कैलालीमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै

धनगढी । पछिल्लो समय कैलालीमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै गएका छन् । आव २०७९–८० मा कैलाली जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् ।

गत आव २०७९–८० मा अघिल्लो आवबाट जिम्मेवारी सरी आएका र नयाँ दर्ता भएका मुद्दाहरु गरी कुल ३ हजार ५ सय ९१ मुद्दा रहेकोमा ६ सय ९३ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए ।

जुन कैलाली जिल्ला अदालतमा आव २०७९–८० मा रहेका अन्य मुद्दाभन्दा बढी छन् । गत आवमा रहेका कुल मुद्दाहरुमध्ये १ हजार ९ सय ७९ मुद्दा फछ्र्यौट भएको र १ हजार ६ सय १२ वटा मुद्दा बाँकी रहेको श्रेस्तेदार विष्टले बताए । गत आवमा रहेका सम्बन्ध बिच्छेदका ६ सय ९३ मुद्दामध्ये ४ सय ७९ वटा मुद्दा फछ्र्याैट भएको र २१४ वटा मुद्दा अझै बाँकी रहेको उनले बताए ।

क्रमिकरुपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको उनले बताए । पति पत्नीबीचको झगडा,घरेलु हिंसा,सामाजिक सञ्जाल दुरुपयोग,वैदशिक रोजगारीमा गएका पतिले पठाएको पैँसा हिनामिना वा मासेको अवस्था,पत्नी पर पुरुषसँग लागेको हल्ला सुनेर वा आफै आएर देखेको यसरी कारण खुलाएर उजुरी आउने गरेको श्रेस्तेदार विष्टको भनाइ छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुदा दिन सक्ने भएकाले सम्बन्ध विच्छेदका मुद्दा दिने पुरुषको संख्या पनि बढ्दै गएको उनले बताए । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद–३ को दफा ९३ मा दुवैको मञ्जुरीले पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख छ ।

त्यसैको दफा ९४ मा कानून बमोजिम पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिको अंग भंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध बिच्छेद गर्न सक्ने उल्लेख छ ।

त्यस्तै दफा ९५ मा कानूनबमोजिम पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पतिले पत्नीको अंग भंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा,पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जवरजस्ती करणी गरेको ठहरेमा पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख छ ।

त्यस्तै गत आवमा अंशवण्डाका ४ सय ३१ मुद्दामध्ये १ सय ४१ मुद्दा,जग्गा सम्बन्धि १ सय ३१ मुद्दामध्ये ७१ वटा मुद्दा, लेनदेन सम्बन्धि १ सय ९५ मुद्दामध्ये १ सय १३ मुद्दा, बहुविवाह सम्बन्धि ६७ मुद्दामध्ये ४१ मुद्दा फछ्र्यौट भएको कैलाली जिल्ला अदालतले जनाएको छ ।

त्यस्तै कर्तव्य ज्यान सम्बन्धि २४ वटा मुद्दामध्ये १० वटा मुद्दा,ज्यान मार्ने उद्योगका ६३ मुद्दामध्ये ३४ वटा मुद्दा,आत्महत्या गर्न दुरुत्साहनका २३ वटा मुद्दामध्ये १३ वटा मुद्दा फछ्र्यौट भएको कैलाली जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै गत आवमा रहेका जवरजस्ती करणी सम्बन्धि १ सय ९७ वटा मुद्दामध्ये १ सय ६ वटा मुद्दा,हाडनाता करणी सम्बन्धिका ६ वटा मुद्दामध्ये २ वटा,जवरजस्ती करणी उद्योगका ७९ वटा मुद्दामध्ये ३० वटा र वाल यौन दुरुपयोगका २१ वटा मुद्दामध्ये ९ वटा मुद्दा फछ्र्यौट भएको जनाइएको छ ।

त्यस्तै लागु औषध हिरोइनसम्बन्धि ३ सय ५६ वटा मुद्दामध्ये २ सय ४६ वटा, गाँजा–चरेशका ४८ मुद्दामध्ये ४१,सवारी ज्यान वा अंगभंग वा घाइते भएको कसूरका ९३ वटा मुद्दामध्ये ७६ वटा,वनवन्यजन्तु सम्बन्धि कसूरका ७१ वटा मुद्दामध्ये ४४ वटा र चेक अनादर सम्बन्धि ४ सय ८ वटा मुद्दा रहेकोमा १ सय ९७ वटा मुद्दा फछ्र्यौट गरिएको कैलाली जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया