रास्वपाको आज ३७ जिल्लामा अधिवेशन हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ३७ जिल्लामा आज अधिवेशन हुँदै छ । सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको निर्णयानुसार आज कोशी प्रदेशका ९, मधेसका दुई, बागमतीका ९, गण्डकीका पाँच, लुम्बिनीका आठ, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुंगा र सुनसरी, मधेसको महोत्तरी र रौतहट तथा बागमतीका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन हुने छन् ।

गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि आज अधिवशेन हुँदै छन् ।

आइतबार थप २९ जिल्लामा अधिवेशन हुने छन् । कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेसका सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमतीका चितवन र ललितपुर जिल्लाका अधिवेशन हुने छन् ।

गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्यूठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवशेन हुने कार्यतालिका छ ।

बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुनेछ । संगठनको विशेष परिस्थितिका कारण उक्त दिनका लागि बाराको अधिवेशन तोकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । ‘यससँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुने छ’, महामन्त्री बुर्लाकोटीले भने, ‘बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुने छ ।’

यही जेठ २६ गतेदेखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिए । पहिलो अधिवेशन बागमती प्रदेशबाट सुरु हुने छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदै छ ।

प्रतिक्रिया