सवारी साधनलाई विलाशीताको सूचीबाट हटाउन नाडाको माग

काठमाडौं । नाडा अटोमोवाईल्स एसोसिएसन नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ । आइतबार नाडाका अध्यक्ष थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको हो ।

छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरे । सोही क्रममा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे । त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए ।

सो छलफलको क्रममा मन्त्री महतले आफु धेरै अपठ्यारो परिस्थितिमा आएको बताउदै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ ? त्यसबारे आउदो बजेट सुझावमा समावेशगरी पठाई दिन आग्रह गर्दे त्यसको समुचित समाधानका लागि प्रयाश गरिने आश्वासन दिए ।

प्रतिक्रिया