लिङ्देनको केटाकेटी प्रश्न

प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न गरे, ‘के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?’ मंगलबार मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई राजावादीभन्दै पीडितहरूले लखेटेका थिए । यही कुरालाई राप्रपाका अध्यक्ष लिङ्देनले संसद्मा उठाएका हुन् । झट्ट सुन्दा लिङ्देनको यो प्रश्न सामान्य लाग्छ । किनकी यतिबेला मुलुकमा लोकतन्त्र शब्द समेत जोडिएको गणतन्त्र छ ।

लोकतन्त्र भन्ने बित्तिकै विचार तथा अभिव्यक्ति स्वतन्त्रता भएको शासन व्यवस्था हो । जुन शासन व्यवस्थामा विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यो शासन व्यवस्था भएको देशका नागरिकहरू राजावादी बन्न र राजावाद स्थापनाका लागि गतिविधि गर्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्न संसद्मा मात्रै होइन कहीँ पनि उठ्नुपर्ने नै होइन । मुलुकमा राजतन्त्र भएको बेला गणतन्त्रवादी हुने छुट नागरिकलाई थिएन । मृत्युदण्डसम्मको सजाय हुन्थ्यो । विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित थियो । यदि मुलुकमा राजतन्त्र भएको भए मिटर व्याज पीडितहरू टाढा–टाढादेखि राजधानीमा आएर सरकारविरुद्ध आन्दोलन गर्न सक्ने कुनै गुन्जायस नै थिएन । त्यसैले राजतन्त्र पुनर्वहालीको एजेन्डा बोकेका राप्रपाका नेता शाहीलाई आफ्नो आन्दोलनमा ऐक्यवद्धता जनाउन पीडितहरूले निषेध गरेका हुन् । यो प्रकरणमा राप्रपाले चित्त दुखाउनु जरुरी छैन ।

राप्रपाका नेता लिङ्देनले उठाएको यो प्रश्नले अर्को प्रतिप्रश्न पनि उठाएको छ । त्यो प्रश्न हो, ‘राजावाद भनेको राजनीतिक दर्शन हो कि होइन ? यदि राजनीतिक दर्शन हो भने यो दर्शनका विशेषताहरू के कस्ता हुन्छन् ? कम्तिमा पनि राप्रपाले जनसमक्ष यी प्रश्नहरूको उत्तर दिनु जरुरी छ । वाद भनेको विचार तथा सिद्धान्तसँग सम्बन्धित शब्द हो । जसलाई सामान्यतया प्रत्ययका रूपमा प्रयोग गरिन्छ । जब कुनै शब्दमाथि वाद प्रत्यय जोडिन्छ, तब त्यो शब्दले अर्को अर्थ दिन्छ । उदाहरणका लागि समाज भनेको निश्चित अर्थ बुझाउने एउटा शब्द हो ।

जब त्यो शब्दमा वाद प्रत्यय लागेर समाजवाद बन्छ, तब त्यसले दिने अर्थ फरक हुन्छ । यसैगरी लेनिन भनेको एउटा नामवाचक शब्द हो । जब त्यसमा वाद प्रत्यय लागेर लेनिनवाद बन्छ र त्यसले बिलकुल फरक अर्थ दिन्छ । राजा भनेको पनि एउटा यस्तै शब्द हो । निश्चित बंशमा जन्मेका आधारमा सत्ता प्राप्त गर्ने व्यक्तिलाई राजा भनिन्छ । अब राजा शब्दमा वाद प्रत्यय लागेपछि त्यसले दिने अर्थ त्यही हो कि फरक हो त ? अर्थात राजा शब्द र राजावाद शब्दमा के अन्तर छ ? राजावाद भनेको राजाबाहेक देशको शासन प्रणालीमा अरूको कुनै अस्तित्व हुँदैन भन्नु हो । त्यसैले जनताले खेदे भन्दैमा लिङ्देनले चित्त दुखाउनु जरुरी छैन । वर्तमान सत्ताधारीहरूले सुशासन दिन नसकेकै कारण जनताले लिङ्देन तप्काका कुरा सुनेका हुन् । यदि जनप्रतिनिधिहरूले सुशासन दिन सकेको भए राजावादीहरू नाम निसान नरहने गरी खेदिन्थे ।

वाद शब्दको छुट्टै अर्थ भनेको निषेध पनि हो । अर्थात आफूभित्र अरू विचार तथा सिद्धान्तको निषेध हो । उदाहरणका लागि गान्धीवादले लेनिनवादलाई निषेध गर्छ । लेनिनवादले गान्धीवादलाई निषेध गर्छ । समाजवादले पुँजीवादलाई निषेध गर्छ । पुँजीवादले समाजवादलाई निषेध गर्छ । त्यसैगरी लोकतन्त्रवादले बंश परम्पराको शासकलाई निषेध गर्छ ।

राजासमेत अटाएका लोकतन्त्रहरू विश्वका धेरै देशमा नभएका होइनन् । नेपालमा पनि ०४६ सालपछिको सानो कालखण्डको लोकतन्त्रमा राजा अटाएका थिए । तर राजा शब्दमा वाद जोडिदिने हो भने लोकतन्त्रमा कसरी अटाउँछ ? लोकतन्त्रवाद र राजावाद भनेका एकअर्कालाई निषेध गर्ने विचारधारा हुन् । आगो र पानी एकै ठाउँमा कसरी अटाउँछ ?

प्रतिक्रिया