एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाइएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको हो ।

जेठ १० गते माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको आरोप एमाले अध्यक्ष ओलीमाथि लगाइएको भन्दै एमालेले बैठक अवरोध गरेपछि २० मिनेटको लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल समेत रहेकाे नेकपा एमालेका सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको हाे ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताए ।

पशुपतिनाथको जलहरी सुन हो कि पित्तल हो भनी छानबिन गरी सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने उनले बताए । यसैगरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताए ।

सत्तापक्षका सांसदले आफूहरुलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न उनले माग गरे ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रिया अनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । सभामुखले आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उनले २० मिनेटका लागि बैठक स्थगित भएको बताए ।

प्रतिक्रिया