भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री दाहाल

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीव्रता पाउने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरुपमा खडा भएको र कुनै पनि सम्झौता नहुने उल्लेख गरे ।

‘पछिल्ला केही दिनमा बजेट पास होला कि नहोला भन्ने तरंग थियो, विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यस पटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ, यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ, जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ, विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’

भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढताका साथ अगाडि बढेको र यसलाई थप तीव्र पारिने बताए ।

‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो, तर बिस्तारै लयमा फर्किएको छ, यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ, राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएका छन्, भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गरिनेबारे बोल्नु भएको छ, यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्’, प्रधानमन्त्री दाहालले भने ।

उनले भने, ‘पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो, विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन, १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन, यसले विद्युत् व्यापार बढ्छ, लगानीको ढोका खुल्छ । यो आउने पिँढीले सम्झिरहने काम हो ।’

प्रधानमन्त्री दाहालले राष्ट्र र जनताप्रति इमान्दार भएर काम गरिरहेको बताए । उनले छिट्टै आफ्नो चीन भ्रमण हुने र त्यसको तयारी भइरहेको बताए । ‘त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो गर्ने कोसिस हुन्छ’, उनले भने । वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र कसैले यसलाई कमजोर बनाउन नसक्ने स्पष्ट पार्दै उनले यसमा दलहरु समझदारीका साथ अगाडि बढने बताए ।

प्रधानमन्त्री दाहालले भारतसँग थप हवाईमार्गका बारेमा छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने बताए । चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने उनको भनाइ छ ।

प्रतिक्रिया