दुई दिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार उद्घाटन गरे । परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको सम्मेलन कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेको छ ।

कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको छ । सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुनेछ ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल भईरहेको छ । विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएकी म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ । सम्मेलदनमा उद्यमशीलता प्रबद्र्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिएको छ । सम्मेलन समापनका दिन सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया