कञ्चनपुर । कञ्चनपुरमा सडकमा लतारिएको तारबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । यसपछि आक्रोशित आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गमा लतारिएको विद्युतको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन् । विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। टायर बालेर राजमार्ग बन्द गराइएको हो ।
विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग उनीहरुले राखेका छन्। ओडका तीन छोराछोरी छन्।
प्रतिक्रिया