काठमाडौं । केन्द्रीय बैंकको प्रोत्साहन नीतिले लघुवित्त संख्या आधाले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको संख्या ५६ मा झरेको छ । राष्ट्र बैंकको २०७६ असार मसान्तसम्मको तथ्यांक अनुसार लघुवित्तको संख्या ९० थियो । यो संख्या २०७८ असार मसान्तसम्ममा ७० मा झरेको थियो । गत आर्थिक वर्ष मात्र १६ लघुवित्त वित्तीय संस्थाहरू मर्जर–प्राप्ति प्रक्रियामा गएका थिए ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको संख्या घटाउन फोर्सफुल मर्जरको नीति ल्याएको हो । सोहि अनुरुप मौद्रिक नीतिमार्फत राष्ट्र बैकले एउटै बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी लगानी भएका फरकफरक संस्थाहरुले २०७९ असार मसान्तसम्म मर्जरमा जाने कार्ययोजना पेश गर्न र विभिन्न बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका संस्थालाई पनि सोही समय भित्र मर्जरको योजना पेश गर्न निर्देशन दिएको थियो ।
हाल मर्जर प्रक्रियामा रहेका लघुवित्तहरूमा सामुदायिक, विपिडब्लु, नेरुडे, मिर्मिरे, स्वरोजगार, समता घरेलु, किसान, जालपा, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त लगायतका छन् । केन्द्रीय बैंकले पछिल्लो केही वर्षदेखि लघुवित्तको हकप्रद सेयर निस्काशमा रोक लगाएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले लघुवित्तमा ‘डुप्लिकेसन’को समस्याका कारण मर्जरको आवश्यकता महशुस गरेको कारण मर्जर नीति आवश्यक भएको बताएका छन् । अहिले लघुवित्तलाई पुँजी वृद्धि गर्न तथा लगानी विस्तारका लागि पनि मर्जर बाध्यताजस्तो बनेको छ ।
प्रतिक्रिया