किशुनजी आश्रममा पुगेर खड्काले भने, ‘मेरोसमेत सहमतिमा महतलाई अर्थमन्त्री बनाइएको हो’

काठमाडौं । नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाहिर जेजस्तो हल्ला चले पनि आफ्नोसमेत सहमतिमा प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाइएको बताएका छन् ।

उपप्रधान तथा रक्षामन्त्रीको शपथ खाएको भोलिपल्ट शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेका खड्काले पत्रकारहरूसँग बाहिर सुनिएजस्तो महतलाई अर्थमन्त्री बनाउने विषयमा आफ्नो कुनै विमति नरहेको बताएका हुन् ।

‘अर्थ मन्त्रालयमा सभापतिले निर्णय गर्नुभयो, मेरोसमेत सहमतिमा, कहीँ पनि प्रकाशजी, मेरो र सभापतिबीच कुनै विमति छैन’, कांग्रेस उपसभापतिसमेत रहेका रक्षामन्त्री खड्काले भने, ‘बाहिर धेरै कुराहरू आए। म प्रस्टसँग भन्न चाहन्छु– मेरोसमेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ, त्यसमा मेरो सम्पूर्ण रूपमा सहमति छ ।’

अर्थ मन्त्रालयको टुंगो लगाइसकेपछि १९ वटा मन्त्रालय बाँकी छन् कुन रोज्नुहुन्छ भनेर पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई सोधेको उनले बताए। ‘यो भन्दा सौभाग्यको कुरा अरु के हुन्छ ?’

प्रतिक्रिया