राष्ट्रिय परिचयपत्र विभागसँग सम्झौता

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच विद्युतीय माध्यमबाट भुक्तानी प्रणाली व्यवस्थापन गर्न सम्झौता भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण लगायत एनसीएचएलका विभिन्न भुक्तानी प्रणाली प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो । यसका लागि विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले दुवै संस्थाका विभिन्न पदाधिकारीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको (इएफटी)मार्फत सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ । विभागमा ३७ लाख भन्दा बढी लाभग्राही आबद्ध छन् । जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ ।

सम्झौता पश्चात लाभग्राहीले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको साथै अन्य विभिन्न गैरवित्तीय जानकारीसमेत प्राप्त हुने व्यवस्थाको परिकल्पना अनुरूप लाभग्राहीको खाता सम्बन्धी विवरण रुजु गर्ने, नयाँ बैंक खाता खोल्ने, बैंक खातामा रकम जम्मा गर्ने, बैंक खाताबाट रकम निकालेको विवरण, लाभग्राहीको ग्राहक पहिचान विवरणको अवस्था, लगतकट्टा र हिसाब मिलान गर्ने लगायतका सेवाहरू एनसीएचएलमार्फत उपलब्ध हुनेछन् ।
यस कार्यका लागि एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेश अन्तर्गतका विभिन्न उपकरण प्रयोग हुने र कारोबार सोझै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआइमा हाल ५३ सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् । पिएसपी, पिएसओ, रेमिटेन्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थालगायतका सयभन्दा बढी गैरबैंकिङ संस्था अप्रत्यक्ष प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्तलगायतका विभिन्न क्षेत्रमा भुक्तानी कारोबार डिजिटाइज गर्न एनपीएसअन्तर्गतका विभिन्न उपकरण सञ्चालनमा छन् ।

प्रतिक्रिया