कालिकोट । पछिल्लो समय कालिकोटमा बालविवाह घट्नेक्रममा छ । रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा दुई वर्षयता १५ बालविवाह रोकिएका छन् । कालिकोटका ९ वटा स्थानीय तहमा विभिन्न संघ–संस्थाले परम्परागत हानिकारक अभ्यास न्युनिकरणका लागि काम गरिरहेका छन् ।
विशेष गरी समाजमा जरा गाडेर रहेको बालविवाह न्यूनिकरणमै अधिकांश संघ–संस्थाहरुले काम गरिरहेका छन् । रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा समाजमा रहेका हानिकारक अभ्यास न्यूनिकरणका लागि प्लान ईन्टरनेशनल नेपालले काम गरिरहेको छ ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले सहजिकरण गरिरहेको तीनवटा स्थानीय तहमा दुई वर्षयता १५ बालविवाह न्यूनिकरण भएको नेतृत्व र निर्णय कार्यक्रमका अधिकृत डम्बर बोहोराले जानकारी दिए ।
बोहोराका अनुसार जिल्लाभर २०७६ मा बालविवाह दर ६७ प्रतिशत, २०७७ मा ६६ प्रतिशत र २०७८ मा ५० प्रतिशतले बालविवाह दर घट्दो क्रममा छ । बालविवाह न्यूनिकरणका लागि जिल्लास्थीत सञ्चार माध्यम तथा पत्रपत्रिकामा कार्यरत पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा बालविवाहको तथ्यांक सार्वजनिक गरिएको हो ।
समाजमा हुने बालविवाह, छिटो तथा जबरजस्ती विवाह न्यूनिकरणमा पत्रकारहरुको भूमिकाको विषयमा बृहत् छलफल गरिएको थियो । विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकाहरुसँगको छलफलमा बालविवाहको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशासम्बन्धी जानकारी गराइएको छ ।
बालविवाहसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी प्रावधान र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह तथा नागरिक समाजको भूमिकाकाबारे बुझाईमा एकरुपता ल्याउने र कालिकोट जिल्लालाई बालविवाह निषेधित जिल्ला बनाउनका लागि आगामी रणनीति तय गर्दै अगाडि बड्नुपर्ने पत्रकारहरुको धारणा रहेको छ ।
साथै, पत्रकारहरुले बालबालिकाहरूमा लगानी तथा बालविवाह न्यूनिकरणका विषयमा प्रतिबद्धतासहित संघ–संस्था र स्थानीय तह, नागरिक समाज लाग्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
कार्यक्रममा सामाजिक सुपर भाईजर दिपेन्द्रबहादुर शाही, गिरेन्द्रबहादुर शाहीलगायत जिल्लास्थीत सञ्चार माध्यम तथा पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया