फालेको बल ‘बल गर्ल’को टाउकोमा लागेपछि…

पेरिस । वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘फ्रेन्च ओपन’मा डबल्सतर्फका खेलाडी कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने खेलाडी जापानकी मियु कातो र इन्डोनेसियाकी अल्दिला सुत्जिआदी हुन् ।

मियु र अल्दिलाले आइतबार राति महिला डबल्सतर्फको खेलमा प्रतिस्पर्धा गरेका थिए । तर, खेलका क्रममा जापानी खेलाडी मियुले एक ‘बल गर्ल’को टाउकोमा टेनिस बलले हिर्काएकी थिइन् । त्यसपछि मियु र अल्दिलाको जोडीलाई आयोजकले अयोग्य घोषित गरिदिएको थियो ।

मियु र अल्दिलाको जोडी डबल्सतर्फ विश्व वरीयताको १६औँ स्थानमा छ । तेस्रो चरणको पहिलो सेटको खेलमा मियु र अल्दिलाको जोडी स्पेनकी सारा सोरिबेस टोर्मो र चेक गणतन्त्रकी मारी बुज्कोभासँग ७—७ अङ्कले पछि परेको थियो ।

दोस्रो सेटको खेलमा भने मियु र अल्दिलाको जोडी ३—१ अङ्कले अगाडि थियो । त्यसैबेला उक्त अप्रिय घटना भएको थियो । खेलका क्रममा अङ्क हासिल गरेपछि जापानी खेलाडी मियुले टेनिस बल आफ्नो पछाडि फालेकी थिइन् । दुर्भाग्यवश, उक्त बल मियुको पछाडि उभिएकी ‘बल गर्ल’को टाउकोमा ठोक्किएको थियो ।

बलले टाउकोमा चोट लागेपछि ती ‘बल गर्ल’ रुन थालेकी थिइन् । तर, मियुले जानेर ती ‘बल गर्ल’लाई हिर्काएकी थिइनन् । त्यसपछि अम्पायर एलेक्जेन्डर जुगले ग्रान्डस्लामको नियम उल्लङ्घन गरेको आरोपमा अन्य रेफ्री, आयोजक र खेलाडीसँग छलफल गरेका थिए । छलफलपछि मियु र अल्दिलाको जोडीलाई खेलका लागि अयोग्य घोषित गरिएको थियो ।

मियु र अल्दिलालाई अयोग्य घोषित गरिएपछि कोर्टमा उपस्थित दर्शक र सञ्चारकर्मीबाट आयोजकको चर्को आलोचना भएको छ । मियुले जानेर ‘बल गर्ल’लाई जानेर हिर्काएकी थिइनन् त्यसैले खेलाडीमाथि यति कडा कारबाही गर्न नहुने उनीहरूको धारणा छ ।

त्यतिबेला टेनिसको समाचार संकलन गरिरहेका सञ्चारकर्मी बेन रोथेनबर्गले पनि कडा कारबाहीले खेलाडीमाथि अन्याय भएको धारणा व्यक्त गरेका छन् । ‘यो कारबाही कडा हो । बल गर्ललाई जानेर हिर्काइएको थिएन । सर्भिसको पालो पनि विपक्षी खेलाडीको थियो त्यसैले मियुले बल पछाडि फाल्नु स्वाभाविकै थियो,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।

तर, विश्व टेनिसको इतिहासमा यस्तो घटना पहिलो पटक भएको होइन । सन् २०२० मा भएको यूएस ओपनका क्रममा अन्जानमा नोभाक योकोभिचले फालेको बलले लाइन जजलाई चोट लागेको थियो । त्यतिबेला पनि योकोभिचलाई यस्तै कारबाही गरिएको थियो ।

प्रतिक्रिया