सन्दीप लामिछानेले दक्षिण अफ्रीका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडि सन्दीप लामिछानेले दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको तयारी र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न त्यसतर्फ गएका छन् ।

बालात्कारको मुद्दा खेपिरहेका सन्दीपले असार २९ गतेको साधारण पेसी तोकिएपछि विश्वकप छनोटको तयारी र विश्वकप छनोटसमेत खेल्न उनी गएराती त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रिय टिम यसअघि नै दक्षिण अफ्रिका पुगेर अहिले अभ्यास गरिरहेको छ । यसअघि, पेसीकै कारण सन्दीप नेपाली टिमसँगै विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका जान पाएका थिएनन् । सन्दीपविरुद्धको बलात्कार मुद्दामा गएको मंगलबार पनि अन्तिम सुनुवाइ सुरु हुन सकेको थिएन ।

गत फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, सर्वोच्चले उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन ।

दक्षिण अफ्रिकामा रहदा नेपालले जेठ २४ गते स्कटल्याण्डसँग र जेठ २६ गते नेदरल्याण्डससँग अभ्यास खेल खेल्ने भएको छ । त्यस्तै विश्वकप क्वालिफायरअघि नेपालले जिम्बाबेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

विश्वकप क्वालिफायर भने असार ३ गतेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाबेसँग खेल्दै छ भने दोस्रो खेल असार ५ मा अमेरिकासँग, असार ७ मा वेष्टइण्डिजसँग र असार ९ मा नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया