बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

मस्कों । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका छन् । युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकसँगको तनावपूर्ण सम्बन्ध र रुसी विश्लेषकले सम्भावित आणविक हमलाको सन्दर्भ निकालिरहेका बेला पुटिनले शनिबार यस्तो घोषणा गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाले दशकौँदेखि आफ्नो युरोपेली सहयोगी मुलुकमा आणविक हतियार राखेको बताउँदै पुटिनले बेलारुससँगको सम्झौताले आणविक सम्झौताको उल्लंघन समेत नगर्ने बताएका छन् ।

पुटिनले भनेका छन्, “हाम्रा दायित्वलाई उल्लंघन नगरी हामी यसका लागि सहमत भएका छौँ । आणविक हतियारको अन्तर्राष्ट्रिय दायित्व उल्लंघन नगर्नेमा म जोड दिन्छु ।”

राज्यद्वारा सञ्चालित टेलिभिजनसँग बोल्दै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नेटो सदस्य पोल्यान्डसँग सीमा जोडिएको आफ्नो देशमा आणविक हतियार राख्ने मु्द्दा लामो समयदेखि उठाउँदै आएको बताए ।

रुसले मिन्स्क (बेलारुसको राजधानी)लाई वास्तवममै हतियार हस्तान्तरण नगरेको स्पष्ट पारेको छ । आउँदो जुलाई १ सम्म बेलारुसमा आणविक हतियार राख्नका लागि आवश्यक सुविधाको निर्माण गरिसक्ने रुसले जनाएको छ ।

रुसले यसअघि नै आणविक हतियार बोक्न सक्ने १० लडाकु विमान र आणविक हतियार प्रक्षेपण गर्न सक्ने क्षमताको मिसाइल प्रणाली बेलारुसलाई उपलब्ध गराइसकेको पुटिनले बताए ।

विश्वको अर्काे ‘सुपरपावर’ अमेरिकाले पुटिनको यो घोषणापछि ‘सावधानीपूर्ण’ तरिकाले प्रतिक्रिया दिएको छ ।

पुटिनको घोषणापछि एक अमेरिकी अधिकारीले रुसले आणविक हतियार प्रयोग गर्ने कुनै संकेत नभएको र आफूहरूले समेत आणविक हतियारको स्थितिलाई सक्रिय पार्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

प्रतिक्रिया