गरिबको रगत पसिनामा धनीको रजाइँ

गत आर्थिक वर्ष विदेशी पर्यटकबाट नेपालले ६१ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८० प्रतिशत बढी हो । तर विदेशीले नेपाल घुम्दा आउने रकमभन्दा दोब्बर रकम नेपालीले विदेश भ्रमणमा खर्चने गरेका छन् । नेपालीले गत आर्थिक वर्षमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ विदेश घुमेर सके । यसैगरी विदेशमा अध्ययन गर्न जाने नेपालीहरूले गत आर्थिक वर्ष १ खर्ब ४ अर्ब रुपैयाँ लगे । विदेश घुम्न जाने र पढ्न जाने नेपालीहरूले लैजाने रकममा हरेक वर्ष ५० प्रतिशतले वृद्धि हुने गरेको छ ।

भारत घुम्न जाने, भारत पढ्न जाने र भारतमा स्वास्थ्य उपचार गर्न जानेहरूले लगेको रकम भने यो तथ्यांकमा समावेश गरिएको छैन । मोटामोटी हिसाब गर्दा गत आर्थिक वर्ष विदेशी पर्यटक तथा विदेशमा बस्तु निर्यात वापत जति डलर आम्दानी भयो, त्यो भन्दा धेरै डलर विदेश घुम्न जाने, अध्ययन गर्न जाने र स्वास्थ्य उपचार गर्न जानेहरूले लगेको स्पष्ट हुन्छ । गत आर्थिक वर्ष मात्रै करिब १७ खर्ब रुपैयाँ बराबरको बस्तु आयात हाम्रो देशले गरेको छ । यो १७ खर्ब मध्ये पनि आधाभन्दा बढी बस्तुहरू अत्यावश्यकीय होइनन् । विलासिताका बस्तुहरू हुन् । विलासिताका बस्तु उपभोग गर्ने भनेको पनि धनी वर्गले नै हो । विलासिताको बस्तु उपभोग गर्नु, विदेशमा घुम्न जानु, पढ्न भन्दै जानु, स्वास्थ्य उपचार भन्दै विदेश जानु भनेको मोजमस्ती नै हो । धनी वर्गले गर्ने मोजमस्तीका लागि विदेशी मुद्राको जोहो कसरी भइरहेको छ त ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने निकै कहालीलाग्दो अवस्था छ ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ४० प्रतिशतले बढेको तथ्यांक छ । जसका कारण रेमिटेन्समा अत्यधिक वृद्धि भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएकोमा गत आर्थिक वर्ष १२ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको छ । रेमिटेन्सकै कारण मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ९० अर्ब रुपैयाँले धनात्मक छ । गत वर्ष शोधानान्तर २ खर्ब ५५ अर्बले नकारात्मक थियो । विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब रुपैयाँ (११ अर्ब ७३ करोड डलर) पुगेको छ । यस्तो सञ्चितिले अहिलेकै दरका आयात भएमा १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ । गत आर्थिक वर्ष नेपालले भारतलाई १० अर्बको विद्युत् बेचेको छ भने भारतबाट नेपालले १९ अर्ब ९ करोड रुपैया“ बराबरको विद्युत् किनेको छ । भारतबाट यसअघिका वर्षहरूमा ३० अर्बजतिको विद्युत् किन्ने गरिएको थियो ।

वैदेशिक रोजगारीमा जाने भनेका गरिब युवाहरू हुन् । उनीहरूको रगत पसिनाको कमाइले नै मुलुक चलिरहेको छ भन्ने कुरामा कहीँ कतै द्विविधा छैन । तर उनीहरूका परिवार सधैँ पीडित छन्, ठगिएका छन्, कालाव्यापारीहरूको शोषणमा परेका छन् । मुलुकको धनीवर्गले गरिरहेको मोज मस्ती तिनै गरिब युवाहरूले रगत पसिनाबाट साटेर ल्याएको विदेशी मुद्रा हो । हाम्रो देशका व्यापारी व्यवसायीहरू फस्टाएको तिनै युवाहरूले विदेशबाट पठाएको रकमले हो । तर तिनै व्यापारी व्यवसायीहरू रोजगारदाताका रूपमा राज्यद्वारा सम्मानको जीवनयापन गरिरहेका छन्, श्रमजीवी वर्गको शोषण गरिरहेका छन् । जसले सरकारले निर्धारण गरेको मासिक १७ हजार रुपैयाँ न्यूनतम पारिश्रमिकको पनि विरोध गरेका छन् । हाम्रो संविधानमा समाजवाद उन्मुख शब्द लेखिएको छ । विगत ३० वर्षको अवधिलाई हेर्ने हो भने अपवादबाहेक कम्युनिष्ट पार्टीहरू नै सत्तामा छन् । धनी वर्गसँग प्रसस्त कर लिएर तल्लो वर्गलाई भरपुर सुविधा दिइरहेका देशहरूलाई पुँजीवादी भन्दै अनेकथरी जार्गन प्रयोग गरेर गाली वर्षाउन नेपालका कम्युनिस्ट शासकहरू थाक्दैनन् । तर आफ्नो शासनमा भने गरिब वर्गको शोषण गरेर धनी वर्ग पोस्ने र धनी वर्गसँग कमिसन लिएर मोजमस्ती गर्ने प्रवृत्तिलाई निरन्तरता दिएका छन् । लाज घिन केही पनि बाँकी छैन ।

प्रतिक्रिया