निशा लेभल टु प्रशिक्षक

काठमाडौं । ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् ।

तेक्वान्दोकी चौथो डान निशाले राष्ट्रिय टोलीसँगै विभिन्न विद्यालयमा पनि प्रशिक्षण गराउँदै आएकी छन् । निशा यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकुमा हुने तेक्वान्दोको वल्र्ड च्याम्पियनसिपमा पनि नेपाली टोलीको प्रशिक्षकका रुपमा सहभागी हुँदै छिन् । वल्र्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्ने छन् । महिला टोलीको प्रशिक्षकको जिम्मेवारी निशाले सम्हाल्दै छिन् ।

वल्र्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्दै छन् । पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिलातर्फ ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् ।
निशाले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नेपालको चुनौती प्रस्तुत गरेकी थिइन् । ३१ औं ग्रिष्मकालीन ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी उनले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । ललितपुरको इमाडोलकी निशाले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले हङकङ एसियन सिटी गेम्स र काठमाडौंमै भएको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया