धनगढी । सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले कैलालीको जनजीवन प्रभावित भएको छ । कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर, भजनी नगरपालिका, कैलारी, जानकी, जोशीपुर गाउँपालिकामा वर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित भएको हो ।
वर्षाका कारण कैलालीमा ३ हजार ४ सय १३ घरधुरी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वर्षाका कारण धनगढी उपमहानगरपालिकाका ४२, गोदावरी नगरपालिकाका ७, टीकापुर नगरपालिकाका ३ सय ८१, भजनी नगरपालिकाका २ हजार ३ सय ४२, कैलारी गाउँपालिकाका १ सय ५५, जानकी गाउँपालिकाका २ सय ७५ र जोशीपुर गाउँपालिकाका २ सय १० घरधुरी प्रभावित भएका छन् ।
खासगरी सधैँको वर्ष झँै बाढीको चपेटामा पर्ने भजनी नगरपालिकाका यस पटक पनि बाढीका कारण त्यहाँको जनजीवन बढी प्रभावित भएको छ । भजनी कैलालीको सबैभन्दा बढी बाढीबाट डुबान, कटान हुने पालिका हो । यहाँका नागरिकले मोहना, कान्द्रा, काँडा, पथरैया नदीको बाढीले वर्षेनी डुबानको समस्या भोगीरहेका हुन्छन् । यस पटकको वर्षाका कारण आएको बाढीले भजनी नगरपालिका–२, ३, ५, ६, ८ र ९ नम्बर वडामा जनजीवन निकै प्रभावित भएको भजनी नगरपालिकाले जनाएको छ ।
भजनीमा २ हजार ३ सय ४२ घरधुरी प्रभावित भएको र ९ सय ९९ घरधुरी विस्थापित भएको नगरपालिको तथ्यांक छ । नगरपालिकाको तथ्यांक अनुसार वडा नं २ मा ६० परिवार प्रभावित भएका छन् भने ३ परिवार विस्थापित, वडा नं. ३ मा ८ सय ५० परिवार प्रभावित हुँदा ३ सय ८० परिवार विस्थापित,वडा नं.५ मा १ सय २५ परिवार प्रभावित हुँदा २५ परिवार विस्थापित भएका छन् ।
त्यस्तै वडा नं. ६ मा एक परिवार प्रभावित र एक परिवार विस्थापित, वडा नं. ८ मा १ हजार २ सय ३० परिवार प्रभावित हुँदा ५ सय ९० परिवार विस्थापित र वडा नं. ९ मा २६ परिवार प्रभावित भएको भजनी नगरपालिकाले जनाएकाले छ । बाढीबाट विस्थापित भएकाहरु अहिले कतिपय हुलाकी राजमार्ग, हुलाकी राजमार्गका पुलमा पाल टाँगेर बसेको, कतिपय विद्यालयमा, सामुदायिक भवन र कतिपय आफन्तहरुको घरमा आश्रय लिएर बसेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले जानकारी दिए ।
‘विस्थापित भएकाहरु अहिले घरजान सक्ने अवस्था छैन,पानीको सतह घटेको छैन, विस्थापितहरु अहिले कोही हुलाकी राजमार्ग, राजमार्गका पुलमा पाल टाँगेर बस्नुभएको छ’, उनले भने, ‘कोही सामुदायिक भवन्,विद्यालय,कोही आफन्तकोमा बस्नुभएको छ ।’ विस्थापित भएर राजमार्गलगायतका ठाउँमा बसेकालाई खानेपानीको व्यवस्था नगरपालिकाबाट गरेको र राहत आउने क्रम जारी रहेको उनले बताए ।
सहयोगका लागि नगरपलिकाको अपील
भजनी नगरपालिकाले बाढीबाट विस्थापित भएका नागरिकलाई सहयोगका लागि सरोकारवाला सबैलाई अपील गरेको छ । बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै विस्थापित परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री सहयोगका लागि आग्रह गरेको हो ।
नगरप्रमुख केवल चौधरीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘वर्षाको कारण आएको बाढीले अधिकांश नगरवासीहरु विस्थापित हुन पुगी हुलाकी राजमार्ग, विद्यालय, सामुदायिक उच्च भवन लगायत सुरक्षित स्थानमा बास बस्न बाध्य भएको र विस्थापित परिवारलाई दैनिक छाक टार्न समेत समस्या भएको छ ।’
‘मानवीय अस्तित्व रक्षाका लागि सहयोग गर्न इच्छुक सरकारी गैरसरकारी संघ–संस्था, निजी क्षेत्र सहकारी संघ–संस्था र नागरिक समाजहरुले विस्थापित परिवारहरुको व्यवस्थापनका लागि आवश्यक खाद्य तथा गैरखाद्य सामग्रीहरु सक्दो सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ’, जारी सूचनामा भनिएको छ ।
कैलाली
प्रतिक्रिया