संघीय शिक्षा ऐन चालु अधिवेशनमै संसद्‌मा प्रस्तुत हुन्छ : मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‌मा प्रस्तुत गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताए ।

उनले पहिला पनि मस्यौदा तयार भई मन्त्रिपरिषद्‌मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए ।

‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको हो तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रिपरिषसद्‌मा पुग्दै फिर्ता आउने गरेको रहेछ,’ उनले भने, ‘अब त्यसलाई संसद्‌मा प्रस्तुत गर्नेछौँ ।’

उनले कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने उनको भनाइ छ । मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको बताए ।

प्रतिक्रिया