अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री

गण्डकी । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको सोमबार पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए ।

नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिए । राजस्व संकलको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए ।

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री महतले पुँजीगत खर्चलाई प्रभावकारी ढंगले बढाउने बताए । पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उनले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्नेमा जोड दिए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा प्रदेश र संघीय सरकारले ध्यान दिएको बताए । पछिल्ला समयमा छोटिएका पदमार्गलाई कसरी विस्तार गर्ने सम्बन्धमा छलफल आवश्यक भएको बताउँदै उनले उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच सय रुपैयाँ दरका भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताए । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने बताउँदै उनले निर्माणाधीन पोखरा–मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताए ।

प्रतिक्रिया