सहकारीको ऋण नतिर्ने खराब ऋणी सदस्यहरूका नाममा

प्रतिमान पौडेल

सम्झनुस् त, छोरीले राम्रो अंक ल्याएर पढिन्, विदेश जान नाम निकालिन्, आफन्तकोमा गएर कति दुःख गरेर ऋण माग्नुभयो, कसैले पत्याएनन्, बैंकमा राख्ने हजुरको बजारको घर घडेरी थिएन, अनि हजुरकी छोरीलाई विदेश पठाउने त्यही सहकारी काम लागेको होइन ? यसो सम्झुनस् त, आफन्तले नपत्याउँदा, साहु र बैंकले नचिन्दा हजुरलाई चिन्ने त्यही सहकारी मात्रै त थियो, आज त्यही सहकारीलाई ब्याज नतिरेर, हजुरले अप्ठेरोमा पार्नुभएको छ, के हजुरको अप्ठेरोमा साथ दिने सहकारीलाई अहिले हजुरले साथ नदिनु राम्रो काम हो त ?

आदरणीय सेयर सदस्य साथीहरू, यतिबेला हजुरहरू मध्ये ज–जसले हजुरहरू आवद्ध सहकारीहरूबाट ऋण लगेर भुक्तान गर्नु भएको छैन, सहकारीका कर्मचारीले फोन गर्ने, म्यासेज गर्ने, पत्र पठाउने, भेटघाट गर्ने, घरघरमा आउने गर्न थाल्नुभएको होला । कर्मचारीहरू घरघरमै आउँदा हजुरलाई रिस उठेको होला, गाली गर्नुभएको होला, उस्तै परे धम्क्याउनु भएको होला ।

हजुरले लगेको ऋणको एक किस्ता मात्रै भाखा नाघ्यो भने संस्थालाई समस्या सिर्जना हुन्छ । एक वर्षभन्दा बढी भाखा नाघेको छ भने हजुर खराब ऋण हो । खराब ऋणीभन्दा हजुरलाई पीर पर्छ होइन ? यदि पीर पर्छ भने आजै जानुस्, संस्था तिर्न बुझाउनुपर्ने बाँकी बक्यौता बुझाएर असल सदस्य बन्नुस् ।

यसो विचार गर्नुस त ? संस्थाबाट हजुरले लगेको ऋण नतिरेका कारण संस्थालाई कति समस्या छ ? संस्थाले हजुरले लगेको ऋण भाखा नाघेको अर्थात खराब ऋणका रूपमा ऋण जोखिम कोषमा सतप्रतिशत रकम राख्नुपरेको छ, हजुरले गएर हिसाब मिलान गरिदिँदासाथ सहकारीको एउटा ठुलो तनाव सकिन्छ ।
अर्को हजुरले ऋण नतिरेका कारण वचत फिर्तामा समस्या भएको छ, सदस्य केन्द्रित भएका संस्थाहरूले संस्थाको कुल सम्पत्तीको ७० देखि ८० प्रतिशत रकम ऋण लगानी गरेका हुन्छन्, ऋणको किस्ता र ब्याज आएन भने वचत फिर्तामा समस्या हुन्छ, जसका कारण संस्था नै समस्यामा पर्न सक्छ ।

अर्कोतर्फ हजुरको इमानदारीमा शंका उत्पन्न हुन थाल्छ, सहकारीका कर्मचारी, सञ्चालकका बीचमा हजुर खराब ऋणीका रूपमा परिचित हुनुहुन्छ, सहकारीबाट ऋण लगेर नतिर्नेमा हजुर देखिनुहुन्छ । यो क्रम बढ्दै जान्छ । अहिलेसम्म त कर्मचारी र सञ्चालकले हजुरको इज्जत जोगाइदिएका छन्, बाहिर गएको छैन, यदि हजुरलाई साधारणसभाबाट खराब ऋणी घोषणा गरियो भने के हुन्छ ? थाहा छ । साधारणसभाका सबै सदस्यहरूले ऋण नतिर्ने मान्छेका रूपमा हजुरलाई चित्रण गर्छन् ।

झट्ट हेर्दा हजुरको व्यक्तिगत कुरा जस्तो लाग्छ, यसले हजुरको व्यक्तिगत मात्रै होइन, हजुरको घर परिवार, आफन्तजन, छिमेकी सबैलाई पिरोल्छ, हजुरका साना साना छोराछोरीलाई अहिले थाहा नपाउनेहरूलाई पनि भोलिका दिनमा यसले असर गर्छ । सम्धी सम्धिनी, छोरी ज्वाइँ, नातागोता सबैमा समस्या सिर्जना गर्ने चिज हो यो संस्थागत ऋण । यो संस्थागत पैसा हो, कसैको ढिकुडी बुझेर भागेजस्तो, नतिरेजस्तो वा व्यक्तिगत सापट लिएर भुक्तान नगरेको जस्तो सोच्नुभएको छ भने यो हजुर र हजुरको सन्ततीका लागि गारो विषय हुन सक्छ ।

संस्थागत ऋण भनेको काउसो हो, यो तिर्नु भएन भने कानुनी हिसाबले जति समस्या तपाईंलाई हुन्छ त्यो भन्दा कति हो कति गुणा बढी सामाजिक हिसाबले समस्या सिर्जना गर्दछ ।

एक जना ऋणीले ऋण तिर्दिनँ भनेर विदेश जानुभएछ, लामो समय विदेश बसेर फर्कनुभयो, सम्पत्तीको मूल्यांकन गर्नुपर्ने भयो वडा कार्यालयले दिन मानेन, उहाँको पासपोर्टको समय सकिएकाले नयाँ बनाउनुपर्ने भयो, वडा कार्यालयले सिफारिस गरिदिएन, छोराबुहारीको नयाँ पासपोर्ट बनाउनु थियो सिडियो कार्यालयले फाइलै बुझेन, व्यवसाय सञ्चालनका लागि प्रहरीको सिफारिस चाहिएको थियो, प्रहरीले दिन नसक्ने बतायो, यो त हजुरको समयको कुरा भयो । हजुरका छोरा छोरी, नाति नातिनासम्मलाई यस्ता विषयले अझै धेरै अप्ठेरो पार्छ ।

त्यसैले आजै संंस्थामा जानुस्, अनुरोध गर्नुस्, हर्जानामा छुट माग्नुस्, ब्याज तिर्नुस् सकिन्छ भने नवीकरण गरेर आगामी दिनमा सहज रूपमा भुक्तान गर्ने गरी आफूलाई असल ऋणी बनाउनुस् । ऋण माग्न फोन गर्छन् भनेर मोबाइल नम्बर परिवर्तन गर्ने, म्यासेज आउँछ भनेर ब्लक गर्ने, गु््रपबाट हट्ने कुराले हजुरलाई नै क्षति गर्छ । ऋण लगेर नतिर्नु संस्थाको समस्या नै होइन, नि ? हजुरको समस्या हो । हजुरलाई संस्थाले सहजीकरण गरिदिन्छ ।

यसो सम्झनुस त, हजुर बजारमा आएर भर्खर सानो व्यवसाय सुरु गर्नुभएको थियो, बजारका मान्छेले हजुरलाई सरसापट दिदैनथे, बैंकले हजुरलाई चिन्दैनथ्यो, अलि अलि पैसा हजुरसंग थियो, जग्गा किन्ने सोच आयो, हजुरले धेरैतिर गुहार्नु भयो, कसैले पत्याएनन्, अनि त्यही सहकारीले जग्गा खरिद गर्नका लागि ऋण दिएको होइन ? आज हजुर सानसँग मेरो बजारमा जग्गा छ भन्ने बनाउने त सहकारी नै हो नि ? भलै जग्गा खरिद गरेपछि हजुरले बैंकबाट ऋण लिएर व्यवसाय बढाउनुभयो ।

सम्झनुस् त, छोरीले राम्रो अंक ल्याएर पढिन्, विदेश जान नाम निकालिन्, आफन्तकोमा गएर कति दुःख गरेर ऋण माग्नुभयो, कसैले पत्याएनन्, बैंकमा राख्ने हजुरको बजारको घर घडेरी थिएन, अनि हजुरकी छोरीलाई विदेश पठाउने त्यही सहकारी काम लागेको होइन ? यसो सम्झुनस् त, आफन्तले नपत्याउँदा, साहु र बैंकले नचिन्दा हजुरलाई चिन्ने त्यही सहकारी मात्रै त थियो, आज त्यही सहकारीलाई ब्याज नतिरेर, हजुरले अप्ठेरोमा पार्नुभएको छ, के हजुरको अप्ठेरोमा साथ दिने सहकारीलाई अहिले हजुरले साथ नदिनु राम्रो काम हो त ?

ऋण लगेपछि फोन गर्छन्, म्यासेज गर्छन्, हजुरलाई झर्को लाग्न सक्छ, यसो सम्झना गर्नुस् त ? हजुरले ऋण माग्दा कसो गर्नुभएको थियो, के के भन्नुभएको थियो । साच्चिकै मनन गर्नुस् न ?

अहिले हजुरको व्यवसाय चलेको छैन होला ? आम्दानी घटेको छ होला, जे भए पनि संस्थामा जाने र सरसल्लाह गर्न त सकिन्छ नि ? हजुर त यसरी भागिरहनु भएको छ कि ? यो सहकारी नै हजुरको दुश्मन हो । हिजो हजुरलाई व्यवसायी बनाउने, हिजो हजुरलाई अरू कसैले नचिन्दा चिन्ने, समाजमा परिचित बनाउने सहकारी हजुरको दुश्मन हुन सक्छ ? अरूले नपत्याउँदा पत्याउने, अरूले साथ नदिँदा साथ दिने सहकारीलाई जोगाउने जिम्मेवारी हजुरको पनि होइन र ? अरू त गर्न सक्नुभएन, यतिबेला सहकारीलाई अप्ठेरो परेको छ, मैले साथ दिनुपर्छ भन्ने सोच त हजुरमा आएन आएन, लगेको ऋणको ब्याज र किस्ता बुझाउने कुरामा पनि हजुर भाग्दै हिँड्ने हो त ?

सम्झनुस न, ऋण खोज्दै भौतारिरहँदा कस्तो पीडा थियो हजुरलाई । सहकारीले सहजै ऋण दिएर लगाएको गुन पनि यति छिटै बिर्सनुभयो है । आजका लागि मात्रै हो । यत्ति मात्रै हो संसार । कति दिन लुकेर बस्नुहुन्छ । सहकारी त हजुरको हो नि ? हजुरलाई सधैँभरी अप्ठेरो साथ दिएको सहकारी, हजुरको घरमा सुख दुःख पर्दा साथ दिने सहकारी, हजुरको सफलतामा खुसी हुने सहकारी के पैसासँग मात्रै जोडिएको विषय हो त ?

यसो सम्झनुस् त, पैसा नहँुदा कसले हजुरलाई साथ दिएको थियो, आज मात्रै होइन, भोलि पनि कसैले साथ दिँदैनन्, अप्ठेरो परेको बेला साथ दिने त्यही सहकारीलाई बिगार्न हजुरको भूमिका हुन्छ भने हजुर बैगुनी हो । बैगुनीलाई गुनले मार्न सधैँ त कहाँ सकिन्छ र ? अब त कानुनी झमेला व्यहोर्न हजुर तयार हुनै त परो । त्यसैले फेरी एकपटक गम्भीरताका साथ सोचेर आजै सहकारीको कार्यालयमा जानुस्, कर्मचारी सञ्चालकहरूलाई भन्नुस्, सहजीकरणका लागि आग्रह गर्नुस् । समस्या त जहाँसुकै हुन्छन्, समस्याको समाधानका विकल्पहरू खोज्नुस् ।

खराब ऋणी भइयो भने के हुन्छ ?

खराब ऋणी भएपछि सबैभन्दा पहिलो सामाजिक प्रतिष्ठा गुम्छ, कसैले नपत्याउने भइन्छ । समाजमा हजुरका बारेमा कुरा चल्छ, कस्तो मान्छे, सहकारीबाट लिएको ऋण त तिर्दैन भने यसले व्यक्तिगत कसरी तिर्ला ? यस्तै यस्तै चर्चा हुन्छ । हजुरका छोराछोरीले पढ्ने विद्यालयमा पनि चर्चा सुरु हुन्छ, तिम्रो बाउआमाले त ऋण तिर्दैनन् रे ? कति पीडा हुन्छ होला ती छोराछोरीलाई जसका बाबुआमाको लापार्वाहीका कारण । कानुनी रूपमा अरू धेरै समस्या सिर्जना हुन्छ, अदालत जानुपर्छ, प्रहरीकोमा जानु पर्ला । संस्थासँगको सम्बन्ध विगारेका कारण समस्या धेरै हुन सक्छन्, त्यसैले फेरी एकपटक ठण्डा दिमागले सोचेर ऋण लिएको संस्थामा पुग्नुस्, भन्नुस्, विकल्प माग्नुस र आफूलाई इमानदार बनाउनुस् ।

प्रतिक्रिया