फैलिँदै गौरापर्व

गौरा पर्व अब सुदूरपश्चिममा मात्रै सीमित रहेन । राजधानी मात्रै होइन युरोप, अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरूले समेत गौरा पर्व मनाउन थालेका छन् । भारतको कुमाउ, गडवाल, उत्तराखण्डमा समेत गौरा पर्व मनाउने गरिन्छ ।

धनगढी । सुदूरपश्चिमेलीहरूको मौलिक गौरा पर्व अब सानो भूगोलमा मात्रै सीमित रहेन । बसाइँसराइसँगै सुदूरपश्चिमका पहाडबाट पश्चिम तराई झरेको यो पर्व अहिले राजधानी काठमाडौंमा समेत प्रभाव जमाउन थालेको छ । गौरा सुदूरपश्चिमेलीहरूको मौलिक पर्व हो । खासगरी सुदूरपश्चिमेली महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हो गौरा । यसलाई ठाउँअनुसार फरक/फरक शब्दमा उच्चारण गर्ने गरिन्छ । कतै गोरा, कतै गौरा, कतै गमरा भन्ने गरिन्छ । परम्परादेखि सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लाहरूमा मनाइने मौलिकपर्व गौराको बिगतमा भन्दा क्षेत्र विस्तार हुँदै गएको छ ।

पहाडी जिल्लाहरूबाट तराईका कैलाली र कञ्चनपुर बसाइँसरी आएका पहाडी जिल्लाबासीहरूले तराइमा पनि मनाउने गरेको गौरा पर्व बिस्तार हुँदै आजकाल काठमाडौंमा समेत मनाउन थालिएको छ । पहिलेपहिले तराईका कैलाली र कञ्चनपुरका केही केही ठाउँहरूमा मात्रै मनाइने गौरा पर्व अहिले भने धेरै ठाउँहरूमा हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । यसपटकको गौरा पनि विभिन्न ठाउँहरूमा हर्षोल्लासका साथ मनाइएको छ । राजधानी मात्रै होइन युरोप, अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरूले समेत गौरा पर्व मनाउन थालेका छन् । यति मात्रै नभएर भारतको कुमाउ, गडवाल, उत्तराखण्डमा समेत गौरा पर्व मनाउने गरेको जानकारहरू बताउँछन् ।

खासगरी सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरा, डोटीमा गौरा पर्व बढी मनाउने गरेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए । उनले बाजुरामा गौरा नमनाउने गरेको तथा अछाम र बझाङमा केही क्षेत्रमा मात्रै गौरा मनाउने गरेको बताए । पहाडी जिल्लाहरूबाट बसाइँसरी कैलाली र कञ्चनपुर आएकाहरूले विगत लामो समयदेखि गौरा पर्व मनाउँदै आएको पाण्डेयले बताए । उनले भने, ‘कैलालीमा पहिले २०४२ सालतिर केही सीमित ठाउँमा मात्रै गौरा मनाउन देखेको थिएँ, अहिले त धेरै ठाउँमा गौरा मनाइन्छ, टोलैपिच्छे गौरा मनाउने गरेका छन्’, उनले भने, ‘अहिले त राजधानी काठमाडौं मात्रै होइन विदेशमा अमेरिका, अस्ट्रेलियामा रहेका सुदूरपश्चिमेलीहरूले पनि गौरा मनाउने गरेका छन् ।’

गौरा मनाउने तरिका भने ठाउँअनुसार फरकफरक रहेको भए पनि त्यसको मूल मर्म एउटै भएको उनको भनाइ छ । गौरा पर्व नारीप्रधान भएको पाण्डेयको भनाइ छ । गौरा पर्वमा महिलाहरूले पति, छोरा, छोरी सन्ततिलाई सौभाग्य प्राप्तिहोस् भनेर शिव र पार्वतीको पूजा आराधना गर्ने गरेको कैलालीको धनगढी उपमहानगरपालिका–८ शिक्षानगरका संस्कृतिका जानकार डिल्लीराज जोशीले बताए । गौरा पर्वमा शिव र पार्वतीको पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । खास गरी यो पर्व श्रावण कृष्ण औँसीबाट सुरु हने जोशी बताउँछन् ।

गौरा पर्वको आफ्नै विधि छ । ‘पहिलो दिन अर्थात औँसीको दिन माटो ल्याउने, दोस्रो दिन घर लिप्ने, द्वितीयाको दिन धर्का तान्ने, तृतीयामा फूल लेख्ने चलन छ’, जोशीले भने, ‘चौथीमा विरुणा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) केलाउने गरिन्छ, पञ्चमीमा तामाको भाँडोमा विरुणा भिजाउने गरिन्छ ।’

‘भिजाएको विरुणा व्रतालु महिलाहरूले षष्ठीको दिन नजिकैको धारा, कुवा, पोखरीमा लगेर धुने गर्छन् र त्यहीँ बलु (एक प्रकारको विरुवा) को पूजा पनि गर्छन्’, उनले थपे, ‘सप्तमीको दिन बिहानै महिलाहरूले धानखेतमा गएर ल्याएको उमामार्ग, बलु, साउँ लागायतका बिरुवाहरू मिलाएर बनाएको गौरा र महेश्वरको प्रतिमा (जुन भारतको गयाबाट ल्याएको काठबाट बनाइएको हुन्छ) लाई फाग सगुन गाउँदै सँगसँगै गौरा राख्ने घरमा ल्याउने चलन छ, त्यो दिन गौराको पूजा गरिन्छ ।’

‘व्रतालु महिलाहरूले अष्टमीको दिन पूजा गर्छन्’, जोशीले भने, ‘दुबो धागोको पूजा गर्नुका साथै गौरा र महेश्वरको विवाह गर्ने गरिन्छ, अनि खेल खेल्ने गरिन्छ ।’ गौरामा देउडा खेल्ने, चैत, धुमारी, फाग गाउने गरिन्छ । गौरा पर्व कम्तीमा पनि पाँच दिन मनाउने परम्परा रहेको जोशीले बताए ।
‘अष्टमीमा गौरा सकिन्छ तर खेल्न मन लागे केहीदिन बढाएर पनि गौरा मनाइन्छ’, उनले भने, ‘अहिले मनाउने तरिका पनि फरक हुँदै गएको छ धुमारी कम खेल्ने देउडा बढी खेल्ने चलन भइसक्यो ।’ जोशीले अगाडि थपे, ‘यसको मौलिक परम्परा भनेको चैत, धुमारी, देवी देउताका मार्मिक गीतगाथा गाउने मार्मिक कुराहरू छन् । गौरामा छोरीबेटीले, बुढापाका महिला, पुरुषहरूले उमेरअनुसार गाउने, खेल खेल्ने अलगअलग व्यवस्था भएको पनि जोशीले बताए ।

पछिल्लो समय गौरा पर्व फैलिँदै गएको भए पनि मौलिकता भने हराउँदै गएको देखिन्छ । अहिलेको पुस्तामा गौरा पर्वको मौलिकताको ज्ञान नहुँदा मौलिकता हराउँदै गएको जानकारहरू बताउँछन् । अहिले गौरा पर्व मनाइने ठाउँहरूमा डेउडा बढी प्राथमितामा रहेको देखिन्छ । गौराको संरक्षण गर्ने भन्दै विभिन्न संघसंस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा पनि देउडा बढी प्राथमितामा राखेको देखिन्छ ।

अहिले गौराको क्षेत्र विस्तार भए पनि मौलिकता हराउँदै गएको जोशीको भनाइ छ । ‘पहाडतिर लाखे बनाएर नचाउने गरिन्थ्यो, त्यो तराईतिर देखिन्न मौलिकता हराउँदै गएको छ’, उनले भने, ‘कतिपयलाई गौरा भनेको के हो भन्ने पनि थाहा छैन तर रमाइलोको लागि मात्रै खेल्ने र आस्थाकै भरमा पूजा गर्छन् ।’

मौलिक लोक संस्कृति जगेर्ना गर्न सरकारले पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘हामीले पछिल्ला पिढीमा संस्कृति पुस्तान्तरण गर्न सकेनौँ, त्यो पनि एउटा कारण हुन सक्छ’, उनले भने, ‘यस्ता लोक संस्कृतिहरू सरकारले पाठ्यपुस्तकमा राखिदिएको भए राम्रो हुन्थ्यो ।’
‘केही नभए पनि कक्षा ९ र १० को पाठ्यपुस्तकमा पढाउन पाए पनि राम्रो हुन्थ्यो’, उनले भने, ‘महिलाहरूले परम्परा हो भनेर जोगाइरहेका छन् पुस्तान्तरण हुन सकेको छैन ।’

मौलिकतामा केही फरक हुँदै गएको गौरा पर्व विस्तार हुँदै गएको भने देखिन्छ । विगत केही वर्षदेखि राजधानीमा प्रधानमन्त्रीलगायत उच्चपदस्थहरूको उपस्थितिमा गौरा पर्व मनाउने गरिएको छ । यसलाई राष्ट्रिय पर्व बनाउने पहल पनि भएको छ । एकपटक माधव नेपाल प्रधानमन्त्री भएको बेला गृहमन्त्री भीम रावलको सिफारिसमा राष्ट्रिय बिदा पनि दिइएको थियो तर त्यसले निरन्तरता पाएन । सुदूरपश्चिम सरकारले भने ७ र ८ गते दुई दिन बिदा दिएको थियो । बिहीबार राजधानीमा आयोजित गौरापर्वसम्बन्धी कार्यक्रममा गौरालाई राष्ट्रिय पर्व घोषणा गर्ने र राष्ट्रिय बिदा दिन सकारात्मक भएको बताएका थिए ।

बिहीबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासमा देउवापत्नी आरजु राणा देउवाको अगुवाइमा मनाइएको गौरामा सामाजिक सद्भाव झल्किने दृश्य देखिएको थियो । जहाँ थारू महिलाहरू आफ्नो परम्पागत थारू पोसाकमा गौरामा देउडा खेल्न पुगेका थिए । उनीहरूले थारू पहिरनमा देउडासमेत खेलेका थिए । कतिपय ठाउँमा शुक्रबार गौरा विसर्जन गरिएको छ भने केही ठाउँहरूमा भदौ २१ गते गौरा मनाइने भएको छ ।

प्रतिक्रिया