कांग्रेस, एमाले र माओवादीका साझा उम्मेदवारलाई हराउँदै एकीकृत समाजवादीका आचार्य विजयी

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघकाे अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार राजनप्रसाद आचार्य विजयी भएका छन् । कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारलाई भारी मतले पराजित गर्दै आचार्य विजयी भएका हुन् । गठबन्धनका साझा उम्मेदवारलाई कांग्रेसका समुन्द्रप्रसाद जोशीलाई एक सय ९६ मतले पछि पार्दै आचार्य अध्यक्षमा विजयी भए ।

नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सचिवसमेत रहेका आचार्यले तीन सय ३४ मत प्राप्त गरेर विजयी हुँदा जोशीले एक सय ३८ मत मात्र प्राप्त गरे । कुल ६ सय ७१ मतदाता रहेको उद्योग वाणिज्य संघको बिहीबार भएको निर्वाचनमा चार सय ८० मत खसेको जनाइएको छ ।

महासचिवमा स्वतन्त्र उम्मेदवार भनिएका कांग्रेसका अजय बस्नेत भारी मतान्तरले विजयी भएका छन् । महासचिवमा विजयी बस्नेतले तीन सय ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सुमन श्रेष्ठले एक सय २३ मतमात्र प्राप्त गरेका छन् । महासचिव पदका लागि खसेको चार सय ८० मतमध्ये १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया