नियम विपरित काम गर्ने सहकारीलाई कारबाहीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियम विपरित काम गरेका सहकारीलाई कारबाही गर्न निर्देशन दिएका छन । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन । राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपुर्ण भूमीका खेले पनि पछिल्लो समय यसको काम कारवाहीमा केही प्रश्न उठिरहेका बताउँदै उनले अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको पनि बताए । ‘सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलपलल गरेर निश्कर्ष निकाल्नु पर्छ,’ उनले भने, ‘आम नागरिक समेत प्रभावित छन् । सहकारी क्षेत्र पनि समस्यामा छन्, यस चुनौतिपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निश्कर्ष निकाल्नु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताए । उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताएका हुन । तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतलाई संस्थागत गर्नका लागि चाल्नु पर्ने कदम र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा हुनेमा पनि उनले जोड दिए । ‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ, विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निश्कर्ष निकालिनेछ, सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, सहकारीको योगदान र आगामी दिनहरुमा सहकारीलाई कुन गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ’ उनले भने ।

प्रतिक्रिया