फणिन्द्रलाई कसले हान्यो पिस्तोल ? त्यो पिस्तोल कसले लग्यो ?

नेविसंघ तथा अखिलको कारणले सिर्जना नभएको अरुले नै षडयन्त्र गरेका भनिए पनि हरेक साल मंसिर ९ गते पुरानो घाउ चसक्क त हुन्छ नै । असली पिस्तोल हो हैन,साँच्चीकै पिस्तोल नै थियो त, पिस्तोल कसले हान्यो ? पिस्तल कसरी क्याम्पसमा आयो ? विद्यार्थी बाहेकका अरुको घुसपैठ पो भएको थियो की ? प्रयोग भइसकेपछि त्यो पिस्तोल कसले लग्यो–कहाँ पुग्यो ? कसैले एकिन साथ भन्न सक्दैन,ठोस आधार र प्रमाण छैन । मुद्धा चल्यो–सबै मिलापत्र भइसक्यो ।

जगदीशराज बराल

हालै सम्पन्न स्ववीयू निर्वाचनमा पनि विधार्थी बीच खुकुरी हानाहान झडप भयो । यस सन्दर्भमा यत्रो लामो अभ्यास पछि पनि बिधार्थीहरुमा उही हाम्रै पालाको पुरानो मुक्का मुक्कीको धङधङी अझै पो बाकीँ रहेछ भन्ने मनमा लागेर केही लेख्न मन लाग्यो ।
स्वतन्त्र बिधार्थी युनियनको चुनाव गराउने समयमा शिक्षा मन्त्रालय सहित प्रशासनलाई अलि बढी टेन्सन हुन्थ्यो । अखिल गठबन्धन र नेविसंघ बीच अब के कस्तो मुठभेड हुने हो ? भनेर । चितवन रामपुर क्याम्पसका अ.ने.रा.स्व.बी.यू. का विद्यार्थी नेताद्वय मित्रमणी आचार्य र शिव पौडेलको हत्याको घटना होस या बिराटनगरको महेन्द्र मोरङ अदर्श बहुमुखी क्याम्पसका विद्यार्थी नेता फणिन्द्र तिमिल्सिना दःुखद घटना पनि शैक्षिक निकायका विद्यार्थी राजननीतिकालागि त्राशदीपूर्ण इतिहास हुन् ।
२०३८ साल मंसिर ९ गते मोरङ क्याम्पस (संक्षेपमा)मा नेविसंघका विजय गच्छदारको नेतृत्वमा आएको समुह र अखिलको समुह बीचको झडपले अखिल नेता फणिन्द्र तिमलसिनाको मृत्यू र त्यसपछि उत्पन्न परिस्थिति सम्झदा त कहाली लाग्छ । (जगदीशराज बराल,२०७७ । राजनीतिक झडपहरु ःपहिलेका र अहिलेका । साँघु न्यूज डटकम–साँघु साप्ताहिक । २९ अशार बि.सं.२०७७)


त्यसबेलाको स्वबियू निर्वाचनमा नेविसंघबाट विजय गच्छदार सभापतिमा उठनु भएको थियो । उहाँ एकदम निडर,साहशी,आटिलो,र मुठभेड गरिहाल्ने स्वभावको हुनुहुन्थ्यो । तिक्ष्ण प्रतिष्पर्धा भएपनि चुनावमा फेरि पनि बाम पक्षीय बिधार्थी नै बिजय हुन सक्ने नभए एक दुई सदस्य नेविसंघको आउन सक्ने भनेर अनुमानित हल्लीखल्ली थियो रातीको समय मत गणना हुँदै थियो ।
त्यसैबीँच पराजित भएको नेविसंघको प्यनल बिजयी भएको भनेर चुनावको परिणाममा नेविसंघ पारिएको हल्ला चल्यो । सभापति उम्मेदबार बिजय गच्छदारले क्याम्पस प्रमसखलाई धम्की दिएर जोर जर्वजस्ती गरेर सही गर्न बाध्य पारे भन्ने हल्ला पनि चल्यो । यो हल्लाका कारण रातभरि बाहिर मत परिणाम सुन्न बसेका विद्यार्थीबीच खैलावैला मच्चियो । नतिजा नेविसंघको पक्षमा आएको सूचना टाँस समेत भयो । र, बामपक्षधर विद्यार्थीहरुले स्ववियू नतिजालाई स्वीकार गरेनन् । उनीहरुले बक्तब्य जारी गर्दै घोषित परिणाम रद्ध गर्न अनुरोध गरे । भोली पल्ट देखि नै दुवै पक्षका विधार्थी बीच झगडा पर्न थाल्यो । सभापति घोषित विजय गच्छदारले स्ववियू कार्यालयमा बस्न शुरु गरेर ताल्चा पनि लगाई सक्नु भएको थियो ।


२०३८ साल मंसिर ९ गते बिहान ९ बजेतिर फणिन्द्र तिमलसिना हाम्रै घरको छेउको सडकबाट आउँदै गर्दा मैले आँगनमा उभिएर ‘कुरा मिल्दै छ त’ भनेर जिज्ञाशा राखेँ । उहाँ ‘ क्याम्पस प्रशासनलाई अनुरोध गरेर स्वबियूको ताल्चा खोल्न लगाउने सोचेका छौं,के हुन्छ हेरौं ’ भन्दै हतारमा पिपल चौक तिर लाग्नु भयो ।

म पनि खाना खाएर क्याम्पसतिर लागेँ । विधार्थीको भिड थियो । अनेक कुराहरु सुनिन्थ्यो । डेलीगेशन सहित पदाधिकारीको कार्यकक्षमा धर्ना दिने,फेरि पनि समस्या समाधान हुन नसके विरोध प्रर्दशन सहित स्ववियूको ताल्चा खोलेर आफ्ना प्यनलका सभापति सहित अरु पदाधिकारीबाट स्वबियू सञ्चालन गराउने कार्यक्रम भएको चर्चा सुनियो । भोगेन्द्रप्रसाद उपाध्याय सरकाहाँ बाम पक्षधर विधार्थीको डेलीगेशन गै सकेको रहेछ । बाहिर सुनसरी, झापा लगायतका जिल्लाबाट आएका बाम पक्षधर विधार्थीको ठूलो समूह थियो । नेविसंघका विधार्थी एकदम नै कम थिए,अन्यत्रै भेला थियो भन्ने सुनेको ।

क्याम्पसमा नासुस्तरको पद खुलेकाले यो पंक्तिकार बाहिर फारम भर्दै थिएँ । अलिपर उत्तरपूर्वी कुनातिर बाम पक्षधर भरत पोखरेल (मूलधार अखिल आठौंका लिलामणी पोखरेल पछिका अध्यक्ष–त्रिविवि अर्थशास्त्र प्राज्ञ,बाम बुद्धिजिवि,लेखक),खगेन्द्र चुँडाल (केन्दीय सदस्य–नेकपा एस),फणिन्द्र तिमिल्सिना,दिपेन्द्र तथा नरेन्द्र कार्की(निर्माण व्यवसायीहरु), गिरिराजमणी पोखरेल लहरै उभिनु भएको थियो । यसै बीच बिजय गच्छदारको नेतृत्वमा पच्चीस–छब्बीस जना जति नेविसंघका विद्यार्थीहरु त्यहाँ जम्मा भएका थिए । उनीहरु विद्यार्थीको भीड बीचबाट क्याम्पस प्रमुखको कोठातिर लागे । नेविसंघको यो टोलीमध्ये एक जनाले मलाई ‘तिमि यहाँबाट गै हाल’ भने,अर्काले ‘जागीरे फारम–सारम छोडदेउ’ भन्दै पो थिए । हल्लासँगै भागाभाग शुरु भयो ।

म.मो.आ.ब.के.क्याम्पस,बिराटनगरको माथीको छविचित्रमा भएको प्रबेशद्वार तथा मोहडा स्थलबाट पूर्वोत्तर करिव एकसय पचास फिट भित्र फणिन्द्र घटना घटेको ।

छात्राहरुलाई सम्बन्धित विद्यार्थी संठनहरुले घर जान भनि सकेका थिए । म पनि फारम भर्न छोडेर भाग्दै दक्षिण पश्चिमतर्फ रहेको सहायक डिनको कार्यालय पुगेँ । हान हान ठोक ठोक भन्दै कुदाकुद भएको देखिन्थ्यो । त्यसै वीच प्याटाक प्याटाक आवाज सुनियो । झन भागाभाग दौडादौड शुरु भयो । अरु पनि लुक्न सहायक डिनको कार्यालयमा आउँदै थिए ।

झगडा शान्त भएपछि सहायक डिनको कार्यालयमा लुकेका हामी पर क्याम्पसमा गयौं । अकल्पनीय घटना घटित भई सकेको रहेछ । त्यसपछि त्यहाँ आआफ्ना पक्षधर दावी विरोधका हल्ला,गाँईगुँई, सुनिन् थाल्यो ।

जस्तै:

(क) अखिल एकताको पाँचौं पक्षधर फणिन्द्र तिमिल्सिनालाई त पिस्तोलको गोली लागेर अस्पताल लगेको छ भनेर बाम पक्षधर बिधार्थीहरु कोलाहल गर्दै थिए ।

(ख) फणिन्द्रको मृत्यु भयो रे भन्ने जस्ता हल्ला पनि चल्यो । –‘बिद्यार्थीहरुले बिजय गच्छारलाई पिटेर आखाँ समेत फुटाएर मरणासन्न अवस्थाको पारी सके रे,

(ग) केही एकताको पाचौँ बाम पक्षधर विद्यार्थी बिजय गच्छदारलाई टुक्रा पार्ने भन्दै खुकुरी समेत लिएर हिंडेका थिए रे,भरत पोखरेलले खुकुरी नबोक्नुस भनेर नरोकेको भए त अखिल पाँचौँका केही उच्छृंखलहरुको कारण ठूलो अनिष्ट हुने पो थियो रे,विजयलाई अस्पताल लगे रे ।

नेविसंघ तथा अखिलको कारणले सिर्जना नभएको अरुले नै षडयन्त्र गरेका भनिए पनि हरेक साल मंसिर ९ गते पुरानो घाउ चसक्क त हुन्छ नै । असली पिस्तोल हो हैन,साँच्चीकै पिस्तोल नै थियो त, पिस्तोल कसले हान्यो ? पिस्तल कसरी क्याम्पसमा आयो ? विद्यार्थी बाहेकका अरुको घुसपैठ पो भएको थियो की ? प्रयोग भइसकेपछि त्यो पिस्तोल कसले लग्यो–कहाँ पुग्यो ? कसैले एकिन साथ भन्न सक्दैन,ठोस आधार र प्रमाण छैन । मुद्धा चल्यो–सबै मिलापत्र भइसक्यो । तर पनि अझै मंसिर लागेपछि फणिन्द्रको कुरा चलेपछि अनेकौँ उही पहिला त्यसबेला पनि चलेकै आधार र प्रमाण विनाका हल्ला सुनिन्छ ।

जस्तै : (१) विजयलाई त चाइनिज पेस्तोल अञ्चलाधिश जीया उल हकले पो दिएका रहेछन् । खै कोही कोहीले चाहिँ खसेको भन्थे पिस्तो पछि पुलिसले नै लग्यो रे ।

(२) बिजय गच्छदारले हातमा लिएको पिस्तोललाई त दशैँ तिहारमा बेच्न राख्ने सानो खेलौना पिस्तोल भनी ठानेर वास्ता नगरेकाले यस्तो भयो । पेस्तोल लिएको विजयको हातमा सालको काठको पाताले हिर्काएर भैँमा झारेको रे ।

(३) पिस्तोल त टिपेर अनेरास्वीयू पाँचौँका विधार्थी नेता फलानाले माले नेता सीपी मैनाली कहाँ पु¥याइाके रे , हैन हैन पुलिस ले नै टिपेर प्रशासनलाई बुझायो ।

(४) खै कुन चाहिँ दाहालले त्यो पिस्तोल भेट्टाएको थियो रे । पुलिसले उनको खोजि गरेपछि काठमाडौं पलायन भएको रे । पछि ती दाहाल भन्ने विरामी परेको रे ।

(५) बिजयले नै पिस्तोल लगेको रे त । सबभन्दा पहिला पिस्तोल अधिकारी थर भएका विद्यार्थीले फेला पारेका रे । पछि धेरैको हातहातबाट पुलिस प्रशासन समक्ष पुगेको रे । हो हो मैले पनि त्यस्तै सुनेको हुँ ।

(६) बल्खुमा पो छ रे भन्थे रे ! अखिल पाँचौँका समर्थकहरुले । नेविसंघले हैन , बरु अखिल पाँचौ भित्रको आन्तरिक अन्र्तविरोधको कारण त्यही भित्रबाट घटना घटेको हुन पनि सक्छ रे । किनकी गोली त खगेन्द्र चँुडाललाई पो लक्षित गरेको रे नी त । घुस पैठी फटाहाहरु कै करामत हुन सक्छ । गच्छदारसँग चाहिँ थिएन । कोही पुलिसले पो लग्यो होला नी , भन्छन

(७) नेविसंघको एक जनाले त बम हानेको रे,बम निष्क्रिय भयो र मात्र, नत्र त बर्बाद हुने रहेछ’

लगायतका अनेकौं चर्चा परिचर्चा–हल्ला खल्ला–गाँईगुँई सुनिएको थियो । मैले बि.सं.२०७९ साउनमा विराटनगर जाँदा यस घटना बारे नजिकबाट बढी बुझ्नु भएका कोइराला परिवारसँग नाता भएका–पूर्व काँग्रेस–पूर्व तमलोपा–मदन भण्डारीको दुर्घटना बारे विवादस्पद विचार दिनु हुने हाल एमाले मोरङका नेता उमेश गिरी,पूर्व एमाले नेता किरण केसी र नेपाली काँग्रेस मोरङका नेता सुनिल दाहालसँग जिज्ञासा राखेको थिएँ । किरणजीले ‘आफुलाई अब नेपाली राजनीति देिखनै बिरक्त लागेकाले यस तर्फ कुनै चासो नभएको’ भनेर निराशा ब्यक्त गर्नु भयो ।

श्याम स्वेत तस्वीरमा अगाडी बसेका बायाँबाट पहिलो फणिन्द्र तिमलसिना र भरत पोखरेल सहित उहाँसँग मानवीकी संकायमा पढने पूर्व अर्थ उपसचिव श्याम दाहाल,पूर्वाञ्चल विश्वविधालयका मानविकी तर्फका सह डिन उदय प्रसाई सहित । (यो बिम्व श्रेय: स्व.फणिन्द्रजीको भाई खेमराज तिमसिनाको फेशबुक वालबाट )

यसैगरी,उमेश गिरी र सुनिल दाहालले भने ‘जसले पिस्तोल दिए उनीहरुले नै लगे होलान । सबै कुरा नेपाल सरकारको प्रशासनलाई थाहा हनुपर्छ यो कसरी भयो भन्ने कुरा’ भन्दै गर्नु हुँदा ‘४० बर्ष अघिको त्यो घटना अहिलेसम्म तिमीले सम्झिराखेका छौ है ?’ भनेर मेरो जिज्ञाशाप्रति पो झन चासो राख्नु भयो ।

घटना पछि बिजय गच्छदारको स्वस्थ्य अवस्था नाजुक थियो । अञ्चलाधिश कार्यालयमा बैठक बसेको हल्ला सुन्दै गर्दा प्रशासनले कर्फ्यू लाउनेवाला छ भन्ने कुरा पनि गाँई गँुई हुँदै गर्दा सवै विद्यार्थी घरघरमा लुक्न गै सकेका थिए । नभन्दै पछि कर्फ्यु लाग्यो । पछि हाम्रो स्नातकोत्तर रात्री कालिन सत्र रद्ध गरेर पुरानो हवाईफिल्डको स्नातकोत्तर मै भागेर दिवा कार्यक्रम सञ्चालन गर्ने तय भयो । स्वबियू चुनाव अर्थहिन भै सकेको थियो ।

निर्भिक,निष्पक्ष ,निडर,स्वाभिमानी,इमानदार,शैक्षिक व्यवस्थापक तथा पूर्व क्याम्पस प्रमुख एवं सहायक डिन गोविन्द प्रसादउपाध्यायको शैक्षिक प्रशासनको यात्रामा अवरोध पु¥याउने उक्त ‘फणिन्द्र घटना’लाई नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजबादका विश्व चर्चित अभियन्ता तथा नेपाली काँग्रेसका नेता वीपी कोइरलाले‘उत्पात,काण्ड’ को संज्ञा दिनु भएको थियो । उहाँले भन्नु भएको थियो– ‘हामीलाई थाहा छ ,कसले गोली चलाएको भनेर । सरकारलाई थाहा छ र हामीहरुलाई थाहा छ ,कसको संरक्षणमा त्यो भएको छ । अनि दोष लागिरहेको छ बिजय गच्छदारलाई । .सवैलाई थाहा छ ,कसले हानेको हो त्यो गोली भनेर । कसको पिस्तोल हो,त्यो पनि थाहा छ । पुलिसको जिम्मामा र अञ्चलाधीशको जिम्मामा त्यो पिस्तोल छ र हान्ने मान्छे उनीहरुलाई थाहा छ ।’ (‘राजा,राष्ट्रीयता र राजनीति ’बाट)

चितवनको बिद्यार्थीको घटना सम्झिएर बामपन्थीहरु वीपीको उपरोक्त भनाईसँग सहमत हुन नसकेको तथा वीपीलाई कार्यकर्ताले फणिन्द्र घटनाको गलत व्याख्या प्रस्तुत गरेको चर्चा पनि नसुनिएको होइन । पाँच–छ सय भन्दा बढीको बामपन्थी समर्थक विद्यार्थीको भीड छिचल्दै पच्चीस–तीस जना नेविसंघका विद्यार्थी क्याम्पस प्रमुखको कार्यकक्षतिर लाग्नुले उनीहरुको शारीरिक भन्दा सशस्त्र बल बढी थियो भन्ने अखिलपक्षधर एवं बामपन्थीहरुको बिश्लेषणात्मक चर्चा पनि वीपीको उपरोक्त भनाई आएपछि सुनिएको थियो ।

उमेश गीरी–किरण केशी–सुनिल दाहालसँग लेखक ।

काँग्रेसले जनमत संग्रहको परिणाम स्वीकार गरेपछि सूर्यबहादुर थापाले सम्हालेको पञ्चायति कमाण्ड र नेपाली काँग्रेसबीच अघोषित साँठगाँठ भयो र बामपन्थी प्रति पञ्चायत कठोर भएकाले पञ्च–काँग्रेसको मिलिभगतमा नै उक्त घटना घटेको भनेर बामपन्थीहरुको आफ्नै खाले विश्लेषणका चर्चा सुनिए । काँग्रेसहरु चाहिँ बामपन्थीहरु बाहिर ‘पञ्च –काँग्रेस गठबन्धन मुर्दाबाद’ भनेर पर्खालमा लेख्दै सडकमा नाराबाजी गर्छन,भित्रभित्र पञ्चहरुसँग मिलिभगत गर्छन भनेर उल्टै उक्त घटनाको पृष्ठभूमि सिर्जना गर्न मुख्य जिम्मेबार नै कम्युनिष्ट एवं अखिलहरुं भएको बताउँथे । आफुहरु निर्दोष भएको भन्ने आ–आफ्नो अनुकुलको एकोहोरो जिकिरका हल्ला–चर्चा परिचर्चा–आरोप प्रत्यारोप सुनिए पनि त्यो कहालिलाग्दो घटना अझै रहस्यको गर्भ भित्रै थन्किएको जस्तो लाग्छ ।

(जगदीशराज बराल,२०७८ । स्वभिमान नझुकाई ढलेको त्रिविविको पूर्वेली खम्बा । स्वभीमान डटकम । २० पुस बि.सं.२०७८)

(स्वतन्त्र लेखनमा संलग्नन लेखक नेपाल सरकारका पूर्व महानिर्दैशक हुन ) ।

प्रतिक्रिया