धर्म र शास्त्र

मोहनप्रसाद सापकोटा

‘फलानाले सप्ताह लगायो, हामीले पनि लगाउनुपर्ने’, ‘फलानो ठाउँमा फलानालाई सप्ताह भन्न लगाएर यति रकम उठाए, हामीले पनि फलानालाई बोलाएर सप्ताह भन्न लगाउँ’, ‘यति चन्दा दिए भित्तामा नाम लेखिन्छ’, त्यसले त्यहाँ त्यत्रो गुम्बा बनायो, अब हामीले यहाँ त्यत्रै मन्दिर, मस्जिद वा चर्च बनाउनु पर्दछ … आदि आदि । धर्म र शास्त्रको अर्थ अब यसरी नै रूपान्तरण भइरहेका छन् । 

धर्म र शास्त्र कसैलाई धन लुकाउने, कसैलाई धन कमाउने, कसैलाई पेसा लुकाउने त कसैलाई सम्मृद्धि गर्ने माध्यम बनिरहेको छ । अनि कोही कोही यसैका निहुँमा मगन्ते पनि बनेका छन् । यस्ता धर्मकर्ममार्फत गृहस्थीबाट आफ्नो गृहस्थ जीवनमा जे कुरा ग्रहण गर्नुपर्ने हो त्यो ग्रहण गरिन्न र जे कुरा ग्रहण गरिनु नपर्ने हो त्यो कुरा ग्रहण गरिन्छ । सप्ताह सुनेर सुध्रने व्यक्ति सयमा पाँच जना पनि हुँदैनन् । कुनै सम्प्रदाय वा गुरु विशेषको अनुयायी हुनु नै धर्म गर्नु वा शास्त्र मान्नु होइन । म गलत हुन पनि सक्दछु तर सप्ताह सुन्ने, भन्ने आदि जस्ता कर्म इन्द्रिय सुखका लागि नै बढी हुन थालेका छन् । यदि यसो नहुँदो हो त यस्ता धर्मकर्मको समारात्मक असर परिवार र समाजमा देखिनु पर्दथ्यो, जुन अत्यन्त कम देखिएको छ ।

‘शास्त्र’ का अनेकौँ अर्थ दिइएका छन् । व्याख्या र मन्थन भएका छन् । आखिर के हो त शास्त्र ? सबै धर्ममा शास्त्र हुन्छन् र ती सबै शास्त्रको प्रमुख उद्देश्य शान्त समाजलाई निरन्तरता दिनु हो । मृत्युपछिका कुरा कुनै धर्मले मान्दछ त कुनै धर्मले मान्दैन । समाज अशान्त कसरी बन्दछ त ? मानिसमा आँखा, कान, जिभ्रो, जननेन्द्रिय आदि आफ्ना इन्द्रियले भोग गर्ने लालसा नियन्त्रण गर्ने क्षमता भएन भने मानिस अशान्त हुन्छ । यही लालसा पूरा गर्न ऊ अरूको शान्त जीवनलाई आक्रमण गर्न थाल्दछ । इन्द्रिय भोगको कुनै सीमा हुँदैन, कुनै पनि इन्द्रियले पृथ्वीभरीका कुरा उपभोग गरे पनि ‘भो अब मलाई पुग्यो’ भन्दैन । व्यक्ति अशान्त भएपछि परिवार अशान्त हुन्छ र परिवार अशान्त भएपछि समाज अशान्त हुन्छ ।

यसै भएर शास्त्रको अर्थ दिँदै लेखियो ‘इन्द्रियाणां प्रशमं शास्त्रम्’ अर्थात् आफ्ना इन्द्रियलाई शान्त पार्ने वा चित्त बुझाउने वा नियन्त्रण गर्ने जुन शक्ति हो त्यो भनेकै शास्त्र हो । सन्यासी जस्तो गृहस्थ बनाउनु वा गृहस्थ जस्तो सन्यासी बनाउनु शास्त्रको उद्देश्य होइन । इन्द्रियलाई शान्त पार्न नसकिए के हुन्छ त ? यसबारेमा आयुर्वेदमा दुई वटा कुरा उल्लेख भएका पाइन्छन् । पहिलो कुरा इन्द्रियले जे जे भन्दछ त्यही त्यही पूरा गर्दै गए मानिस रोगी हुन्छ । अर्को इन्द्रिय–सुख असीमित हुने हुँदा सीमित कुराले मागअनुसार आपूर्ति गर्न सक्दैन र अपराध बढ्दछ ।

सबैधर्ममा शास्त्रको मूल मर्मलाई ओझेलमा पार्दै कमाइ खाने भाँडो बनाउने जुन चलन चलेको छ, यसले यसलोक र परलोक दुबैमा कुनै लाभ हुँदैन, इन्द्रिय सुखजन्य शान्तिको भ्रम मात्र बढ्दछ । इन्द्रिय सुख मात्र मानव समाजको शान्ति र स्वस्थताको मापदण्ड कहिल्यै हुन सक्दैन । कहिल्यै हुन सक्दैन । 

‘फलानो वा फलानी त क्या धर्मात्मा बाइ । फलानो त मन्दिर धाउँदछ वा फलानी त मन्दिर धाएको धायै गर्दछे ।  ऊ त तीर्थ गएको गयै गर्दछ । उनी त व्रत बसेको बस्यै गर्दछन् । उसले कति दान दिएको बा बा । फलानाले त सप्ताह वा नवाह लगायो, मैले वा हामीले किन नलगाउने ?’
सामान्यतः हाम्रा धर्मकर्मका आधार यस्तै देखासिकी हुने गर्दछन् । गर्दै नगर्नु भन्दा त यसरी धर्मकर्म गर्नु सही हो तर अपेक्षित फल भने यसरी गरिने धर्मकर्मले पाइन्न । यसरी गरिने धर्मकर्म चलाख पण्डितका लागि धन आर्जन गर्ने पेसा मात्र हुन पुग्दछन् । 


शक्ति

मानिसहरू शक्तिको अपव्याख्या वा अतिव्याख्या गरिरहेका देखिन्छन् । शक्तिलाई एउटा मुख, कान सहितको आकार बनाई कोही त्यही बेचेर बाँचिरहेका त कोही त्यसैमा अरू कुनै जीवको बलि चढाएर रमाइलो गरिरहेका र जिभ्रोको स्वाद फेरिरहेका हुन्छन् । शास्त्रमा शक्तिको अभूतपूर्व किसिमको व्याख्या गरिएको पाइन्छ । म यतिखेर सत्ताले वा पदले दिएको शक्तिको सदुपयोग वा दुरुपयोग गर्ने देशीविदेशी धेरै पात्रहरूलाई सम्झिरहेको छु । यी सत्ताको स्वभावजन्य उन्मादलाई नै शक्ति मानिरहेका हुन्छन्, जुन भ्रम मात्र हो । 

शक्तिको वास्तविक परिभाषा अत्यन्त रहस्यपूर्ण र विशाल छ । के हुन्छ शक्ति नहुँदा ? भनिएको छ कि शक्ति नभए सूर्य चम्कन छोड्दछ, पृथ्वीमा वायु चल्न (अक्सिजन) बन्द हुन्छ, मानिस आदि सबै जीव जड हुन्छन् वा मर्दछन्, रुखविरुवाको अस्तित्व समाप्त हुन्छ । अरू के कुरा गर्नु ब्रह्माण्ड नै पूरै अचल हुन पुग्दछ । जे दृश्य वा अदृश्य तत्वले जसलाई वा जेलाई जुन प्रयोजनका लागि जे गर्न ऊर्जा प्रदान गरिरहेको हुन्छ, हो त्यही नै शक्ति हो, त्यही शक्ति भनेकै देवी हो । 

महिषासुरसँग लडिरहेका ब्रह्मा, विष्णु र महेश्वर जब उसँग हार्दछन् तब त्यहाँ त्रिदेवका बीचमा विचार विमर्श हुन्छ । पराजयको कारण केलाइन्छ र निष्कर्ष निकालिन्छ–शक्तिको क्षय वा अवहेलना वा न्यून महत्वका कारण नै सर्वशक्तिमान् भनिएका हामी त्रिदेव महिषासुरसँग हार्न पुग्यौँ । शिवको शक्ति शिवा हुन्, विष्णुको शक्ति लक्ष्मी हुन् भने ब्रह्माको शक्ति सरस्वती हुन् । भुवनेश्वरी माताले यी त्रिदेव लगायतका सबैलाई, सृष्टिको क्रम अगाडि बढाउनका निमित्त विभिन्न नाम दिई, प्रकृतिको अद्भूत र अज्ञेय अंशलाई नारी पात्र बनाई प्रदान गरेको वर्णन आउँछ । सर्वशक्तिमान्हरूबाट शक्ति झिकेपछि सर्वमान् मात्र बाँकी रहन पुगेछ । वास्तविक शक्तिलाई पन्छाएर आफैँ नै सर्व शक्तिमान् हुन खोज्दा त्रिदेव समेत नराम्ररी पराजित हुन पुगे भने अरू भुसुनाहरूको के कुरा गराइ भो र ? शास्त्रहरूमा सुरुको शक्तिरहित अवस्थाको संसारको सृष्टिको अचम्मसँग बेलिविस्तार गरिएको छ । शक्तिको अंशलाई त्रिदेवदेखि कीटपतंग र बोटविरुवासम्ममा बाँडिएपछि मात्र ब्रह्माण्डका हरेक जीवको जीवनले आजसम्म निरन्तरता पाएको हो भनिएको छ । 

त्यसैले हरेक जीव र वनस्पतिले गर्भ रहनु अघिदेखि नै भविष्यमा जन्मिने कुनै जीव वा वनस्पतिले शक्तिको दुरुपयोग नगरुन् भनेर विशेष ध्यान दिनुपर्दछ भनेर सजग गराइएको छ । कृत्रिम क्लोनिङ, कलमी र वर्णशंकरतालाई अपराध भनिएको छ र यसले समाजको वा वातावरणको आयुलाई अप्रत्यासितरूपमा घटाउँछ भनिएको छ । यसरी उत्पादन हुने कुनै पनि जीव वा वनस्पतिले प्रकृति (शक्ति)को बदलिँदो अवस्थालाई लामोसमय झेल्न सक्दैनन् त्यसैले प्राकृतिकरूपले हुने क्लोनिङ, कलमी र वर्णशंकरतालाई दैवी, दानवीय वा मानवीय प्रयत्नले रोक्न नखोजियोस् भनिएको छ । मानिसले हस्तक्षेप गरेर उब्जाउने वा उत्पादन गर्ने कुनै पनि खाद्यान्न वा वस्तुमा मानवीय हीतका लागि आवश्यक पर्ने प्राकृतिक गुण हुन्न भनिएको छ ।

व्याख्याकारहरूले यस्लाई अझ स्पष्ट पार्दै भनेका छन् कि टुटेको वंशलाई जबरजस्ती तन्काउन खोज्दा महाभारत युद्धको गतिलो आधारशिला तयार भइसकेको थियो । यस्तै अनेकौँ चरम उत्कर्षका सामाजिक एवं भौतिक उपलब्धीका उदाहरण दिँदै भनिएको छ कि जबजब वास्तविक शक्तिलाई दयाले पाउनेहरू आफूलाई नै शक्तिको श्रोत सम्झन थाल्दछन् तबका केही दशक वा शतकपछि वास्तविक शक्तिले शक्ति देखाउनेछ र सबै शक्तिका भ्रमहरूको अस्तित्व समाप्त हुनेछ । पृथ्वीको चरम शोषण गरी पृथ्वीकै वातावरण बिगार्नेहरूलाई दानवको पगरी गुथाइएको छ र ती कसैको पनि शासनलाई एक सीमाभन्दा पछि निरन्तरता हुन दिइएको छैन । जतिसुकै शक्तिसम्पन्न वा धर्मात्मा भए पनि यस्ता दानव, मानव वा देवताकोे मतलाई, तिनको देहान्तपछि लोकले समेत निरन्तरता दिएका उदाहरण छैनन् । पृथ्वीको चरम दोहनपछि प्राकृतिक स्रोतहरूको पुनर्बहाली हुनका लागि, जीवको अस्तित्व समाप्त नहुने किसिमले हुने प्राकृतिक उथलपुथललाई शास्त्रहरूले खण्डप्रलयको नाम दिएका छन् ।

जीवन हुनेहरूको गलत प्रवृत्तिले गर्दा पृथ्वीको अत्यधिक दोहन हुनेछ र पृथ्वीले यो दोहन उच्च बिन्दुमा पुगेपछि ती सबैलाई नासी पुनः सृष्टि गर्न थालिनेछ । आधुनिक पर्यावरणविद्, खगोलशास्त्री एवं वैज्ञानिकहरूले पनि पृथ्वीको आयु सोचेजति हुन नसक्ने देखिएको छ भन्न थालेका छन् । शक्तिको व्याख्या गर्दा अन्तमा भनिएको छ जब ग्रह, नक्षत्र र ताराहरूले धर्म छाड्ने छन् (यिनको गुरुत्वाकर्षण शक्तिमा तलमाथि हुन्छ) तब पूरै ब्रह्माण्ड एक निमेषमा समाप्त हुन्छ र यही समाप्तीलाई हाम्रा शास्त्रले महाप्रलयको संज्ञा दिएका छन् । सबभन्दा बढी गुरुत्वाकर्षण भएको कुनै क्षेत्रले यी सबैलाई आफूमा आकर्षण गराई यी सबैको छुट्टै अस्तित्व समाप्त पारिदिनेछ । यही परम शक्तिशाली क्षेत्र, वस्तु वा स्थान विशेषलाई शास्त्रहरूले परमेश्वर वा परमेश्वरीको दिव्य धाम भनिरहेका छन् । महाप्रलयमा जुन संसारको स्वरूप हुन्छ त्यो कालो मात्र हुन्छ, यति कालो हुन्छ कि त्यो कालोको कुनै पनि अरू कालोसँग तुलना नै गर्न सकिन्न भनिएको छ र त्यही कालो शक्तिलाई महाकाली र त्यो समयको अन्धकारलाई कालरात्री भनिएको छ । यसरी महाप्रलय हुँदा सबै देवता, सबै ग्रह, नक्षत्र, तारा उनै महाकालमा (सायद ब्ल्याकहोल) बिलीन हुन्छन् भनिएको छ । यो लेख लेख्न पनि त मलाई शक्ति नभई भएको छैन । म त्यो सर्वव्यापक, अदृश्य तर अपरिहार्य शक्तिलाई सदैव नमस्कार गर्दछु ।


यज्ञ वा होम

सामान्यतः वेदका मन्त्र उच्चारण गर्दै विधिपूर्वक आगोमा केही होम्नुलाई यज्ञ गर्नु भनिन्छ । मानिसका हकमा हरेक त्रेतायुगलाई यज्ञ–प्रधान युग भनी बताइएको छ । मानिसले गर्ने विविध प्रकारका यज्ञहरूका बारेमा लेखिएका कुराले वेददेखि पुराणहरूसम्म भरिएका छन् । 

तर, मानिसले गर्दै नगरे पनि यज्ञ भने स्वतः भइरहेको हुन्छ किन कि यज्ञ भएन भने संसार ध्वस्त हुन्छ । हावामा मिसिएर रहेका ओमकार र वेदका ऋचामार्पmत आगो र यसका अनेक रूपमा विभिन्न चल अचल कुरा स्वतः होम भइरहेका हुन्छन् । नाम फरक हुन्छ, प्रकृत्ति र प्रवृत्ति फरक हुन्छ तर होम चलिरहेको हुन्छ । उदाहरणका लागि हामी खाना खाने कुरा गर्दछौँ । तर, वास्तविक रूपमा त्यो पनि होम नै हो । शरीरभित्र रहेको अग्निलाई होम गर्नु भनेको नै खानुपिउनु हो । शरीरभित्र रहेको अग्निले बाल्ने अरू कुरा पाएन भने जीवको शरीरलाई नै बाल्न थाल्दछ । यसैले शरीर जोगाउनका लागि जीव जानेर वा अनजानमा केही खाएर वा पिएर अग्निलाई थुमथुम्याउने गर्दछ ।

पुराणहरूमा मानव लगायतका जीवको प्रतिकूल हुने वातावरणलाई लक्षण, कुलक्षण, धर्म, पाप आदिसँग लगेर जोडिएको पाइन्छ । तर, स्मृति र उपनिषदमा यी कुराहरूलाई प्राकृतिक वा स्वतः हुने होम हुन् भनिएको छ । डँडेलो, आँधीबेरी, युद्ध, महामारी आदिलाई प्राकृतिक होम हुन् भनिएको छ । 

यसलाई अझ यसरी बुझौँ, जलीय तत्व तेजमा मिसिएन भने पुनः जलको उत्पादन नै हुँदैन । मानिसले यो काम गरोस् वा नगरोस् प्रकृतिले स्वतः यो काम गरिरहेको हुन्छ । वातावरण सन्तुलनका लागि मानिसले गर्ने यज्ञ प्रायः निर्मम हुँदैन, तर प्रकृतिले गर्ने यज्ञ अती निर्मम र दीर्घकालीन हुन्छ । जसरी मानिस नदेखिने कुरो भए पनि ‘हावा खान जान लागेको’ भन्ने गर्दछ । त्यसैगरी अग्निमार्फत प्रकृतिले पनि पानी खाने र पुनः पानी उत्पादन गर्ने गर्दछ । अचम्म लाग्दछ, शास्त्रमा सूर्य लगायत पूरै ब्रह्माण्डमा जलको मात्रा बढी हुन्छ तर त्यो कुन रूपमा छ थाहा पाउन सामान्य मानिसले सक्दैन भनिएको छ । 


सुख र दुःख

अचम्म हुन्छ मानवको स्वभाव । अरू अधीनमा बसेको रिस गर्दै आफू उसैका अधीनमा बस्न पुग्दछ । अरूले चाकडी गरेको देख्दा कुरा काट्दछ र मौका मिले आफैँ चाकडी बजाउन पुग्दछ । दुःख पाएकोमा व्यवस्थालाई दोष दिन्छ, तन्त्रलाई दोष दिन्छ, अमुक दल र अमुक नेतालाई दोष दिन्छ । त्यतिले नपुगे घरपरिवारका सदस्यलाई गएर दोष थोपर्दै गाली गर्दछ ।

ऊ एउटा तन्त्र, व्यवस्था, दल वा नेता वा धर्मबाट स्वतन्त्र हुन खोज्दछ तर जानी नजानी फेरी अर्को तन्त्र, व्यवस्था, दल वा नेता वा धर्मको अधिनस्थ हुन पुग्दछ । यसरी मानवले कहिल्यै सुख पाउन सम्भव हुँदैन किन कि मनु भन्दछन्, ‘अर्काको अधीनता दुःख हो र स्वतन्त्रता सुख हो । सुखदुःखको सार कुरो नै यही हो ।’

पहिला बाहिरी कुराको दासताबाट मुक्त हुन प्रयाश गर्नु होस् । त्यसपछि मनलाई नियन्त्रण गर्दै पुनः आफ्नै इन्द्रियको दास नहुन अभ्यास गर्नुहोस् । जतिजति तपाईंलाई सफलता मिल्दै जान्छ उति उति तपाईं सुखी हुँदै जानु हुनेछ । यिनै कुरा त छन् शास्त्रमा ।

उपकार

मानिस उपकार वा अपकारलाई गुन वा बैगुन भनी तौलने गर्दछन् र बेलाबेलामा ‘फलानो त कस्तो बैगुनी रहेछ वा गुनिलो रहेछ’ भन्ने गर्दछन् । सामान्यतः समस्यामा परेकालाई मद्दत गर्नु उपकार गर्नु र समस्या पर्दा मुण्टो बटार्नु वा मद्दत गर्नेलाई नै उल्टो समस्यामा पार्नुलाई अपकार भनिन्छ । 
समाजमा ‘हजुरले यति ठूलो गुन लाउनुभएको छ, यसको बदला कसरी र कहिले तिर्नु ?’ भन्ने गरेको सुनिन्छ । तर यो सोच नै गलत छ किन कि उपकारको बदला तिर्न चाहनु भनेको प्रकारान्तरले ऊ पनि संकटमा परोस् भन्ने चाहन गर्नु हो । यस सम्बन्धमा रामचन्द्रले हनुमानलाई भन्नुभएका कुरा उल्लेख गर्नु उपयुक्त हुन्छ, ‘हे हे हनुमान लंका जित्न र सीतालाई फर्काउन तिमीले ममाथि जुन उपकार गरेका छौ (गुन लाएका छौ, म चाहन्छु मैले यसको प्रत्युपकार गर्न नपरोस् । प्रत्युपकारको चाहना गर्नु भनेको मित्रलाई संकटग्रस्त भएको देख्न चाहनु हो । किनकि मद्दत संकट पर्दा नै गर्ने गरिन्छ ।’

केही धार्मिक जानकारी 

गर्ने पनि त्यस्तै, नजानेर सोद्धा बताइदिने पनि त्यस्तै, दुबैमा ढोंगीपन बढी छ । उफ्… छाडौँ यी कुरा, केही जानकारी लिइराख्नुहोस् । यी कुरा पाञ्चायन (गणेश, शिव, दुर्गा, विष्णु र सूर्यको घरमा नियमित पूजा गर्नेहरूका लागि बढी उपयोगी छन्) ।

सुन आदिका पातामा कुँदिएका यन्त्रमा, शालिग्राममा, मणिमा अथवा विधिपूर्वक स्थापना गरिएका प्रतिमामा मात्र आफ्ना इष्ट देवताको पूजा गर्नुपर्दछ । घरमा नित्य पूजा गर्न त्यही प्रतिमा नै कल्याणदायी हुन्छ, जुन् सुन आदि धातुले बनेको र कम्तीमा पनि बुढी औँलो जत्रो वा बढीमा एक बित्ताको होस् । बजारमा जे भेट्टायो वा जजसले जे जे भन्दछन् त्यसैको लहैलहैमा लागी कुनै देवदेवीको प्रतिमा किनेर ल्याई घरमा पूजा गर्न हुन्न, उल्टो असर गर्दछ ।

बांगोटिंगो, डढेको, टुटेफुटेको, निधार वा आँखा फुटेको वा छुन नहुनेले छोइदिएको प्रतिमाको पूजा गर्नु हुन्न । प्राणप्रतिष्ठा गरिएका भए पनि यस्तो अवस्थाका प्रतिमामा देवता आएर बस्दैनन् । (यहाँ छुन नहुनेका बारेमा स्पष्ट पार्न आवश्यक ठानेँ । अशुद्ध अवस्थामा सबैलाई अछूत भनिएको छ, यहाँ जातको कुरा छैन । बिरामीले नित्य ननुहाउनु रोग निको हुन्न, ननुहाउने हुनाले रोगीले रोग निको नहुँदासम्म भौतिकरूपमा देवदेवीको प्रतिमाको पूजा नगर्नु, मानसिक पूजा गर्नु भनिएको छ) दुर्गा, सूर्य र गणेशका लागि रातो, विष्णुका लागि पहेँलो र शिवका लागि सेतो वस्त्र चढाउनुपर्दछ । तेल आदि परेर दूषित भएको, फाटेको र पुराना वस्त्र त्याग्नुु । (पूजा गर्नेले लगाउन नि हुन्न, चढाउनु पनि हुन्न । यसो भनिरहँदा दियो, पानस आदिको तेल पुछेको कपडाले देवदेवीको प्रतिमालाई पुछ्नु हुन्न भनेर पनि बुझ्नुपर्दछ) ।

बाह्रमासे (‘जपा’को कुलचन्द्र शर्माले लेखेको अमरकोशमा दिइएको अर्थ), अक्षता, आँकको पूmल र धतुराको पूmल विष्णुलाई कहिल्यै नचढाउनु ।
क्यात्तुके, ठूलोकुरो, कुन्द, दोपहरिया, नागकेसर, बाह्रमासे र मालतीको पूmल शिवलाई नचढाउनु । बिमिरो र तगर (फल र फूल) सूर्यलाई कहिल्यै नचढाउनु । दूबो, आँक र पारिजात देवीको पूजामा तथा गणेशपूजामा तुलसीलाई त्याग्नु ।

सुकेका पात, पूmल र फलले कहिल्यै देवताको पूजा नगर्नु । अमला, खयर, बेल र तमालका पात छिन्नभिन्न भए पनि विद्वानहरू त्यसलाई दूषित भन्दैनन् । कमल र अमला तीन दिनसम्म शुद्ध हुन्छ । तुलसी र बेलपत्र सधैँ शुद्ध हुन्छ । पलाश र काँसका पूmलले तथा तमाल, तुलसी, अमला र दुबोका पातले कहिल्यै दुर्गाको पूजा नगर्नु ।

पूmल, फल र पात चढाउँदा मुख (भेट्नु) तलतिर पारेर वा घोप्टो पारेर कहिल्यै नचढाउनु । पत्र, पुष्प आदि जुनरूपमा उत्पन्न भएका हुन्छन् त्यही रूपमा चढाउनु, त्यसमा काँटछाँट आदि गरेर कृत्रिमता नमिसाउनु । दुई शंख, दुई चक्रशिला, दुई शिवलिंग, दुई गणेश, दुई सूर्य र दुर्गाका तीन प्रतिमालाई एउटै घरमा कहिल्यै पूजा नगर्नु । गरे अत्यन्त दुःख हुन्छ ।

जस्तो कर्म उस्तै फल 

‘जे सुकै गर त्यसको माध्यम शरीर हो, त्यसैले शरीरको रक्षा–धर्मको पहिले पालना गर’ । पूर्वीय दर्शनका प्रायः ग्रन्थमा यही सन्देश लेखिए । हामीले आफ्नो शरीरलाई होइन धनलाई माया गर्न सिक्यौँ । जसले आफ्नै शरीरको माया गर्न सिकेन उसले आफन्त, समाज, देश र पृथ्वीलाई माया गर्न सिक्छ र ?

जुन कुरो आफूले अरूलाई दिन जानिएन, त्यो आफन्त, समाज, देश र पृथ्वीबाट आश गरेर मात्र कहाँ पाइन्छ र ? जस्तो कर्म गरियो वा जस्तो बिउ वा बेर्ना रोपियो त्यसबाट त्यस्तै फल पाइँदो रहेछ । कर्म देखाउन गरिने विषय नै होइन, किनकि त्यसले अन्ततोगत्वा फल दिने भनेको घुमीफिरी आफैँलाई नै हो ।

म अल्छी भएँ, खञ्चुवा भएँ, दुव्र्यसनी भएँ, जँड्याहा भएँ, अम्मली–धम्मली वा ढुकम्मली भएँ, ठग भएँ, तस्कर भएँ, भ्रष्टाचारी भएँ, कालोबजारी गर्ने भएँ वा अरू एकपति वा एकपत्नीमा सन्तुष्ट नहुने भएँ भने तत्काललाई केही फाइदा देखिएको भ्रम हुन्छ तर अन्तमा नोक्सान आफ्नै हुन्छ, आफ्नै परिवारको हुन्छ । कसको मात्र उदाहरण दिउँ ? समाजको धर्म, अर्थ र राजनीतिक क्षेत्रका तथाकथित गण्यमान व्यक्तिहरूको उदाहरण दिउँ कि पौराणिक पात्रहरूको ?

माथिका दुर्गुण जोसँग हुन्छ ऊ किमार्थ स्वतन्त्र हुन सक्दैन । ऊ कसै न कसैको प्रयोग गर र फाल (युज एन्ड थ्रो) सिद्धान्तअनुसार परजीवि भइरहेको हुन्छ । 

मानव जीवन छिचिमिराको जस्तो एकछिनमा प्वाँख पलायो, एकैछिन उड्यो अनि परमधाम गयो जस्तो सजिलो हुँदैन । उसको जीवनकालमा अनगिन्ती आरोह र अवरोह अथवा सुख र दुःख आउँदछन् । तर दुर्भाग्य नै भन्नुपर्दछ यस्तो परिवर्तनलाई झेल्न नसक्ने मन, वचन र कर्म भएका मानिसहरूको संख्या दिनप्रतिदिन बढिरहेछ, कमिलाको जस्तो प्वाँख खुब पलाइरहेछ । एकछिन अघिसम्म श्रद्धाले सलाम ठोकिने व्यक्ति एकछिनपछि थुकिइरहेको हुन्छ । यस्तो क्रम बढिरहेको छ । ऊ आफू सलाम ठोकिँदा वा थुकिँदा पनि आफूलाई नियाल्दैन, दोष जति लगेर सलाम ठोक्ने र थुक्नेलाई थोपरिदिन्छ । अरू एटोमिक एज, कम्युनिकेसन क्षेत्रमा रिभोलुसनको एज, ग्लोबलाइजेसनको एज, डेभलभमेन्टको एज आदिजस्ता शब्दले वर्तमान युगलाई सम्बोधन गर्दछन् तर म यो एजलाई ब्वाइलर एज भन्न रुचाउँदछु । ब्वाइलरको आयु लामो हुन्न, त्यसैले मानिसले सुध्रनु नै पर्दछ, अर्को कुनै विकल्प छैन, छैन, छैन ।

शरीर सदैव दैवको अधिनमा हुन्छ । कार्यको सिद्धि सैन्यबल, मन्त्र वा मन्त्रणाबाट हुँदैन । न त रथ, हतियारबाट नै हुन्छ । सब दैव (इश्वरका पनि ईश्वर) को अधिनमा हुन्छ । त्यसैले संसारमा बलबानले दुःख पाइरहेको र निर्बल आनन्दसँग सुखपूर्वक बसिरहेको देखिन्छ । बुद्धिमान् हरेक कुराको अभावमा तडपिएर दिन बताइरहेको हुन्छ भने हरिलठ्ठक भोगविलासमा डुबुल्की लगाइरहेको हुन्छ । जो डरछेरुवा छ उसले जितिरहेको हुन्छ र शूरवीर भनाउँदो हारिरहेको हुन्छ । अयोग्य व्यक्ति मन्त्री र योग्य व्यक्ति उसको चाकर भइरहेको हुन्छ । त्यसैले जय पराजय वा सफलता असफलता सबै दैवको अधिनमा हुन्छ भनेर जान । दैवको कुनै दैवी आकार कल्पना गर्नेहरू मूर्ख हुन्, उसको आकार कसैले पनि बताउन सक्दैन, त्यसैले उसलाई आकार नभएको निराकार भनिन्छ । अतः हरहमेशा अल्छी र परिणामको चिन्ता नगरी एवं नडराई कर्ममा संलग्न होउ । सुख होस् वा दुःख दुबैमा कर्म गर्न नछोड । दुःखमा आफूभन्दा पनि बढी दुःख पाएकालाई हेर्ने गर, सुखमा आफूभन्दा पनि बढी सुख पाएकालाई हेर्ने गर । आफूले भित्रभित्रै पाइरहेको सुख वा दुःख शत्रुसमक्ष कहिल्यै व्यक्त नगर । धैर्य गर, सत्कर्म वा उद्योग गर्न नछोड, परिश्रमी बन, दुःख पछि अवश्य सुख आउँछ । अधैर्यतामा जुन दुःख देखिएको छ धैर्यतामा त्यस्तो दुःख देखिएको छैन । समयले घुमाइफेराई हरेक देव, दानव र मानवलाई दिने सुखदुःखमा जो धैर्यधारण गर्दछ, ऊ कहिल्यै दुःखी हुन्न ।

अन्त्यमा

जसरी इच्छा नहुँदा नहुँदै पनि कालपरिस्थिति उल्टो हुनाले गर्दा मानिसलाई मृत्यु, अपजस, बेइज्जती आदि आकस्मिकरूपमा आइ लाग्दछ त्यसरी नै कालपरिस्थिति अनुकूल हुँदा नचाहँदा नचाहँदै पनि आयु, धनसम्पत्ति, यश, ऐश्वर्य आदि उसलाई आकस्मिकरूपमा प्राप्त हुने गर्दछ । दिने र खोस्ने दुबै ईश्वर नै हुन् अनि म, हामी आदि जस्ता अन्य माध्यमका कुरा कुरा भ्रम हुन् । ईश्वरले केही दिँदा र खोस्दा मानिसले अहिले गर्नेगरेका र विगतमा गरेका कर्म नै माध्यम हुने गर्दछ, अरू कुरा होइन । 

यसैले जो मानिस प्राप्त हुँदा वा गुमाउँदा, उन्नति हुँदा वा अवन्नति हुँदा, सन्मान पाउँदा वा अपमानित हुँदा विचलित हुँदैन, उसैले सजिलै भगवान्को सान्निध्यता प्राप्त गर्दछ, त्यही नै सुखी पनि हुने गर्दछ । चित्तलाई आनन्दित बनाउने बाटो यही हो । चित्त आनन्दित नभई सच्चिदानन्द भगवान्लाई प्राप्त गर्न सकिन्न ।

प्रतिक्रिया