धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा आधारभूत तह (कक्षा ८) को परीक्षामा सामुदायिक विद्यालयको नतिजा निकै कमजोर देखिएको छ ।
शैक्षिक सत्र २०७९ को अधारभूत तह (कक्षा ८) को परीक्षाको प्रारम्भिक नतिजामा उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयका ९ दशमलव १८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
सामुदायिक विद्यालयका २ हजार ५२८ जना परीक्षामा सम्मिलित रहेकोमा प्रारम्भिक नतिजामा जम्मा २३२ जना विद्यार्थीमात्रै उत्तीर्ण भएको उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए ।
संस्थागत विद्यालयका भने २ हजार ११० परीक्षार्थी मध्ये १ हजार २७१ जना उत्तीर्ण भएका उनले बताए । संस्थागत विद्यालयतर्फ ६० दशमलव २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
अधारभूत तह (कक्षा ८) को परीक्षाको प्रारम्भिक नतिजामा १८ विद्यालयको नतिजा शून्य भएको छ । उपमहानगरभित्रका १७ सामुदायिक र १ संस्थागत गरी १८ विद्यालयका कुनै पनि विद्यार्थी उत्तीर्ण नभएको उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शून्य नतिजा भएका समुदायिक विद्यालय धनगढी–१ मा रहेको सरस्वती आधारभुत विद्यालय,वडा नं. १३ मा रहेको नवज्योति आधारभूत विद्यालय,जनता राष्ट्रिय माध्यमिक विद्यालय,वडा नं. ६ मा रहेको भैरवबाबा आधारभूत विद्यालय,वडा नं. ९ मा रहेको सरस्वती आधारभूत विद्यालय रहेका छन् ।
त्यस्तै वडा नं. ७ मा रहेको शिव माध्यमिक विद्यालय,वडा नं. १७ मा रहेको भानु माध्यमिक विद्यालय,सज्जन आधारभूत विद्यालय, वडा नं. १६ स्थित दीपेन्द्र चारपाते मावि,वडा नं. १४ स्थित शिवशंकर आधारभूत विद्यालय,सिद्धार्थ आधारभूत विद्यालय,वडा नं. १८ को खप्तडी आधारभूत विद्यालय र इन्द्रोदय आधारभूत विद्यालयका कुनैपनि विद्यार्थी उत्तीर्ण भएनन् ।
त्यस्तै वडा नं. १९ मा रहेको फूलवारी आधारभूत विद्यालय,वडा नं. १२ स्थित नवदुर्गा आधारभूत विद्यालय,दुर्गा आधारभूत विद्यालय र वडा नं. १० स्थित जनकल्याण माध्यमिक विद्यालयको नतिजा शून्य आएको उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
त्यस्तै संस्थागत विद्यालय अन्तरगत वडा नं. ३ स्थित मोडर्न स्कुलको नतिजा शून्य आएको जनाइएको छ । पूर्ण समय पठनपाठन नहुनु,साधन स्रोतका कमी हुनुलगायतका कारण सामुदायिक विद्यालयको कमजोर नतिजा आएको महाशाखा प्रमुख खातीले बताए ।
‘जति दिन पढाइ हुने भनिएको छ त्यो पूरा समय पढाइ हुनु पर्यो, शिक्षकले पनि कक्षामा तोकिएको पूरा समय पढाउनु पर्यो’, उनले भने, ‘विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री साुमदायिक विद्यालयका अभिभावकले हत्तपत्त उपलब्ध गराउँदैन ।’
बैशाख २९ र ३० गते बढीमा २ सैद्धान्तिक विषयमा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड बृद्धि परीक्षा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।
कैलाली
प्रतिक्रिया