सामाजिक सद्भाव वृद्धि गर्नु सबै भन्दा ठूलो धर्म

धरानमा शनिबार दिनभर निशेधाज्ञा ‘कफ्र्यु अर्डर’ जारी गरियो । यसको कारण थियो–‘ साम्प्रदायिक द्धन्दको संभावना टार्ने प्रयास ।’ केही दिन अघि धरानमा गोरु काटेर भोज खाएको भन्दै एकथरीले मिडियामा भिडियो पोष्ट गरेका थिए । अर्काथरीले त्यसको समाजिक सन्जाल मार्फत विरोध गरेका थिए । तर यो द्धन्द सामाजिक सन्जालमा मात्रै समित भएन । गोरु काट्न पाइँदैन भन्नेहरुले भदौ ९ गते शनिबार धरान पुगेर ¥याली गर्ने कार्यक्रमको आयोजना गरे ।

गोरु काट्न पाउनु पर्छ भन्नेहरुले त्यसको प्रतिकार गर्ने भन्दै लडाकु दस्ताको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गरे । अझ दुर्भाग्यको कुरा के थियो भने गोरु काट्न पाइँदैन भन्दै ¥यालीको आयोजना गर्नेहरु अधिकांश खस आर्य समदायका थिए । ¥यालीको प्रतिकार गर्ने भन्दै लडाकु दस्ताको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्नेहरु अधिकांश खस आर्य तप्काका थिए । त्यसैले यी दुई समुहबीच भौतिक भिडन्त भयो भने त्यसले भारतको मणिपुरको जस्तै जातीय द्धन्द उत्पन्न हुने आँकलन धरानका बुद्धिजीविहरुले गरे । यो संभावना टार्नका लागि पूर्व मेयरहरुको अगुवाईमा शुक्रबार शान्ति तथा सद्भाव ¥यालीको समेत आयोजना गरियो । धारानका स्थानीय बासिन्दा नङ–मासु जस्तै मिलेरै बसेको भए पनि बाहिरबाट प्रवेश गर्नेहरुले परिस्थिति विथोल्न सक्ने आशंका ब्याप्त रहेकैले निशेधाज्ञा लगाउनु परेको हो । त्यसो डेढ महिना अघि पनि मन्दीर नजिकै चर्च बनाईएको मामिलालाई लिएर पनि धरानबासीको सद्भाव विथोल्ने प्रयास भएको थियो । यसका लागि बाहिरबाट केही मान्छेहरु पुगेका थिए ।

धरान भनेको नेपालकै समुन्नत तथा शभ्य शहरमध्ये एक हुँदै हो , त्यसमा पनि जातिय , धार्मिक , सामुदायिक , भाषिक हिसावले सिंगो नेपालको अनुहार देखिने शहर हो धरान । विविध जात जाति , तथा भाषाभाषीहरु कसरी एउटै समुदायका रुपमा मिलेर बसेका छन् ? भन्ने उदाहरणका रुपमा नेपालको कुनै ठाउँको नाम लिनु पर्दा धरानकै नाम सबै भन्दा अगाडी आउँछ । केही वर्ष अघि मधेस आन्दोलनका क्रममा विराटनगर क्षेत्रमा मधेसी र पहाडी समुदायका वीचको सद्भाव विथोल्ने प्रयास हुँदा धरानवासी युवाहरुले नै खवरदारी गरेका थिए । त्यतिबेला धरानबासी युवाहरुले खवरदारी नगरेका हुन्थे भने विराटनगरको हालत पनि जनकपुर जस्तै हुने अवस्था थियो । मधेस आन्दोलन पछि जनकपुरबाट पहाडी समुदाय रित्तिएको छ । यसको ठूलो मुल्य जनकपुर क्षेत्रले चुकाई रहेको छ । त्यतिबेला धराने युवाहरु नजागेका हुन्थे भने विराटनगरको हालत के हुन्थ्यो ? भन्ने प्रश्नको उत्तर स्पष्ट छ । तर आज त्यहि धरानमा निशेधाज्ञा लगाउनु पर्ने अवस्था उत्पन्न भयो । यसको गुदी कारण के हो ? भन्ने विषयमा धरानबासी पक्कै पनि सचेत छन् ।

मनिसको विनासका लागि जातीय द्धन्द भन्दा खतरनाक द्धन्द अर्को हुँदैन । यस्तो द्धन्दले मानव सभ्यता नै समाप्त हुन्छ । जातीय द्धन्द भएका देश विकास र संवृद्धिको पथमा उकालो लागेका उदाहरण विश्वमा कहीँ कतै छैनन् । विनास भएका उदाहरण मात्रै छन् । एउटा जातीले अर्को जातीको संस्कृति, परम्परा र संस्कारको सम्मान गर्दा सद्भाव बढ्छ , घृणा गर्दा सद्भाव घट्छ । चुरो कुरा यही हो । अहिलेसम्म एउटा जाती तथा समुदायको संस्कारलाई अर्को जाती तथा समुदायले सम्मान गरेकै कारण नेपालमा सामाजिक सद्भाव उदाहरणीय रहँदै आएको हो । आम नेपालीहरुको स्वभाव तथा चरित्र नै यही हो । तर पछिल्लो समयमा एउटा निश्चित तप्का समाजिक सद्भाव विथोल्न क्रियाशिल छ ।

एउटा जाति तथा समुदायको आवरण भिरेर अर्को जाति तथा समुदायको संस्कार तथा संस्कृतिलाई घृणा गर्ने अभिव्याक्ति तथा क्रियाकलापमा केही व्याक्तिहरुले संगठित रुपमा क्रियाशील हुने प्रयास गरेका छन् । यता कानुनको पालना गराउनु पर्ने राज्य संयन्त्र पनि केही हदसम्म चुकेको छ । कानुन भनेको कार्यान्वनका लागि बनेको हुन्छ भन्ने कुरामा विवाद छैन , तर कानुन कार्यान्वयनका क्रममा विवेक पु¥याउनु पर्छकी पर्दैन ? भन्ने प्रश्न झन महत्वपूर्ण छ । हो नेपालको कानुनमा गाई मात्रै होइन कुनै पनि पोथी चौपायको वध गर्न पाइन्न । तर कतिपय समुदायमा पोथी चौपायका बली निदिँदा धार्मिक संस्कार नै पुरा नहुने मान्यता छ ।

यो भइरहेको पनि छ । जसरी खस आर्य समुदायको कुनै तप्काले वाख्राको पाठी बलिदिइरहँदा प्रहरी प्रशासनले अनदेखा गरिरहेको छ , त्यसै गरी जनजाति समुदायको कुनै तप्काले गोरुको बलिदिँदा पनि प्रहरी प्रशासनले अनदेखा गरिरहेको होला । यसलाई अस्वभाविक मानिएको पनि छैन । तर खोजी–खोजी पक्राउ गरी जेलमा थुनिएका केही घटनाका कारण जनजाति तप्का रुष्ट बनेको र त्यही रुष्टताको अभिव्याक्ति धरानमा प्रकट भएको पनि हुनसक्छ । यथार्थता नबुझी अर्को समुदायले प्रतिक्रिया जनाउँदा सद्भाव विथोलिन सक्छ ।

सामाजिक सद्भाव वृद्धि गर्नु भन्दा ठूलो धर्म अर्को केही पनि छैन । सामाजिक सद्भाव विथोल्नु भन्दा ठूलो पाप अर्को छैन । कसले पहिला विथोल्न खोज्यो ? भन्ने प्रश्नका साथ प्रतिक्रिया व्याक्त गर्नु भन्दा त्रुटी सच्याउन तिर लाग्नु श्रेयकर छ ।

प्रतिक्रिया