बैतडीमा जिप दुर्घटना, एकको मृत्यु दुई बालक सहित १४ जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सोमबार बिहान ११ बजे देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ तिलकपुर भीटा भन्ने स्थानमा भएको जिप दुर्घटनामा परी सोही गाउँपालिका ५ मस्नेटाका ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो । गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

सो जिप दुर्घटनामा परी दुइ बालक सहीत १४ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । घाइते मध्ये पञ्चेश्वर गाउँपालिका– ६ की २३ बर्षिय कुन्ती भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको छात्ती र दाहीने खुट्टामा चोट लागेको छ ।

यस्तै अन्य घाइते हुनेमा सोही गाउँपालिका ६ रोडीका ६९ बर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका ५ मस्नेटाका ३३ बर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ बर्षीय गोकुलदत्त भट्ट, ३३ बर्षीय रामप्रसाद भट्ट,६२ बर्षीया जसुदेवी भट्ट, ४ बर्षीय मोहित भट्ट,३५ बर्षीया मीना भट्ट, ३३ बर्षीय राजेन्द्र भट्ट,२८ बर्षीया तुलसी भट्ट,३४ बर्षीय केशव भट्ट, ५५ बर्षीया ललिता भट्ट र ३ बर्षीय रोशन भट्ट रहेका प्रहरी निरीक्षक खत्रीले बताए ।

यस्तै पञ्चेश्वर गाउँपालिका ६ सेलीका २२ बर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् । जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । ब्रेक फेल भइ जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया