इलाम कारागारबाट भागेका थुनुवा पक्राउ

इलाम । इलाम कारागारबाट विहीबार दिउँसो भागेका थुनुवा शुक्रबार साँझ पक्राउ परेका छन् । कारागारको सुरक्षा पर्खाल पार गरी भागेका झापा मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई साँझ ५ बजे पुनः पक्राउ परेका हुन् ।

प्रहरीले खोजतलास गर्ने क्रममा इलाम नगरपालिका १० स्थित माईखोला पारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक दिलीप घिमिरेले जानकारी दिए ।

प्रहरीले खोज्दै लखेट्दै लैजाने क्रममा लुक्दै भाग्दै गरेका राईलाई पक्राउ गरेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए ।

राईलाई थप अनुसन्धान गरिने प्रहरी उपरिक्षक घिमिरेले बताए । राईलाई अब डेढी थप सजाय हुनेछ । कारागार ऐन अनुसार थप डेढी सजाय हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।

राई विहीबार दिउँसो ३ बजेतिर सरक्षा पर्खाल पार गरी भागेका थिए । साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि भागेको खुलेको थियो ।

गणनाका क्रममा राई फेला नपरेपछि साँझ पौने ७ बजेदेखि नै प्रहरीले खोजतलास सुरु गरेको थियो । डाँका मुद्धाका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा पुर्पक्षमा थुनाका लागि कारागार चलान भएका थिए ।

इलाम कारागारमा एक महिनाअघि मात्र कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बनेको छ । देशकै नमुना सुधार गृहमा एकपछि अर्को यस्तो घटना दोहोरिनुले कर्मचारी र सुरक्षा निकायको मिलेमतोको धेरैले आशंका गर्न थालेका छन् ।

मादकपदार्थ सेवन गरी तास खेलेको भिडियो सार्वजनिक भएपछि बनेको छानबिन समितिले औपचारिकता मात्र पूरा गरेको देखियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीकुमार थापाको संयोजकत्वमा बनेको छानबिन समितिले तास खेलेको र मदिरा पिएको भिडियो ११ महिना अघिको भएको दावी गरेपनि मदिरा र तास कारागारभित्र कसरी प्रवेश भयो भन्ने खुलाउन सकेन ।

११ महिना अघिको भिडियो भएको दावी गरेपनि त्यो बेलाका कर्मचारी र सुरक्षाकर्मीहरुको बारेमा सुक्ष्म अध्ययन नगरी प्रतिवेदन तयार गरेको पाइएको थियो । त्यो प्रतिवेदनले त्यतिबेलाका कर्मचारी र सुरक्षाकर्मीको सेटिङलाई बचाउ गरेको देखाएको थियो । एक सय २५ जनाको क्षमता रहेको इलाम कारागारमा दुई सय बढी कैदी र थुनुवा रहेका छन् ।

प्रतिक्रिया