कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थिती रहेका थिए । ९३ सदस्यीय रहेकाे प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री थापाले ४७ मत नै पाएका हुन् ।

प्रदेशसभाको बैठक आज अपराह्न ३ बजेदेखि जारी भएको थियो । प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए ।

सो प्रस्तावको पक्षमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बोले धारणा राख्दै प्रदेशको राजनीतिक स्थिरता र विकासका लागि थापा सरकारलाई समर्थन गरेको बताएका थिए ।

उता नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले सरकार गैरकानूनी र गैरसंवैधानिक भएकाले विश्वासको मत नदिने धारणा राखेका थिए ।

छलफलमा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री थापाले आफूले सहमति गरेर नै अघि बढ्ने विश्वास व्यक्त गरेका थिए । उनले सरकारले जनताका आवश्यकतामा विशेष काम गर्ने बताए । मुख्यमन्त्री थापाले आफू सदैव सहमति र सहकार्यका पक्षमा रहेको भन्दै विश्वासको मतका पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।

सभामा मत विभाजन गरी विश्वासको मतको पक्ष र विपक्षमा मतदान सुरु भएको थियो । प्रदेशसभा सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने नेपालको संविधानबमोजिम प्रदेश सरकार गठन भएको २० दिनपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । मत विभाजन सकिसकेपछि प्रतिपक्ष दलका सांसदहरूले नाराबाजी गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्नेछ ।

प्रतिक्रिया