताल बन्द हुँदा सेवाग्राहीलाई सास्ती

सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति

काठमाडौं । आइतबार देशभरका अस्पताल बन्द हुँदा सर्बसाधरणले सास्ती खेप्नु परेको छ। चिकित्सकहरुले आफ्ना माग पूरा गराउन मुलुकभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्था बन्द गराएका छन् । हेटौंडाको एउटा अस्पतालमा सहकर्मी कुटिएको विरोधमा आइतबार चिकित्सकहरुले सबै सरकारी स्वास्थ्य संस्था बन्द गराएका हुन् ।

उनीहरुले इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेको बताएका छन् । नेपाल चिकित्सक संघले आन्दोलन प्रारम्भ भएको बताउँदै आइतबार अस्पताल बन्द गराएका हुन् ।

बन्दका कारण बिहानैदेखि अस्पताल पुगेका बिरामीहरु अलपत्र परेका छन् । संघले आकस्मिक सेवा जारी राखेको बताएको छ। राजधानीका बाँसबारीस्थित न्युरो हस्पिटल र गंगालाल अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल, वीर अस्पताललगायत अधिकांशको इमर्जेन्सी बाहेक अरु सबै सेवा बन्द गरिएको छ ।

गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको कुटपिटपछि चिकित्सक संघले आन्दोलन थालेको हो ।
देशभरका स्वास्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने जनाएको छ। अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर वार्तामा बस्न तयार रहेको जनाएको हो।

‘नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाबारेका विषयवस्तुलाई तत्काल सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भदौ २९ को निर्णयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन भइसकेको छ’, मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले भनेका छन्, ‘वार्ताका लागि आव्हान गरिएको छ। शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सक संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकको सेवा बन्द गर्ने घोषणा गरेको थियो।


डाक्टरलाई कुटपिटमा संलग्नहरुलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग पनि संघले राखेको थियो। हेटौंडा १ मा रहेको सन्चो हस्पिटल प्रालिमा गएको बुधबार दुई जना डाक्टरमाथि कुटपिट भएको थियो । डिउटीमा खटिएका डाक्टरमाथि कुटपिट हुनुको कारण थियो, बिरामीको मृत्यु। हेटौंडा १२ पदमपोखरी घर भएका ४१ वर्षीया राजेश प्रधानको गत साउन २५ गते मृत्यु थियो।

प्रधान डेंगु रोगको संक्रमण देखिएर उपचारका लागि सन्चो हस्पिटलमा भर्ना भएका थिए। अस्पतालका अनुसार बिरामीलाई साउन २२ गते दिउँसो ल्याइएको थियो। डेंगुबाट ग्रसित उनमा निमोनियाको समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि राजेशलाई अस्पतालको एचडीयूमा राखेर उपचार थालिएको थियो।

तर बिरामीको अवस्था थप जटिल देखिएपछि अस्पतालले चितवन मेडिकल कलेज रिफर गर्ने सल्लाह गर्यो। बिरामीका आफन्तसँगको सल्लाहमा साउन २३ गते अर्थात, भर्ना भएको भोलिपल्टै चितवन मेडिकल कलेजमा रेफर गरेको थियो।

एक महिनापछि अर्थात भदौ २७ गते बुधबार विहान परिवारका सदस्यसहित एक हुल मानिस अस्पतालमा प्रवेश गरेका थिए। बिरामीको उपचार गराउन आएका आफन्त होलान् भनेर अस्पताल प्रशासनले चासो देखाएन। तर हामी प्रशासनसँग छलफल गर्न आएका हौं भनेर प्रशासन र सञ्चालकलाई खोजि गरिरहेको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए।

उनले भने, ‘हामीलाई त यो विषयमा चासो हुने कुरा नै भएन। फोन गर्नुभएको होला भन्ने लागेर आफ्नै काममा ध्यान दिइयो। विहानभर जस्तै उहाँहरु अस्पतालमै घुमिरहेको भने याद गरिरहेका थियौं।’
पीडित डाक्टर बिडारीका अनुसार बिरामीको राउन्डिङ गरिरहेको बेला २०÷२५ जनाको हुल आएर एक्कासी कुटपिट गरेका थिए।

‘डाक्टर विकास र म दुवै जना बिरामीको राउन्डिङमा थियौं। त्यही बेला एक हुल नै मानिसहरु आएर मुक्कैमुक्का प्रहार गर्नुभयो। एक्कासी हुल आएर डाक्टर विकासलाई ताने र मुक्का हानिहाले। मैले डाक्टर विकासलाई तान्न खोज्दा मलाई पनि धमाधम हान्न थाले। पछि अपरेसन थिएटरमा लगेर समेत कुटपिट गरे। मेरोे अनुहारमा चोटहरु लागेका छन् भने आँखा रातो भएको छ। उपचार गराइरहेको छु,’ डाक्टर बिडारीले भने।

साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको भन्दै हेटौंडाको अस्पतालमा कार्यरत डाक्टरहरु किन कुटिए भन्ने कुरा आम चासोको विषय बनेको छ। मृतक राजेशका आफन्तले भने दुईदिन अगाडि अस्पतालका ल्याएका बिरामीको उपचारमा ध्यान नदिएका कारण बिरामीको ज्यान गएको दाबी गरेका छन्।


‘अस्पतालमा उपचार गराउन ल्याउने हो। तर उपचारमा लापरवाही भएकै कारण अवस्था जटिल हुन पुग्यो’ मृतकका आफन्त बताउने उनले भने, ‘अलि कम हुँदैमा राम्रोसँग उपचार गरेको भए अथवा नसक्ने भएपछि दुईदिन यहाँ नराखेर सिधै चितवन मेडिकल कलेज लान सल्लाह दिएको भए बिरामीको ज्यान नजान पनि सक्थ्यो।’

डाक्टरहरुमाथि कुटपिटको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पिटाई खाने पीडित डाक्टर विकास थापा हेटौंडा छोडेर भागे भन्ने विषयले चर्चा पाइरहेको छ। बुधबार कुटपिटमा परेर घाइते भएका डा. थापा हेटौंडा छोडेर भागेका हुन् कि उपचार गराउन अन्य अस्पताल गएको भन्ने विषय बुझ्दै नबुझी चर्चाको विषय बनाइएको चिकित्सकहरुको भनाई छ।

डा. बिडारीले धेरै पिटाई खाएका डा. थापाको अनुहारको एउटा हड्डी भाँचिएका कारण काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेको बताए। भागेको नभएर उपचार गराउनको लागि लगिएको डा. बिडारीको दाबी छ।


बुधबारको घटनालगत्तै प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो। तर प्रहरीले आक्रमण गर्नेलाई पक्राउ गर्नुको सट्टा उल्टै घाइते चिकित्सकलाई कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेको भन्दै डाक्टर बिडारीले भने, ‘उक्त घटनामा प्रहरी पक्षबाट पनि कमजोरी भएको देखियो। कुटपिटबाट घाइते भएका हामीलाई अस्पताल लैजानु पर्नेमा कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लिएर गए। दिनभर त्यहीँ राखियो। उपचार गराउनेमा ध्यान दिइएन।’

जिल्ला प्रहरी कार्यालयमा एसपीसहितको रोहबरमा भएको कुराकानीको क्रममा आक्रमणकारीले त्यहाँ पनि आफूहरूलाई धम्क्याएको डाक्टर बिडारीले बताए।

आफूहरूलाई आक्रमण गर्ने टोलीले एसपीकै अगाडि पनि मान्छे काट्ने धम्की दिएको उल्लेख गर्दै उनले भने, ‘उनीहरूले एसपीकै अगाडि जो–जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं भने। एसपीकै अगाडि काटेर हिँड्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ? कतिले त हामी जेल गइरहेकै मान्छे हो बाल छैनसमेत भने। त्यसपछि हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं।’

चिकित्सकहरुले यो घटनापछि आफ्नो पेशाको सुरक्षा र पीडित डाक्टरहरुलाई न्याय माग्दै हेटौंडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा दिएका छन्। सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिइएको हेटौँडा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर हरि खड्काले जानकारी दिए ।

‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्यौँ। तर पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौँ’, डाक्टर हरि खड्काले भने, ‘हाम्रो पेसा सुरक्षित छैन। डिउटीमा खटिएकै अवस्थामा पिटाइ खानुपर्ने अवस्था अन्त्यका लागि राज्यले सोच्नुपर्ने। तर राज्य यो विषयमा बेखबरजस्तै भयो।’ उनका अनुसार दोषीलाई कारबाहीको दायरामा नल्याएकाले आइतबारदेखि आकस्मिक बाहेक अस्पतालका सबै सेवा बन्द गरी चिकित्सक÷स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका हुन्।

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता


सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिवद्धता जनाएको छ ।
यस्तै चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

प्रतिक्रिया