लुम्बिनी सम्पदा क्षेत्रमा प्रयोग गर्न लक्ष्मी बैंकले दियाे दुई थान विद्युतीय सवारी

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । उक्त सवारीसाधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राका लागि प्रयोग हुनेछ। आउँदो बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरु प्रदान गरिएको हो ।

आज लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच उक्त विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्वअध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गरे।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

लक्ष्मी केयर्सले गत २०७९ चैत्र १८ गते काठमाण्डौमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सांगीतिक कार्यक्रममा संकलित रकमबाट उपरोक्त विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो। लक्ष्मी बैंकले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

लक्ष्मी केयर्सले नवीकरणीय ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा बालिका शिक्षा कार्यक्रमलगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। विगतमा लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार क्षेत्र, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर परिसरलगायतका स्थानहरुमा सौर्यबत्ती जडान गर्नुका साथै विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा देशभर विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया