राष्ट्रिय ललितकला प्रदर्शनीलाई नियाल्दा

० प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको यस प्रदर्शनीमा देशको कलाको अनुहार भल्किए पनि देशको आवश्यकता र त्यस अनुसारको सिर्जनात्मक पक्ष भने अपेक्षित नै छ

शोभा ढकाल

० प्रदर्शनीमा लोककला, हस्तकला, परम्परागत चित्र तथा मूर्तिकला, समसामयिक चित्र तथा मूर्तिकला, पछिल्लो समय विश्वमा चलेका बहुविधाका कला, फोटोग्राफी, कार्टुन, क्यारिकेचर, प्रतिस्थापन कला, भावभंगी कला, डिजिटल कला, भिडियो कला लगायतका विविध शैली र पक्षका कला राखिएको छ । लोककलामा मैथिली, थारु, भोजपुरी, अवधी, पर्वते, नेवार आदि राखिएको थियो

कला समाजको प्रतिबिम्ब हो । समाजका प्रत्येक घटना परिघटनासँग अन्यायोश्रित रुपमा कलाको सम्बन्ध जोडिएको हुन्छ । हामीले उपयोग गर्ने प्रत्येक समानमा कलाको सम्बन्ध रहेको हुन्छ । कला भावनाबाट प्रवाहित सिर्जनात्मक अभिव्यक्ति हो । यसले मानव मनलाई झंकृत गर्दै हाँसो र रोदनको दोभानमा मानिसलाई उद्धेलित गराउँछ ।

यसै पृष्ठभूमिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) नक्साल परिसर र बबरमहलस्थित नेपाल कला परिषद्मा गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ मा समाज, देश, संस्कृति, प्रकृति मानव सभ्यताको झल्कोलाई कलात्मक रुपमा उनेको पाइयो । प्रदर्शनीमा राखिएका कलाकृति नेपाली कलाको अवस्था र परिवेशलाई चित्रण गरेको देखिन्थ्यो । करिब ६ सय १० कलाकार सहभागी भएको उक्त प्रदर्शनी १५ जेठदेखि ३० गतेसम्म चलेको थियो । आयोजकले ‘म, मेरो देश र मेरो सिर्जना’ शीर्षकमा गरेको प्रदर्शनी राष्ट्रगानको भावमा केन्द्रित गरी कलाकृतिलाई छुट्याइएको थियो ।

क्‘म, मेरो देश र मेरो सिर्जना’ कलाकारले सिर्जना गरेका कलाकृतिमार्फत मौलिकता, पहिचान वा रैथाने ज्ञानको विषयलाई उद्घाटन गर्दै प्रदर्शनीलाई जनमैत्री बनाएको छ । ‘म’ भनेको मौलिकता र पहिचानलाई इंगित गरिएको हो भने ‘मेरो देश’ भन्नाले देशभित्र रहेको विविधता र ‘मेरो सिर्जना’ भन्नाले कलाकारको सिर्जना पक्षलाई उद्घाटन गर्न खोजिएको हो । प्रदर्शनी यही मुख्य भावमा केन्द्रित रही गरिएको हो ।

प्रदर्शनीमा लोककला, हस्तकला, परम्परागत चित्र तथा मूर्तिकला, समसामयिक चित्र तथा मूर्तिकला, पछिल्लो समय विश्वमा चलेका बहुविधाका कला, फोटोग्राफी, कार्टुन, क्यारिकेचर, प्रतिस्थापन कला, भावभंगी कला, डिजिटल कला, भिडियो कला लगायतका विविध शैली र पक्षका कला राखिएको छ । लोककलामा मैथिली, थारु, भोजपुरी, अवधी, पर्वते, नेवार आदि राखिएको थियो ।
प्रदर्शनी नेपाली ललितकला क्षेत्रलाई नजिकबाट नियाल्न र यसका बहुआयामलाई छाम्न निकै सफल भएको देखिन्छ । नेपाली कलालाई दैनिक जीवन, राजनीति, सामाजिक वस्तुस्थिति, पर्यटन, आर्थिक समृद्धि आदि विभिन्न कोणबाट नियाल्दै समाजको मनोविज्ञानलाई बुझ्न समेत प्रदर्शनी एक माध्यम बन्न सक्यो । यसले नेपाली कलाको धार र परिवेशको यथास्थिति एवं सामाजिक मनोदशाको अवस्थालाई नजिकबाट चिनाउन सफल समेत भएको अनुभूत गर्न सकिन्थ्यो । नेपाली परिवेशबाट हेर्दा देशको कलाको अवस्थालाई प्रदर्शनीले चित्रण गरेको देखिन्थ्यो । समग्रमा हेर्दा नेपाली कलाको समग्र रुप र त्यसको सार भावलाई प्रदर्शनीले उद्घाटन गरेको छ ।

केन्द्रिकृत कलाप्रणालीले गाँजेको नेपालको अवस्थालाई विकेन्द्रित अर्थात् संघीय अवधारणा अनुरुप कलालाई समेत लैजानु पर्ने चुनौती थपिदिएको छ । यो प्रदर्शनी नेपाली कला इतिहासमा एउटा सकारात्मक पाइलाका रुपमा देखापरेको छ । यसले बहुआयामिक ढंगले कलालाई अगाडि बढाउने मार्गसमेत कोरेको अनुभव गर्न सकिन्छ । प्रदर्शनीले समावेशी नेपालको संघीय गणतान्त्रिक अवस्थालाई चिनाउन र त्यसको मर्मलाई उद्घाटन गर्न समेत सफल भएको छ ।

कुनै पनि राष्ट्रको समृद्धि भौतिक विकासबाट मात्र सम्भव छैन, सांस्कृतिक विकास र त्यसको मौलिकताको जर्गेनासँग पनि जोडिएको हुन्छ ।

समग्रमा भन्नुपर्दा नेपाली कलाको वस्तुस्थिति नियाल्न र विश्वकला मञ्चमा नेपाली कलाको उपस्थिति कहाँ छ भन्ने बारेमा बुझ्न प्रदर्शनी निकै फलदायी देखिन्छ । नेपालमा प्रचलित कलाका विधा र तिनको सिर्जनात्मक उठान, उपस्थिति तथा गतिशीलता आदिका बारेमा बुझ्न पनि प्रदर्शनी सफल भएको मान्न सकिन्छ । प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको यस प्रदर्शनीमा देशको कलाको अनुहार भल्किए पनि देशको आवश्यकता र त्यस अनुसारको सिर्जनात्मक पक्ष भने अपेक्षित नै छ ।

प्रतिष्ठानका कुलपति नारद मणि हार्तम्छालीले प्रदर्शनीमा आएका कलाकृति वैचारिक रुपले पहिलेजस्तै देखिए पनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर गर्ने सोचमा रहेको सुनाए । उनले नेपालको रैथाने कला ज्ञानलाई बाहिर ल्याउन नसकेको सुनाउँदै हिजोआज कलाको शिल्प र प्रस्तुति शैलीमा दिनानुदिन प्रगति भइरहेको बताए ।

उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामाले विगत वर्षमा भन्दा यसपालीको प्रदर्शनीले नेपाली कलाको बहुआयामलाई अझै गहन रुपले सम्बोधन गर्न सकेको विचार व्यक्त गरे । गणतन्त्र दिवसको सन्दर्भ पारेर गरिएको प्रदर्शनीले देशको मनोविज्ञानलाई कलात्मक रुपमा उन्न सफल भएको बताए । उनले भने, ‘कलाकृतिको छनोट, मूल्यांकनसँगै क्याटलग प्रकाशन र डिस्प्लेको काम अन्तिम चरणमा छ । यसपटक कुनै गल्ती नहोस् भनेर हामीले दोहो¥याइ, तेहे¥याई हेरेका छौं । यस प्रदर्शनी राष्ट्र, राष्ट्रियता र नेपाली कलाको विषयमा होस् भनेर हामी चनाखो भएका छौं ।’

यस वर्ष ६१० कलाकारका ६९७ कलाकृति राखिएको प्रतिष्ठानले जनाएको छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । प्रदर्शनीमा लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद् तथा आधुनिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, समसामयिक मूर्तिकला विधाका कलाकृति प्रदर्शनीमा राखिएको थियो ।

समग्रमा प्रदर्शनीले नेपाली कलाको पछिल्लो आयतनलाई उठाउन र कलाकारको शीर ठाडो पार्न सफल भएको छ । प्रदर्शनीमा दर्शकको उत्साहजनक उपस्थिति र अभिरुचि कला क्षेत्रकै लागि सकारात्मक पाइला बन्न पुगेको छ ।

प्रतिक्रिया