धनगढी । सरकार गठन भएको लामो समयपछि सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् ।
मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्री,सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)बाट झपट साउदलाई सामाजिक विकास मन्त्री,रमेशसिंह धामीलाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री र गीतादेवी माललाई उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
कांग्रेसका सिंह बझाङ्ग ‘क’बाट,माओवादी केन्द्रका साउद अछाम–१ ‘ख’,धामी कैलाली–५ (क)बाट र माल समानुपातिकबाट निर्वाचित भएकी थिइन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट र राज्यमन्त्रीले मुख्यमन्त्री शाहबाट शनिबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
अर्को सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा सरकारमा सहभागी भएन । उन्मुक्तिले दुईवटा मन्त्रालयको दावी गर्दै आएको थियो । भागबन्डामा भूमि,व्यवस्था,कृषी तथा सहकारी मन्त्रालय मात्रै पाउने भएपछि नागरिक उन्मुक्ति मन्त्री मण्डलमा सहभागी भएन ।
सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति नहुँदा ३ महिनादेखि सरकार विस्तार हुन सकेको थिएन् । गत पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो । त्यसपछि माघ २६ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने माघ २७ गते पद तथा गोपनियताको सपथ लिएका थिए ।
२७ माघमै कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका गरेका थिए । अझै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्रीसँगै रहेको छ ।
कैलाली
प्रतिक्रिया