निजीकरण गरिएका सरकारी कम्पनी : आठ नाफामा, चार घाटामा र ६ बन्द

काठमाडौं । निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र ६ बन्द अवस्थामा छन् ।
सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष ०७८÷७९ सम्ममा निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये आठ वटा नाफामा र चार घाटामा सञ्चालित छन् । ६ वटा सार्वजनिक संस्थान बन्द अवस्थामा छन् । निजीकरण गरिएको सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया फरक फरक छ । सेयर बिक्री प्रक्रियाबाट निजीकरण गरिएका ११ सार्वजनिक संस्थानमध्ये तीन वटा बन्द छन् भने आठ सञ्चालन भइरहेका छन् ।

निजीकरण गरिएका नेपाल बिटुमिन तथा ब्यारेल उद्योग, नेपाल ल्युब आयल, नेपाल ढलौट उद्योग लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल चिया विकास निगम, बुटवल पावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, भक्तपुर इँटा टायल कारखाना नाफामा सञ्चालन भइरहेका छन् ।
श्री रघुपति जुट मिल, लुम्बिनी चिनी कारखाना, नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड र विराटनगर जुट मिल घाटामा सञ्चालनमा छन् । भृकुटी कागज कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, चलचित्र विकास कम्पनी लिमिटेड, बालाजु कपडा उद्योग, काँचो छाला संकलन तथा बिक्री केन्द्र हाल बन्द अवस्थामा छन् ।

नेपाल जुट विकास तथा व्यापार कम्पनी, कृषि आयोजना सेवा केन्द्र, सुर्ती विकास कम्पनी, हिमाल सिमेन्ट उद्योग लिमिटेड, घरेलु शिल्पकला बिक्री भण्डार, नेपाल कोल लिमिटेड, हेटौँडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, नेपाल यातायात संस्थान, कृषि चुन उद्योग लिमिटेड, नेपाल ड्रिलिङ कम्पनी विभन्न समयमा खारेज भएर बन्द भइसकेका छन् ।

समीक्षा प्रतिवेदनअनुसार सरकारको लगानी रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुई वटाको कारोबार शून्य देखिएको छ । सरकारको लगानी रहेका सार्वजनिक संस्थानमा हाल प्रत्यक्षरूपमा २९ हजार ७ सय ३६ जनाले रोजगारी पाएका छन् ।

सरकारी सार्वजनिक संस्थानको चुक्ता पुँजी ३ खर्ब ७२ अर्ब ५५ करोड ४१ लाख पुगेको छ । गत वर्ष संस्थानको सञ्चित नाफामा ४२ दशमलव ९० प्रतिशतले कमी आई ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ । सार्वजनिक संस्थानको खुदस्थिर सम्पत्ति ७ खर्ब ९९ अर्ब ८४ करोड १३ लाख र कुल सम्पत्ति २३ खर्ब ७४ अर्ब १७ करोड ४० लाख बराबर रहेको छ ।

यस्ता संस्थानहरूले गत आर्थिक वर्ष ०७८÷७९ मा सरकारको सञ्चित कोषमा कुल १४ अर्ब ३८ करोड १२ लाख आयकर दाखिला गरेका थिए । गत आर्थिक वर्ष सरकारले प्राप्त गरेको कुल आयकरमा संस्थानको योगदान ५ दशमलव ५९ प्रतिशत बराबर हो ।
सार्वजनिक संस्थान ः २५ नाफामा, १७ घाटामा र दुई वटाको कारोबार शून्य

यसेगरी सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।

सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८÷७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् । दुई वटा संस्थानको कारोबार शून्य रहेको छ ।

हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुआती अवस्थामै रहेको छ ।

समीक्षा प्रतिवेदनअनुसार नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिन्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी बेहोरिरहेका छन् ।

गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३ दशमलव ६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६ सय १० दशमलव ९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २ दशमलव ४ प्रतिशतले कमी आएको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा गत आर्थिक वर्ष ०७८÷७९ मा ३६ दशमलव २२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४ दशमलव १५ प्रतिशतले कमी आई आर्थिक वर्ष ०७८÷७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा १ अर्ब ५४ करोड २० लाख कायम भएको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष ०७८÷७९ मा जम्मा ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ८ दशमलव ४३ प्रतिशतले कम हो ।

सार्वजनिक संस्थानहरूको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा १ सय ७६ दशमलव ८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२ दशमलव ९० प्रतिशतले कमी आई ५२ अर्ब ४० करोड ७८ लाख रुपैयाँ पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा सेयरधनी कोष र नेटवर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले वृद्धि भई ७ खर्ब ६१ अर्ब ३३ करोड २५ लाख पुगेको छ ।

समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८ दशमलव ९७ प्रतिशतले वृद्धि भई ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ४ दशमलव ५४ प्रतिशतले वृद्धि भई ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४ दशमलव ४९ प्रतिशतले वृद्धि भई २ खर्ब ८९ अर्व २३ करोड ७१ लाख पुगेको छ ।

प्रतिक्रिया