काठमाडौं । जापानस्थित नेपाली राजदूतावास र जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा जापानको राजधानी टोकियोमा जापान नेपाल विकास मञ्चको स्थापना गरिएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री महामहिम कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले संयुक्त रूपमा मञ्चको उद्घाटन गरेको जापानस्थित नेपाली दूतावासले जनाएको छ । उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री मोतोयुकी ओदाची र उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा, हिरोयुकी फुकुयामा, डा.तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहेका छन् । भदौ १५ गते स्थापना भएको सो मञ्चमा जापान नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत मञ्चका पदेन संरक्षक रहेका छन् ।
नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगारलगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण तथा दुई देशको व्यापार प्रवद्र्धनमा सार्थक योगदान पु¥याउने उद्देश्यले जापान नेपाल विकास मञ्चको स्थापना भएको हो । मञ्च समुद्घाटन समारोहमा जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारी स्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताए । यो सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको उनले बताए । उनले शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताए । राजदूत सुवेदीले राजनीतिक स्थायित्व र सामाजिक रूपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिबद्ध रहेको बताए । उनले नेपाललाई वैदेशिक लगानीको उच्चतम र आकर्षक गन्तव्यका रूपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिका साथ लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए ।
प्रतिक्रिया