परिचित वत्सगोपाल

देवेन्द्र थुम्केली

नेपाली समसामयिक चित्रकला क्षेत्रमा कलाकार वत्सगोपाल वैद्य चर्चित नाम हो । नेपाली आधुनिक कलालाई अगाडि बढाउन कलाकार वैद्यले महत्वपूर्ण योगदान दिएका छन् । कलाकार वैद्यलाई समीक्षक तथा कलापारखीले उच्च मूल्यांकन गरेको पाइन्छ । पन्ध्र वर्षको उमेरदेखि नेपाली कलाक्षेत्रमाा लागेका कलाकार उनले नेपाली कलाको श्रीवृद्धिका लागि व्यक्तिगत तथा विभिन्न समूह, संघ संस्थामा रही महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली कलामा मौलिक बिम्बलाई घनिभूत रुमपा उठाएका वैद्यले धर्म, संस्कृति र सम्पदालाई क्यानभासमा उतार्न सफल छन् । प्रतीकात्मक ढंगले नेपाली स्वदेशी बिम्बमार्फत वैद्यले आफ्नो कलामा छुट्टै पहिचानसमेत बनाउन सफल छन् ।

नेपाली आधुनिक कलामा अर्धमूर्त शैलीमा कला रचना गर्दै आएका वैद्यले सांस्कृतिक सम्पदालाई कलामा उतारेको पाइन्छ । विसं. २०२७ सालमा बम्बईबाट कलामा डिप्लोमा गरी काठमाडौं फर्किएका कलाकार वैद्य ‘स्काइव ७१’ मा रही सक्रिय काम गरे । विसं. २०२८ सालमा स्थापना गरिएको स्काइव ७१ मा शशीविक्रम शाह, कृष्ण मानन्धर, इन्द्रप्रधान र वत्सगोपाल वैद्य थिए । स्काइव ७१ भनेको चारजना कलाकारको एक कलासम्बन्धी समूह हो । जसमार्फत थुप्रै कला प्रदर्शनी काठमाडौंलगायतका अन्य ठाउँमा भएका छन् ।

कलाकार वत्सगोपाल वैद्य

उनको जन्म विसं. २००३ सालमा सौगल पाटनमा भएको हो । कृष्णगोपाल वैद्य र पूर्णमाया वैद्यका सुपुत्र वत्सगोपालले सानै उमेरदेखि कलामा रुचि राखे । उनका बुबा एक नामी वैद्य थिए । आफ्नो पुख्यौली पेशा छोडेर यस क्षेत्रमा होमिएका कलाकार वत्सगोपालले सुरुमा केही अप्ठ्यारा दिन बिताउनु परेको थियो । जेजस्ता अप्ठ्यारा ती दिन भए तापनि उनले तिनलाई चिर्दै अगाडि बढे फलतः एक सफल कलाकारको रुपमा उनी नेपाल तथा विश्वका अन्य मुलुकमा चिनिन सफल भएका छन् ।

बम्बईमै रहँदा उनले १९६८–७० सम्म प्रिन्टमेकिङमा स्पेसल कोर्षसमेत अध्ययन गरेर नेपाल फर्किएका उनले लामो समयमा नेपाल सरकारको मुद्रण विभागमा जागिरे जीवन बिताए । त्यसपछि वैद्यले त्यसपछि शिक्षण पेशा अँगाले । कलाकार वत्सगोपालले २०२७ सालमा नाफा आर्ट ग्यालरीमा प्रथम एकल व्यक्ति चित्र प्रदर्शनी गरे ।

उनले दोस्रो, तेस्रो र चौथो एकल प्रदर्शनी क्रमशः सन् १९८९, १९९१ र १९९२ मा जे आर्ट ग्यालरीमा गरे । त्यसैगरी उनले सन् २००१ मा सिद्धार्थ आर्ट ग्यालरीमा पाँचौ एकल प्रदर्शनी गरे । सन् १९९३ र १९९७ मा सिर्जना कन्टेम्पोरेरी आर्ट ग्यालरीमा दुई व्यक्ति कला प्रदशनीमा सहभागी भए । उनले छ दर्जनभन्दा बढी सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् । राष्ट्रिय कला प्रदर्शनीमा समेत बेला बेलामा सहभागी हुँदै आएका वैद्यले विश्वका थुप्रै मुलुकमा आफ्ना कलाकृति पु¥याएका छन् । कलाकार वैद्यले २०२७ सालदेखि कलामार्फत खोजी गरिरहेका विषय नै मानवीय संवेदनामा धर्म, संस्कृति तथा पुरातात्विक महत्व राख्ने विषय हुन । रङ संयोजन, विषय संयोजन र त्यसको दर्शन पनि बेग्लै रुपमा बुझ्न सकिन्छ । सांस्कृतिक सम्पदाको कलात्मक प्रस्तुति दिन सफल कलाकार वैद्यका केही कलाकृतिमा

(क) धर्मसँग सम्बन्धी चित्र

१. महाभारत १९७३

२. कालरात्री

३. भैरव

४. गणेशका थुप्रै

५. तन्त्रसम्बन्धी कलाकृति

(ख) संस्कारसम्बन्धी चित्र

१. अष्टमंगलका प्रतीक प्रयोग गरी बनाइएका चित्र

(ग) संरचनागत चित्र

१. क्रिएसन शीर्षकका कलाकृति

वत्सगोपालका कलाका विषय र काल विभाजन

वत्सगोपालले नेपाली कला क्षेत्रमा सिर्जनात्मक अभिव्यक्तिमार्पmत आफ्नो पहिचान बनाएका छन् । विगत चार दशकदेखि कला क्षेत्रमा लागेका कलाकार वैद्यका कलाकृतिको विषयानुसार कालखण्ड निम्नानुसार गरिएका छन् ।

क. तान्त्रिक विषय (१९७०–१०८० सम्म)

ख. धार्मिक÷पौराणिक विषय (१९८०–१९९०)

ग. पुरातात्विक विषय (१९८८–हालसम्म )

घ. प्राकृतिक विषय (१९८८–हालसम्म )

क. तान्त्रिक विषय

तन्त्रका सिम्बोल (प्रतीक) लाई लिएर कलाकार वैद्यले सन् १९७०÷१९७१ मा एकल चित्रकला प्रदर्शनी गरेका थिए । यो विषयमा १९८१ सम्म काम गरेको कुरा वैद्य बताउँछन् ।

ख. धार्मिक÷पौराणिक विषय

धर्म र पुराणका विषयमा वैद्यले थुप्रै कलाकृति बनाएका छन् । रामायण र महाभारतका विषयलाई बिम्वका रूपमा लिएर बनाइएका चित्रको प्रदर्शनीसमेत वैद्यले गरेका छन् । सन् १९८० ताका उनले पौराणिक विषयमा काम गरे । साथसाथै मिक्स विषयमा समेत कला प्रदर्शनी गरे । उनले धर्मसँग सम्बन्धित गणेश श्रृंखलाका चित्रहरू सन् १९९० देखि हालसम्म पनि बनाइरहेका छन् ।

ग. पुरातात्विक विषय

यस विषयमा कलाकार वैद्यले थुपै्र काम गरेका छन् । उनले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा, धरोहर, मठमन्दिर, दरवार, महल, विहार, चैत्य, स्तूपा, मूर्तिहरू तथा सांस्कृतिक विषयलाई बिम्बात्मक रूपमा चित्रमा उतारेका छन् । सन् १९८८ देखि पुरातत्वसँग सम्बन्धित चित्र बनाउँदै आएका कलाकार वैद्यले ती चित्रमा गणेशलाई कुनै न कुनै रूपमा राखेको पाइन्छ ।

घ. प्राकृतिक सम्पदा

यो विषयलाई पनि कलाकार वैद्यले १९८० को दशकदेखि पुरातात्विक विषयका कलामा सम्ट्दै आएका छन् । पुरातात्विक तथा प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धनविना नेपाली कला र सम्पदा रहन सक्दैन भन्ने भावना राख्ने कलाकार वैद्यले लिच्छवीकालीन र मल्लकालीन अज्ञात कलाकारको कलाकारी क्षमताबाट प्रभावित छन् ।

प्रतिक्रिया