परिवर्तनका पक्षमा ललितकलाकर्मी

नेपालको राजनीतिक परिवर्तनलाई सांस्कृतिक ढंगले स्थापित गर्नका लागि कलामार्फत लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यता झल्किने कलाकृति बनाउनु पर्ने आवश्यतालाई कलाकारले आत्मसात् गर्नु पर्दछ । जनआवाजलाई प्रभावकारी रुपमा स्थापित गर्न र रुपान्तरणलाई संस्थागत गर्नका लागि पनि समग्र संस्कृतिकर्मीको भूमिका बढेर गएको छ । यसमा ललितकलाकर्मीको भूमिका झनै विशिष्ट रहेको छ

देवेन्द्र थुम्केली

विश्वमा भएका दमन र शोषणविरुद्धका आन्दोलनमा ललितकलाकर्मीले विशिष्ट योगदान दिएका छन् । साथै परिवर्तनकामी आन्दोलनमा ललितकलाकर्मीको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता समेत रहँदै आएको छ । विश्वमा भएका साम्राज्यवादविरोधी आन्दोलन, मजदूर आन्दोलन, दलित/जनजाति/आदिवासी/उत्पीडित तथा सीमान्तकृत समुदायका आन्दोलनमा समेत कलाको भरपुर प्रयोग भएको पाइन्छ । कलाका विभिन्न माध्यम तौरतरिका र शैली अपनाएर आन्दोलनका पक्षमा माहोल बनाउन कलाकार र कलालाई प्रयोग गरिएको छ । वास्तवमा आन्दोलनको पृष्ठभूमि र उद्देश्यलाई सहज ढंगले जनमानसमा पुर्याउन कलाको साहारा लिइन्छ ।

कलाले मानिसको अन्तरचेतनालाई झंकृत गर्दै संवेगात्मक मनोभाव पैदा गर्छ । कला दृश्य भाषा भएकाले यसलाई आममानिसले सहज ढंगले बुझ्न सक्दछन् । मानौं आन्दोलनका लागि बनाइने पोस्टरले आन्दोलनको उद्देश्यसहित आममानिसलाई सहभागिताका लागि आवहान गरेको भाव अभिव्यक्त गरेको हुन्छ । आन्दोलन किन र के लागि भन्ने बुझाउन पोस्टरको भूमिका अहम् रहन्छ । संसारमा पोस्टर कलामार्फत जनजीविका र जनताका आवाजलाई मुखरित गरिन्छ । साथै आन्दोलनलाई प्रभावकारी उद्देश्यमूलक बनाउन समेत यसको प्रयोग गरिन्छ । यस्तै, भित्तेलेखन, ग्राफिटी आर्ट, ब्यानर, चित्र, मूर्ति, भावभंगिमा कला, भिडियो आर्ट, डिजिटल आर्ट, प्रतिस्थापन कला लगायतका कलाका विविध माध्यम र शैली अपनाएर आन्दोलनको उद्देश्य र लक्ष्यलाई प्रभावकारी बनाउने गरिएको छ । लोकतान्त्रिक, समाजवादी, जनवादी लगायतका विभिन्न आन्दोलनमा आन्दोलनको लक्ष्य र उद्देश्य झल्किने विषयलाई रङ, रेखा, भाव आदिबाट प्रस्तुत गरिन्छ ।

विश्वमा जस्तै नेपालमा विभिन्न समयमा भएका विभिन्न आन्दोलनमा कलाकारले बनाएका कलाकृतिको अधिक प्रयोग गरिएको पाइन्छ । १०४ वर्षे जहानियाँ राणा शासनका विरुद्धको चित्र बनाएबापत १९९६ सालमा चन्द्रमान सिंह मास्केलाई सर्वस्वसहित १८ वर्षको जेल सजाय तोकियो । मास्केले जेलमा समेत आन्दोलनका पक्षमा चित्र कोरेका थिए । त्यसैगरी २००७ सालअघि राणा शासनविरुद्ध कलाकारले पर्चा पम्प्लेटका लागि कार्टुनसमेत बनाएको पाइन्छ ।

कलाले मानिसको अन्तरचेतनालाई झंकृत गर्दै संवेगात्मक मनोभाव पैदा गर्छ । कला दृश्य भाषा भएकाले यसलाई आममानिसले सहज ढंगले बुझ्न सक्दछन् । मानौं आन्दोलनका लागि बनाइने पोस्टरले आन्दोलनको उद्देश्यसहित आममानिसलाई सहभागिताका लागि आवहान गरेको भाव अभिव्यक्त गरेको हुन्छ । आन्दोलन किन र के लागि भन्ने बुझाउन पोस्टरको भूमिका अहम् रहन्छ

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा छापिएका पर्चा/पम्प्लेटका लागि कार्टुन र चित्रसहित केही कलाकारले सशरीर आन्दोलनमा सहभागिता समेत जनाएका थिए । प्रजातन्त्र स्थापनापछि कलाकारले जनता र जनजीविका, सामाजिक तथा ग्रामीण परिवेश झल्किने कलाकृति बनाए । २०१७ सालको ‘कु’ पछि केही कलाकारले राजतन्त्रका विरुद्ध चित्र तथा कार्टुन बनाएको पाइन्छ । कलाकार कुलमानसिंह भण्डारीले उत्पीडित जनताका पक्षमा चित्र तथा कार्टुन बनाएका थिए । कलाकार दुर्गा बराल, टेकवीर मुखिया, मोहनश्याम मर्हजन ‘खोकना’, उज्जवलकुन्दन ज्यापू, जीवन आचार्य, मोहन खड्का, जीवन राजोपाध्याय लगायतका दर्जनौ कलाकारले पञ्चायती व्यवस्थाविरुद्ध कार्टुन बनाएका थिए । युव कलाकार समूह (याग) ले प्रकाशन गरेको भाँडभैलो कार्टुन पत्रिकामा केही कलाकारले राज्य व्यवस्था र त्यसको चरित्रका विरुद्ध कार्टुन बनाएको पाइन्छ ।

हुनत् नेपालका कतिपय कलाकारलाई दरबारले सहयोग गरेको पनि देखिन्छ । राजतन्त्रका पक्षमा कलाकारलाई कला रचना गर्न लगाउने कार्यमा केही कलाकार लागेको इतिहास पनि छ । २०१७ सालपछि जनपक्षीय अर्थात् प्रजातन्त्रका पक्षमा कला रचना गर्ने कलाकारको संख्या निकै कम रहेको थियो । २०३६ सालको जनमत संग्रहमा केही कलाकारको सशरीर उपस्थिति र कला रचना गरी बहुदललाई जिताउने अभियान पनि चलाएका थिए । कलाकारले चित्र तथा कार्टुन बनाई सडक तथा चोकमा राजतन्त्रका विरुद्ध अभियानसमेत चलाएका थिए ।

वि.सं. २०४६ सालको जनआन्दोलनमा उल्लेख्य मात्रामा कलाकारको सहभागिता रहेको थियो । यत्तिबेला कलाकारले सडकमा ब्यानरै लिएर प्रजातन्त्रका पक्षमा आवाज निकालेका थिए । उनीहरुले कलामार्फत आमजनतालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए । त्यस्तै २०४६ चैत ३ गते त्रिचन्द्र कलेजमा विभिन्न विधामा काम गर्ने स्रष्टाले धर्नासहित आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । सो क्रममा ललितकलाकर्मीले त्यसमा ऐक्यबद्धता जनाउँदै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।

(चित्रः कलाकार नारदमणि हार्तम्छाली)

वि.सं. २०५२ सालमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धमा समेत कलाकारको सहभागिता रहेको थियो । साथै पोस्टर तथा अन्य कलाका माध्यमबाट सशस्त्र विद्रोहमा सहभागी हुन जनतालाई आह्वानसमेत गरिएको थियो । साथै, च्याङवा लामा, बाबुराम लामा, मस्त विष्ट लगायतका दर्जनौ परम्परागत थाङका कलाकारले शहादत प्राप्त गरेका थिए ।

यसैगरी, २०६२/०६३ को जनआन्दोलनमा कलाकारको उत्साहजनक सहभागिता रहेको थियो । ललितकलाकर्मीले ललितकला लोकतान्त्रिक अभियानमार्फत सयौंको संख्यामा कलाकार सडकमा आएका थिए । देशलाई प्रतिगमनको पञ्जाबाट मुक्त गराई लोकतान्त्रिक विधिमा ढाल्नका लागि कलाकार सडकमै उत्रिएर सामाजिक रुपान्तरणमा सशरीर तथा कलामार्फत प्रस्तुत भएका थिए । यस आन्दोलनमा कलाकार अनिल लामाले शहादत प्राप्त गरे । केही कलाकार प्रहरी हिरासतमा समेत परे ।

विसं २०६२ चैत ३० मा पुरानो बानेश्वरस्थित गुरुकुलमा विभिन्न विधाका सर्जकमाथि राज्यले गरेको दमनमा ललितकलाकर्मी पनि परेका थिए । दोस्रो जनआन्दोलनमा ललितकलाकर्मीले कलामार्फत राज्यको व्यवस्था र पद्धतिविरुद्ध विद्रोह गरेका थिए । सडकमा रातो रङ पोखेर दमन र राज्य आतंकको विरुद्ध कलाकारले संगठित अभियान नै चलाएका थिए । कला कार्यशाला गरी जनतामाथि राज्यले गरेको दमनलाई कलाकारले क्यानभासमा चित्रण गरेका थिए ।

देशमा लोकतान्त्रिक शासनको पक्षमा र निरंकुशताका विरुद्ध कलाकारले सिर्जना तथा भौतिक रुपमै सडकमा आए । स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्दै जनतामा सचेतना जगाउने काममा समेत उनीहरुले अभियान चलाए । राजनीतिक दल, आम नागरिक, स्रष्टा, लेखक, बुद्धिजीवी, कलाकार आदिले असल शासनका लागि गरेको त्यो संघर्षले नेपालमा गणतन्त्रको स्थापना हुन सकेको हो । यसरी नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा ललितकलाकर्मीको सक्रिय सहभागिता रहँदै आएको छ । देशमा चलेका परिवर्तनकारी आन्दोलनमा कलाकारले कला रचनासँगै सशरीर उपस्थित भएर आन्दोलनलाई निष्कर्षमा पु¥याउने कार्यमा अग्रसर भए ।

कलाकारले आन्दोलनमा विशेषगरी चित्र, मूर्ति, कार्टुन, प्रतिस्थापन, भावनाटिका, भिडियो आर्टलगायत अन्य सिर्जनात्मक विधामार्फत कलाकारले सहभागिता जनाएको देखिन्छ । यस्तै, समाजमा राज्यले थोपरेको विकृति, विसंगति तथा कुशासनका विरुद्ध ग्राफिटी आर्ट, भित्तेलेखन आदिमार्फत मानिसलाई जागृत गराउने काममा समेत कलाकारको भूमिका अहम् रहँदै आएको छ । देशमा गणतन्त्र ल्याउने आन्दोलनमा समेत कलाकारको सहभागिता र योगदान उत्तिकै चर्चा गर्नलायक रहेको छ । यसरी कलाकारले परिवर्तन र निरंकुशतन्त्रका विरुद्ध कला रचना गरी सामाजिक जागरणका निम्ति योगदान दिएका छन् । कलाकारले जनताको पक्षमा समानता, समावेशिता र उत्तिकै सक्रिय सहभागिता रहनुपर्छ भनेर आवाज उठाउँदै आएका छन् ।

राजनीतिलाई सुसंस्कारित र सभ्य समाज निर्माणमा कलाले खेल्ने भूमिका विशिष्ट रहन्छ । नेपालमा थोरै भए पनि कलाकारले आफ्नो सिर्जनामार्फत जनतामा जागरुकता ल्याउने र सांस्कृतिक चेतलाई बढाउने अभियानमा निरन्तर कर्म गर्दै आएका छन् ।
पछिल्लो समय आन्दोलनको बैठानपछि सांस्कृतिक रुपान्तरणका पक्षमा कलाकारले कला रचना सामाजिक आवश्यकलाई समेत समेट्नु पर्ने दायित्व बढेर गएको छ । नेपालको राजनीतिक परिवर्तनलाई सांस्कृतिक ढंगले स्थापित गर्नका लागि कलामार्फत लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यता झल्किने कलाकृति बनाउनु पर्ने आवश्यतालाई कलाकारले आत्मसात् गर्नु पर्दछ । जनआवाजलाई प्रभावकारी रुपमा स्थापित गर्न र रुपान्तरणलाई संस्थागत गर्नका लागि पनि समग्र संस्कृतिकर्मीको भूमिका बढेर गएको छ । यसमा ललितकलाकर्मीको भूमिका झनै विशिष्ट रहेको छ ।

प्रतिक्रिया