रौतहट । रौतहटको गढिमाई नगरपालिकाले बजेट ल्याएको छ । सोमबार गढिमाई नगरपालिकाले यसवर्ष जनमुखी योजना ल्याएको छ । समनपुरस्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाइएको थियो । नगरपालिकाले नवौँ नगरसभाबाट जनमुखी नीति र कार्यक्रम ल्याएको छ । नगरपालिका नगरकार्यपालिकाबाट पास गरेको नीति तथा कार्यक्रम कार्यान्यवन गर्न ५३ करोडभन्दा बढी बजेट विनियोजन गरेको हो ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । विभिन्न कारणबस ढिलै भए पनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको नगरप्रमुख श्याम यादवले जानकारी गराए । धेरै उत्साहका साथ सम्पन्न भएको नवौँ नगरसभाबाट गढिमाई नगरपालिकाको जनताको मन जित्ने किसिमको नीति तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख यादवले बजेट वक्तव्य पढेर सुनाएका थिए ।
आगामी आर्थिक वर्षका लागि ५३ करोड १५ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । बजेटमा चालुतर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय रुपैयाँ र पुँजीगततर्फ १५ करोड ४३ लाख ३७ हजार बजेट प्रक्षेपण गरिएको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिए ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष १२ करोड ५० लाख कम बजेट प्रस्तुत गरिएको उनको भनाइ छ । नगरसभामा विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, पत्रकार, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यता रौतहटका १८ स्थानीय तह मध्ये दुई वटा नगरपालिका र दुई वटा गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । जिल्लाको माधवनारायण नगरपालिका र फतुवा विजयपुर नगरपालिकाले बजेट ल्याउन सकेको छैन । भने जिल्लामा रहेको दुई वटै गाउँपालिका यमुनामाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले बजेट ल्याउन सकेको छैन ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया